सल्यान,२० फागुन ।
रेबिज रोग नियन्त्रणका लागि सल्यानमा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । शारदा नगरपालिका–२ टुँडिखेलमा दुई सय पाँच वटा कुकुरको बन्ध्याकरण गरिएको हो । सामुदायिक कुकुरको संख्या नियन्त्रणसँगै रेबिज रोग विरुद्धको खोपका साथै बन्ध्याकरण कार्यक्रम गरिएको शारदा नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।
छाडा छाडिएका सामुदायिक कुकुरहरूको संख्या बढ्न थालेपछि रेबिजको जोखिम उत्तिकै रहने भएकाले बन्ध्याकरण शिविर गरिएको पशु सेवा शाखाका मधुसूदन उपाध्यायले बताए । ‘बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउँदैन र रेबिजको जोखिम पनि कम हुन्छ ।’ उनले भने,‘बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिज विरुद्धको खोप पनि लगाइएको छ ।’ हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालको सहकार्यमा विगतका वर्षहरूमा पनि कुकुरको बन्ध्याकरण गरिएको उपाध्यायले बताए ।
सामुदायिक कुकुरले मानिस तथा पशु चौपायालाई टोकेर घाइते बनाउनुका साथै रेबिज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पुर्याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको उपाध्यायले बताए ।
‘नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।’ उनले भने, ‘अभियानका क्रममा घरपालुवा कुरकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ ।’
युग संवाददाता । । २० फाल्गुन २०७९, शनिबार १९:२२