६ वर्षमा ९ कार्यालय प्रमुख

जाजरकोट,१४  फागुन ।

निर्वाचित जनप्रतिनिधिहरूका अनेक माग पूरा गर्न नसकेपछि जिल्लाको विकट गाउँपालिका जुनीचाँदेमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् । गाउँसभाले अनुमोदन गरेको वार्षिक विनियोजित बजेट आर्थिक नियमावलीविपरीत खर्च गर्न दबाब आउने भएकोले कर्मचारीहरू वस्न मान्दैनन् ।

गाउँपालिकामा पहिलो प्रमुख प्रशासकीय अधिकृत भएर कृष्णबहादुर शाह आए । उनी गाउँपालिकामा मुस्किलले चार महिना टिके । दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृत भएर आइपुगेको बखतबहादुर खड्का पनि छोटो समयमै सरुवा भए । २०७४ सालमै तेस्रो प्रमुख प्रशासकीय अधिकृत भए राजेन्द्र पौडेल पनि लामो समय टिकेनन् ।

अन्य जस्तै पौडेल पनि छोटो समयमै सरुवा भए । पौडेलपछि २०७५ सालमा सर्वदल शाही, २०७७ मा टेकबहादुर शाही र दिपककुमार शाहीपछि गणेशबहादुर बस्नेत आए । बस्नेतपछि २०७९ मा प्रेमप्रकाश केसी प्रमुख प्रशासकीय अधिकृत भएर आए । केसी पनि ६ महिना नपुग्दै सरुवा भएर गए ।

पछिल्लो ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन् पितृभक्त गिरी । हालका गिरी असोजमा मात्रै सरुवा भएर गाउँपालिकामा आएका हुन् । ‘जनप्रतिनिधिको अनावश्यक दबाबले कर्मचारी टिक्न गाह्रो हुन्छ,’ बस्नेतले भने, ‘प्रमुख प्रशासकीय अधिकृत फेरिनुको एउटै कारण आर्थिक स्वार्थ पनि हो ।’

कर्मचारीलाई जनप्रतिनिधिहरूले आफूअनुकूल काम गराउन खोज्नु र कर्मचारी आर्थिक लाभ हुने काम मात्र गर्न खोज्ने प्रवृत्तिका कारण जुनीचाँदेमा कार्यालय प्रमुख टिक्न गाह्रो भएको असल शासनकर्मी बालकुमार शर्माले बताए ।

कान्तिपुर

तपाईको प्रतिक्रिया