सिर्जना बुढाथोकी
सुर्खेत,१७ पौष ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको घण्टाघर माथिबाट पूरै वीरेन्द्रनगर उपत्यकाको मनोरम् दृश्य देख्न सकिन्छ । घण्टाघर परिसरमा पार्क र विभिन्न कार्यक्रमको लागि हल तथा विभिन्न जातीका चराहरु समेत व्यवसायिक उद्देश्यले निर्माण गरिएका छन् ।
दुर्लभ जातको चरा अष्ट्रिजसमेत पर्यटकलाई आकर्षण गर्न राखिएको छ भने त्यो बाहेक बालबालिकाको लागि राम्रो खेल मैदानसमेत घण्टाघर पार्कमा छ । तर घण्टाघरको खास विशेषता र पहिचानका रूपमा रहेको घण्टा घण्टाको सूचना र जानकारी दिने घडी भने चारै वटा बिग्रिएको अवस्थामा छन् ।
घण्टाघर निर्माण पश्चात त्यहाँ रहेका घडीले कति बज्यो भनेर जनाउ घण्टी बजाउँथ्यो तर १२ वर्ष भयो घडी आफै निदाएका छन् । वीरेन्द्रनगर–६ का ९० वर्षीय भद्रबहादुर थापाले घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको अनुभूति आपूmले गरेको बताउँछन् । ‘हामी घण्टाघरको बाटो भएरै काममा जान्थिम्, अहिले नामको घण्टाघर भएको छ, घडीको सुई नै सर्दैन,’ उनले भने, ‘घडीको जनाउ घण्टीले कति बज्यो भनेर आन्दाज त हुन्थ्यो ।’
उनले अहिले मोबाइलको जमाना भए पनि घडीको महत्व छुट्टै भएको बताए । मानिसलाई समयको जानकारी र सूचनाको महत्व त्यतिबेला बढि थियो जतिबेला धेरैका हातमा घडी र हात हातमा मोबाइल थिएनन् । नाडीमा घडी नहुनेले घडी बाँधेको मान्छे खोजी खोजी समय सोध्नपर्ने या आकाशमा चढेको घामलाई हेरेर यति बज्यो होला भनेर अनुमान गर्नुपर्ने अवस्था थियो ।
‘पहिला घडीको घण्टीले समयको अड्कल दिन्थ्यो, अहिले दिन र रात भन्ने मात्र आँकलन गर्न सकिन्छ,’ उनले भने, ‘घण्टाघरको घडीको ध्वनिले कुनै बेला बेग्लै आनन्द दिन्थ्यो ।’ वीरेन्द्रनगर–९ का ६५ वर्षिय सिन्धुराज श्रेष्ठले सुर्खेतको पहिचानमध्येको एक घण्टाघर पनि भएको तर मर्मतसम्भार समेत हुन नसक्दा जीर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै घण्टाघरको अवस्था फेरिने दिन आएको महशुस भएको बताउँछन् ।
‘घण्टाघरमा नयाँ घडी जडानको लागि प्राविधिक सहितत्यहाँको अवस्था बारे अवलोकन भयो भन्ने केहि दिन अघि सुनियो’, उनले भने, ‘अब छिट्टै पहिले जस्तै घण्टाघरको घडीले कति बजाएको जनाउ घण्टी सुन्न मन छ ।’ बुटवलबाट सुर्खेत घुम्न आएका टेकबहादुर रिजालले कर्णाली प्रदेशको पहिचानका रूपमा रहेका पर्यटकीय स्थानहरु नामको मात्रै रहेछ भन्ने महशुस भएको प्रतिक्रिया दिए ।
‘सुर्खेत भन्ने बित्तिकै काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघरनै पर्यटकीय गन्तव्यका स्थान भन्ने बुझिन्छ,’ उनले भने, ‘तर यहाँ आउदा न पार्क व्यवस्थित छ, न बुलबुले तालनै सफा छ, न घण्टाघरको घडी नै चल्छ ।’ २०४५ मा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडीको सुई १२ वर्षदेखि रोकिएको छ । घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भएपनि हालसम्म मर्मत सम्भार हुन नसकेको २०६८ सालदेखि घण्टाघर पार्क भाडामा लिएका चिन्तामणि शर्माले बताए ।
पार्कको जग्गा भाडामा लिएर व्यवसायिक गतिविधि गर्दै आएका उनले आफ्नो पहलमा पर्यटन मन्त्रालयलबाट ४० लाख रुपैयाँ विनियोजन भएपनि काम हुन नसकेको दाबी गरे । ‘सुरुमा नगरपालिकाले काम गर्ने भन्ने थियो, पछि उपभोक्ता समितिलाई जिम्मा दिइयो, २ पटक आएको बजेट नै फ्रिज भयो,’ उनले भने, ‘ढिलो गरी अख्तियारी आउँदा कामै हुन सकेन ।’
उनका अनुसार २०६७ सालमा परेको चट्याङले घण्टाघरको घडीलगायतको संरचनामा क्षति पु¥याएको छ । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा घण्टाघरको पार्क र घडीसमेतको मर्मतसम्भारका लागि भनेर ४५ लाख बजेट विनियोजन गरेको थियो । तत्कालीन भू तथा जलाधार व्यवस्थापन कार्यालयले पार्कको मर्मतका लागि ३० लाख र घडीका लागि भनेर १५ लाख बजेट विनियोजन गरेको थियो ।
घण्टाघर पार्कको कामको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अन्तिममा आएर काम रोकिएको थियो । वन तथा वातावरण निर्देशनालयका जलाधर व्यवस्थापन अधिकृत शेखर चपाईंले पार्कको मर्मत तथा स्तरोन्नतिका लागि विनियोजन गरेको ३० लाख बजेटमध्ये २८ लाख ५० हजार रूपैयाँ खर्च भएको र घडी खरिदको प्रक्रिया नै सुरु नभएर बजेट फ्रिज गएको बताए ।
यस वर्ष भने प्रदेश सरकारले घण्टाघरका लागि बजेट विनियोजन गरेको छैन । सुर्खेत उद्योग वाणिज्य संघले पनि घण्टाघरको घडी वर्षौदेखि बन्द भएको देख्दा आपूmहरु चुप लागेर बस्न नसकेको बताएको छ । संघले सरकारले हरेक वर्ष घण्टाघरको लागि बजेट विनियोजन गर्ने, अन्तिममा टेण्डर आव्हान गर्ने तर काम नहुने जस्ता समस्या अब चाँडै समाधानमा पहल गरेको बताएको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलले घडी कहाँ पाइन्छ भनेर बजारको संर्वेक्षण गरेको उल्लेख गरे । ‘
नगरपालिकाको पैसा तर हामीले घडी विक्रि गर्ने बिक्रेतासंग संघले ग्यारेण्टेड बनेर सहजीकरण गरेको छ’, उनले भने, ‘घडी ग्यारेण्टी आउँछ, फिट हुन्छ भनेर नगरपालिकाको पनि र यता बिक्रेता गरेर दुईतिरै ग्यारेण्टीका लागि संघले समन्वयकारी भूमिका निर्वाह गरेको छ ।’
घण्टाघरको घडी नयाँ जडान भएर अबको हप्ता दिन भित्र काम सम्पन्न भैसक्ने गरी कार्य भइरहेको उनले जानकारी दिए ।
युग संवाददाता । । १७ पुष २०७९, आईतवार ०७:०९