पुनम वि.सी.
सुर्खेत,४ फागुन ।
देवीस्थान हनी’ का ४५ घार मौरी अहिले बर्दिया जिल्ला पुगेका छन् । अहिलेको अवस्थामा वीरेन्द्रनगरमा मौरीका लागि पर्याप्त चरण नभएपछि वीरेन्द्रनगर–११, ग्रागेतालस्थित देवीस्थान कृषि, मौरी तथा पशुपंक्षी फार्मले ४५ घार मौरीलाई बर्दिया पुर्याएको हो ।
चार वर्ष पहिले सात वटा घारबाट सुरु भएको यस फार्मका सञ्चालक हुन्, रामप्रसाद पोखरेल । पोखरेलले २०७६ सालमा सात वटा घारबाट मौरीपालन व्यवसायको सञ्चालन गरेका थिए । अहिले उनको फार्मले सरदर वार्षिक रुपमा एक मेट्रिक टन मह उत्पादन गर्छ । सिजन अनुसार मौरीका घारको संख्यामा पनि थपघट हुन्छन् ।
पोखरेल केहि दिनमा फेरि मौरीका घार फटाउने तयारीमा छन् । उनले भने, ‘सो सिजन भनेको मौरी फाटाउने बेला हो । पाँच दिनपछि हामी मौरीको घार फटाउने तयारीमा छौँ ।’ मौरीका ५० घारबाट वार्षिक रुपमा सरदर पाँच लाख रुपैयाँ वचत हुन्छ । उनले भने, ‘यो वचत सबै खर्च कटाएर हो ।
मौरीलाई चराउन लैजाँदाको ढुवानी खर्च, आहारा, हेरालु कर्मचारी सबै खर्च कटाएर वार्षिक पाँच लाख त चोख्खो बच्छ ।’ पोखरेलले सञ्चालन गरेको फार्ममा दुई जना जनशक्ति काम गरिरहेका छन् । पहिलो उनी आफै हुन् भने दोस्रो जनशक्ति उनको परिवारका सदस्य हुन् ।
विदेश टेक्न रोकेको व्यवसाय
कृषक पोखरेल धेरै वर्ष विदेशमा बिताए । १८ वर्षको उमेरदेखि उनले भारतका विभिन्न शहरमा रोजगारीका लागि जान थालिसकेका थिए । १६ वर्षसम्म भारतमा रोजगारीका लागि समय बिताएपछि पोखरेल साउदी समेत पुगे । सन् २०१५ मा रोजगारीको सिलसिलामा साउदी पुगेका उनले त्यहाँ तीन वर्ष बिताए ।
उनले सम्झिए, ‘मैले मेरो उमेरको धेरै समय विदेशमा बिताएको छु । साउदीमा तीन वर्ष बसेपछि अव नेपालमै केहि गर्ने योजनामा भएँ ।’
कम लगानी तथा सहजताका कारण उनी मौरी पालन व्यवसायमा आकर्षित भए । नेपाल फर्केर मौरी पालन व्यवसाय सम्बन्धिका किताबहरु उनले खोजी खोजी पढ्थे ।
नेपाल सरकार, विभिन्न संघसंस्था तथा विज्ञले मौरीपालन व्यवसायमा तयार पारेका पुस्तकहरुले नै उनलाई व्यवसाय सञ्चालनका लागि अभिप्रेरित गरेको उनी बताउँछन् । हाल उनले फार्मबाट सात सय रुपैयाँ प्रति किलोग्राम मह बिक्रि गरिरहेका छन् । ‘देवीस्थान हनी’ हालको समयमा उत्पादनका दृष्टिकोणले सामान्य अवस्थामा छ । घरेलु प्रविधिबाट महको प्रशोधन हुन्छ, बट्टामा राखेर मह बिक्रिका लागि लगिन्छ । यसका साथै अन्य फार्मले समेत उनीबाट मह खरिद गरी आफ्नो नामबाट बिक्रि समेत गर्छन् ।
यसको मुख्य कारण हो, देवीस्थान कृषि, मौरी तथा पशुपंक्षी फार्मको महले बजारका लागि अनुमति पाएको छैन । हालको समयमा करिव सात लाख रुपैयाँको कुल पूँजी रहेको यो फार्मलाई आधुनिक प्रविधिको मह प्रशोधन मेशिन खरिद गर्नुपर्ने हुन्छ । यसका लागि न्यूनतम् पाँचदेखि ६ लाख रुपैयाँसम्म थप लगानी आवश्यक हुन्छ ।
यस अवस्थाले पनि उनलाई उत्पादनको बजारीकरणका लागि सकस भईरहेको छ । मौरी पालन व्यवसायका लागि चरण क्षेत्र अति आवश्यक पक्ष हो । वीरेन्द्रनगर क्षेत्रमा यसको सम्भावना ज्यादै न्यून छ । यहाँ कम मात्रामा मात्र मौरीका लागि चरण क्षेत्र उपलब्ध छन् ।
चरण क्षेत्र खोज्दै अन्य प्रदेश पुर्याउन समेत सकस छ, मुख्य रुपमा त्यहाँका किसानले आफ्नो बाली नजिक मौरीका घार राख्न दिदैनन् । ‘अहिलेको सिजन तोरी बालीको हो । हामीले तोरी बारीलाई लक्षित गर्दै मौरी चराउन लैजानुपर्छ । उनले भने,‘तर त्यहाँका किसानहरुले मौरीले तोरी खाइदिएको आरोप लगाउनुहुन्छ । यसले हामीलाई ज्यादै अफ्ठ्यारोमा पार्छ ।’
बालीको परागसेचनका लागि मौरीको आवश्यक पर्नेलगायतका चेनता नागरिकमा नभएका कारण पनि मौरी पालक किसानहरुले सजिलै चरण क्षेत्र पाउँदैनन् । मौरीपालन व्यवसायमा समेत आआफ्नै संघ–संगठनहरु छन् । सुर्खेत तर्फबाट मौरी पालन किसानहरुले एकमुष्ट रुपमा अन्य जिल्लामा चरणका लागि मौरी लैजान्छन् । सो समयमा त्यहाँका संघ–संगठनसँग समन्वय गर्दै चरण अनुमतिसहित घार स्थानान्तरण गर्ने गरिन्छ ।
युग संवाददाता । । ४ फाल्गुन २०७९, बिहीबार १७:२०