उदयराज उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत, महाबु गाउँपालिका, दैलेख ।
जसले सानैदेखि आफ्नो लक्ष्य लिएर अगाडि बढ्छ, त्यहि मानिस सफल हुन्छ । त्यसको लागि पढाईमा मेहेनत गर्नुपर्ने हुन्छ । हरेक क्षेत्रको ज्ञान आवश्यक पर्छ, आफ्नो लक्ष्य लिएर अगाडि बढ्ने मानिसले सफलता अवश्यपनि भेट्टाउँछ । यस्तैमध्येका एक हुन दैलेखको महाबु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय ।
उनले सानैदेखि पढाईमा मेहेनत गरे । अनि पढाईमा अब्बलता हासिल हुँदै गयो । त्यसपछि लोकसेवाको तयारीमा लागे । खरिदार हुँदै अहिले प्रमुख प्रशासकीय अधिकृतसम्म बन्न सफल भए । आजको राष्ट्रसेवकमा उनै उपाध्यायसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः
उतारचढावपूर्ण बाल्यकाल
बुवा तुलसीप्रसाद उपाध्याय र कुन्तिकुमारी उपाध्यायको कोखबाट वि.सं. २०५२ साल बैशाख १८ गते हालको दुल्लु नगरपालिका वडा नं. ४ दैलेखमा उदयराज उपाध्यायको जन्म भयो । उनी घरको जेठो छोरा । उनका तीनभाई छन ।
उपाध्यायको दैलेखको साविक नेपा गाविस सानगाउँमा बाल्यकाल बित्यो । उनको बुवा सरकारी सेवामा कार्यरत रहेका छन् । बुवा सरकारी जागिरे भएकाले उनले बाल्यकालमा आर्थिक अभाव भने भएन । तर बुवा सरकारी जागिरे भएकै कारण तत्कालिन सशस्त्र द्वन्द्वका कारण उनको परिवारले धेरै दुःख भोग्नुपर्यो । बुवा तत्कालिन गाविस सचिव भएको बेला सशस्त्र द्वन्द्वका कारण थातवास छाडेर विस्तापित हुनुपर्दा परिवारले धेरै चुनौतीको सामना गर्नुपरेको थियो ।
३ कक्षाबाट एकैपटक ६ मा
सानो कक्षा गाउँमै पढेका उनले गाउँकै कृष्णकोट माविमा ३ कक्षासम्म पढे । उनीहरु विस्थापित भएर दैलेख सदरमुकाम पुगे । त्यहाँ हुँदा उनले निजी विद्यालयमा पढेका थिए । अनि एक वर्षपछि गाउँमै फर्किए । उनले ४ र ५ कक्षा नपढी ६ कक्षामा नाम लेखाए । ६ कक्षामा उत्कृष्ट बनेका उपाध्याले ७ कक्षादेखि भने विजय मावि दुल्लुमा पढे । त्यहि माविबाट २०६५ सालमा एसएलसी पास गरे ।
पढाईमा मेहेनति
उपाध्यायले सानैदेखि पढाईमा धेरै मेहेनत गर्थे । उनको बुवा सरकारी सेवामा भएको हुँदा उनलाई पढ्न धेरै प्रेरणा दिन्थे । उनकी आमाले पनि पढाईलाई पहिलो प्राथमिकता दिन सुझाउँथिन । अनि उपाध्यायले राती ११ बजेसम्म पढ्ने गर्थे भने बिहान ५ बजे उठेर पढ्ने गर्थे । घरव्यवहारका सानातिना काममा आमालाई पनि सघाउने गर्थे उपाध्यायले । उनी एसएलसीसम्म विद्यालयमा उत्कृष्ट नै रहे । कहिले पनि फेल भएनन ।
इञ्जिनियर बन्ने धोको
एसएलसी पास गरेपछि उपाध्याय इञ्जिनियर बन्ने लक्ष्यका साथ पढ्न काठमाडौं गए । इञ्जिनियर बन्ने भनेर गएका उनले परिक्षा दिए, तर नाम निकाल्न नसकेपछि उनले प्लस टु साइन्स पढ्ने सोच बनाए । काठमाडौंकै केन्भास इन्टरनेस्नल कलेजमा साइन्स लिएर पढ्न शुरु गरे । २०६८ सालमा उनी प्लस टु पास भए । अनि विएस्सी पढ्न शुरु गरे । काठमाडौंकै त्रिचन्त्र बहुमुखि क्याम्पसमा पढेका उनले २०७१ सालमा विएस्सी पास भए ।
अनि लोकसेवाको तयारीमा लागे
उनका साथीहरुले लोकसेवाको तयारीमा लागेका थिए । साथीहरुसँगै उनले पनि लोकसेवाको तयारी गर्ने योजना बनाए । त्यहि योजना अनुसारले उनले खरिदार र सुब्बाको एकैपटक तयारी गरे । उनले लोकसेवाको तयारी गर्दा सम्पूर्ण ध्यान त्यसैमा दिन्थे । बी.एस.सीपछि उनले लोक सेवाको तयारी गरे । शुरुमा सुब्बाको तयारी गरेका उनले २०७२ मा उनले खरिदारको परीक्षा दिए ।
निजामती सेवामा प्रवेश
शुरुमा उनले २०७३ सालमा स्थानीय तहको खरिदारमा नाम निकाल्न सफल भए । अनि काठमाडौं महानगरपालिकामा एक वर्ष काम गरेका उनले २०७४ सालमा नायव सुब्बामा नाम निकालेर जिल्ला निर्वाचन कार्यालय धनुषामा पोष्टिङ भए । त्यहाँ उनले ९ महिना काम गरेका उनी सरुवा भएर जिल्ला हुलाक कार्यालय ललितपुरमा आए ।
त्यस कार्यालयमा दुई वर्ष काम गरेका उनले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग काठमाडौंमा काम गरे । अनि २०७८ सालमा अधिकृतमा नाम निकालेका उनी कारागार कार्यालय दैलेखमा चार महिना काम गरे । अहिले महाबु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन ।
जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका खड्काले पढाईलाई पहिलो प्रथामिकता दिन्थे । घरको काम पनि गर्नुपर्ने पढाई पनि पूरा गर्नुपर्ने थियो । रातीसम्म पढ्ने उनी बिहानै झिस्मिसेमा उठेर पढथे । अन्य अभाव झेल्नु नपरेपनि उनले सानैदेखि उतारचढाव भोग्नुपर्यो । घरको जेठो छोरा भएकै कारण बुवापछिको घरको जिम्मेवारी उनको काँधमा थियो ।
तथापि ती सबै चुनौतीलाई पार लगाउँदै उनी सरकारी सेवामा प्रवेश गरे । अहिले स्थानीय तहको प्रशासन तर्फको प्रमुख भएर सेवा गरिरहेका छन । जीवन भनेको संघर्ष नै हो, उनी भन्छनः मेहेनत गरे अवश्य नै सफलता प्राप्त हुन्छ । निजामती सेवामा रहेका उपाध्यायको मुख्य सचिव बन्ने आगामी लक्ष्य छ ।
युग संवाददाता । । ३१ श्रावण २०७९, मंगलवार १५:०३