खिमबहादुर खड्का
प्रमुख प्रशासकीय अधिकृत
कालिमाटी गाउँपालिका, सल्यान ।
जसले सानैदेखि आफ्नो पढाईमा मिहिनेत गर्छ, उ ज्ञानी र असल मात्र होइन, समाजको सफल व्यक्ति पनि बन्छ । आफ्नो लक्ष्य लिएर अघि बढ्ने मानिसले सफलता अवश्य पनि भेट्टाउँछ । यस्तैमध्येका एक हुन सल्यानको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्का ।
सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि पढाईमा मिहिनेत गरे । जहिलेपनि पढाईमा उत्कृष्ट भए । त्यसपछि लोकसेवाको तयारीमा लागे । खरिदार हुँदै अहिले प्रमुख प्रशासकीय अधिकृतसम्म बन्न सफल भए । आजको राष्ट्रसेवकमा उनै खड्कासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः
सामान्य बाल्यकाल
बुवा दलबहादुर खड्का र आमा झम्पाकुमारी खड्काको कोखबाट २०२७ साल साउन १९ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ को माथिगाउँमा खिमबहादुर खड्काको जन्म भयो । उनी घरको जेठो छोरा हुन । उनका तीन भाई ४ दिदीबहिनी रहेका छन । खड्काको बाल्यकाल गाउँमै बित्यो । कृषिमा निर्भर खड्काको परिवारलाई कृषि उत्पादनले बाह्रै महिना खाना पुग्दैन्थ्यो । उनको बुवा भारतका विभिन्न ठाउँमा गएर ज्याला मजदुरी गरेर घरखर्च जुटाउने र छोरोछोरीको पढाई खर्च धन्ने गर्थे ।
खड्काले भम्के प्रावि रुकुममा कक्षा ३ सम्म पढे । ७ कक्षासम्म पढ्नका लागि भने जनप्रिय निमावि पेउघा धाउनपर्यो । उनको ठूलो बुवा दाङमा बस्थे । ठूलो बुवाकै घरमा बसेर ८ कक्षा भने दाङमा पढेका हुन । ९ कक्षादेखि रुकुमकै साधरण मावि मुरुडाँडामा पढे । त्यहि माविबाट २०४३ सालमा उनले एसएसलसी पास गरे । सानैदेखि उनले आफ्नो पहिलो प्राथमिकता पढाईमा दिन्थे । सबैसँग मिलनसार स्वभावका खड्काले घरमा साँझ बिहान घाँस दाउँरा काट्नेदेखि खनजोतसम्मको काम गरेर विद्यालय शिक्षा हासिल गरेका हुन ।
दियालो बालेर पढाई
खड्काले कृषि सम्बन्धी सबै काम गरेपनि पहिलो प्राथमिकता भने पढाइलाई दिन्थे । उनी अबेर रातीसम्मै र बिहानपनि सबेरै उठेर अध्ययन गर्ने गर्थे । उतिबेला अहिलेको जस्तो विद्युत अनि वैकल्पिक उर्जाको श्रोतहरु केहि थिएन । अनि उनले दियालो बालेर पढ्ने गर्थे ।
उनी भन्छन, ‘अहिलेको जस्तो सजिलो जमाना हाम्रो पालामा कहाँ थियो र ? पढ्नलाई पनि वनमा गएर दियालो लिएर आउनुपथ्र्यो अनि त्यहि दियालो बालेर पढ्नुपथ्र्यो, अहिले त पढाई गर्ने विद्यार्थीहरुलाई धेरै सजिलो छ ।’ मध्यरातीसम्म पढ्ने उनले बिहानै उठेर एक घण्टा पढ्थे । अनि वनमा गएर घाँस लिएर विद्यालय जान्थे ।
सधै प्रथम
धेरै मिहिनेति स्वभावका खड्का जहिलेपनि कक्षामा प्रथम हुन्थे । एक कक्षादेखि १० कक्षासम्म नै उनी प्रथम नै भएर पास भए । विद्यालयभरिमा राम्रो नतिजा ल्याउने विद्यार्थी थिए, खिम । उनको पढाईमा दख्खलता देखेर उनका गुरु, घरपरिवारले अझै हौसला दिन्थे । उनलाई पढाई गर्न अझै उर्जा थपिन्थ्यो । विद्यालय तहसम्मको पढाई गर्दादेखि नै उनी सिर्जनशिल पनि थिए ।
पहिला शिक्षक, पछि निजामित
एसएलसी पास गरेपछि उनले केही समय शिक्षण पेशापनि गरे । उतिबेला एसएलसी पास गरेका मानिसहरु औँलामा गन्ने मात्रै हुन्थे । अनि जुनसुकै विद्यालयमा पनि सजिलै शिक्षक नियुक्ति दिइन्थ्यो । अनि घरमा पनि अब शिक्षक बन्नुपर्छ भनेर खिमलाई भन्ने गरिन्थ्यो ।
उतिबेला पढेका मानिसहरु शिक्षक नै बन्नुपर्छ भन्ने सोच थियो । अनि उनले गाउँकै एउटा विद्यालयमा शिक्षकमा नियुक्त भएर पढाउन थाले । उनको लक्ष्य भनेको निजामती सेवामा लाग्ने थियो । ६ महिनासम्म शिक्षक भएर काम गरेका खड्काले अब आफ्नो लक्ष्य पूरा गर्न लाग्नुपर्छ भनेर पढाउन छोडे ।
पढाईसँगै लोकसेवा तयारी
उनले एसएलसी पास भएको ६ महिनापछि आफ्नो पढाईलाई निरन्तरता दिन भन्दै रुकुम सदरमुकाममा गए । त्यहाँ रहेको बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषय लिएर आई.एमा भर्ना भए । अनि उनले आफ्नो क्याम्पसको पढाईसँगै लोकसेवाको तयारी पनिसँगै गरे ।
बिहान क्याम्पस जाने अनि दिनभर लोकसेवा आयोग अन्तरगत खरिदारको तयारी गरेर पढे । सदरमुकाम खलंगामा भाडामा बसेर पढेका उनले घरको आटो पिठो लिएर पढेका हुन । क्याम्पसको पढाई र लोकसेवाको तयारी सँगै गरेका उनले २०४६ सालमा आइए पास गरे ।
निजामती सेवामा प्रवेश
लोकसेवा आयोगले दाङबाट खरिदारमा खुल्ला पदमा दरखास्त आव्हान गरेको थियो । उनले आफ्नो तयारी अनुसारको त्यहि दिए । पहिलो पटक दिएको परीक्षाबाट नै उनले २०४७ साल असार ६ गते खरिदार पदमा नाम निकाल्न सफल भए । उनले त्यहि र्ष नै लेखातर्फपनि परीक्षा दिएका थिए त्यसमापनि नाम निकालेका खड्काले प्रशासनतर्फको खरिदार पद रोजेर निजामति सेवामा प्रवेश गरे ।
अनि तत्कालिन मूल खोला गाउँ विकास समितिमा पोष्टिङ भएका खड्काले त्यहाँ ४ वर्ष काम गरे । उनले रुकुमकै विभिन्न गाविसमा सचिव भएर करिब १५ वर्र्ष काम गरे । त्यसपछि २०६३ सालमा नायव सुब्बामा बढुवा भए । नायव सुब्बामा बढुवा भएका उनले साविकको नमूना गाविस बाँफिकोटमा केहि वर्र्ष काम गरे ।
त्यसपछि जिल्ला शिक्षा कार्यालयमा ४ वर्र्ष काम गरेपछि २०७७ सालमा अधिकृतमा बढुवा भएर मालपोत कार्यालय लमही दाङमा गए । अनि छत्रेश्वरी गाउँपालिका सल्यानको प्रमुख प्रशासकीय अधिकृत हुँदै मालपोत कार्यालय तुलसीपुरको हाकिम भए । दाङकै दङ्गीसरण गाउँपालिकको प्रमुख प्रशासकीय अधिकृत भएका खड्का अहिले सल्यानको कालिमाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतकको रुपमा काम गरिरहेका छन ।
जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका खड्काले पढाईलाई पहिलो प्रथामिकता दिन्थे । घरको काम पनि गर्नुपर्ने पढाई पनि पूरा गर्नुपर्ने थियो । रातीसम्म पढ्ने उनी बिहानै झिस्मिसेमा उठेर पढथे । उतिबेला अहिलेको जस्तो विद्युतको व्यवस्था थिएन । दियालो खोजेर बालेर पढ्थे । घरको आर्थिक अवस्था सामान्य थियो । घरको जेठो छोरा भएकै कारण बुवापछिको घरको जिम्मेवारी उनको काँधमा थियो । भाइबहिनी पढाउनुपर्नेदेखि आफ्नो पढाई पूरा गर्नुपर्ने चुनौति खड्काको काँधमा थियो ।
तथापी ती सबै चुनौतिलाई पार लगाउँदै उनी सरकारी सेवामा प्रवेश गरे । अहिले स्थानीय तहको प्रशासनतर्फको प्रमुख भएर सेवा गरिरहेका छन । जीवन भनेको संघर्ष नै हो, उनी भन्छनः मिहिनेत गरे अवश्य नै सफलता प्राप्त हुन्छ । सरकारी सेवामा कार्यरत खड्काले आफ्ना छोराछोरीको उज्यालो भविष्य बनाउने र आपूmले समाज सेवा गर्ने भावी योजना बनाएका छन् ।
युग संवाददाता । । २४ श्रावण २०७९, मंगलवार १८:१४