कोहलपुर-सुर्खेत सडक खण्ड स्तरोन्तीका लागि इआईए प्रतिवेदन अन्तिम चरणमा

सुर्खेत । निर्माण भएको लामो समय सम्मपनि स्तरोन्ती हुन नसकेको रत्नराजमार्ग अन्तर्गतको कोहलपुर-सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार हुने भएको छ । आयोजनाका लागि क्षेत्र निर्धारण र कार्यसूचि (टिओआर) स्वीकृत भएसँगै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) अन्तिम चरणमा पुगेको हो ।

संघीय सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले राजमार्ग स्तरोन्तीका लागि तयार पारिएको इआईए प्रतिवेदमाथी प्रभावित क्षेत्रका वासिन्दाको राय, सुझाव लिने काम सम्पन्न भएसँगै स्तरोन्तीका लागि काम अगाडि बढ्ने भएको हो । प्रभावित क्षेत्रका नागरिकको राय सुझावका आधारमा इआईए प्रतिवेदनलाई अन्तिम रुप दिन लागिएको आयोजनाले जनाएको छ ।

महाशाखाद्वारा जारी सूचनामा कोहलपुर-सुर्खेत-बाङ्गेसिमल खण्डमा पर्ने ९० दशमलव ७५ किलोमिटर सडक खण्डलाई दुई लेनमा कालोपत्रे सडकमा स्तरोन्ती गर्नका क्षेत्र निर्धारण र कार्यसूचि स्वीकृत भएपछि वातावरण संरक्षण ऐन २०७६ को दफा ३ को उपदफा ५ बमोजिम आयोजना कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय समुदाय, जनप्रतिनिधि, वन उपमभोक्ता समूह र सरोकारवालाहरुको आवश्यक राय सुझाव माग गरेको थियो । चैत ३ गते सुर्खेतको वीरेन्द्रनगरमा अन्तिम सार्वजनिक सुनुवाई गरिएको थियो ।

स्तरोन्ती गरिने ट्रर्‍याकमा क्यारिज वे ७ मिटर रहने छ भने, सडकको चौडाई दुवैतर्फ साढे एक मिटर विस्तार हुनेछ । प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन मिल्ने गरी हालको सडकलाई विस्तार गरी क्षेत्राधिकार ५० मिटरको बनाइने उल्लेख छ । सडकका लागि आवश्यक पर्ने जग्गा यस अघि नै नेपाल सरकारले भोग चलन गरि सकेको छ । बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, चुरे क्षेत्र र विभिन्न सामुदायिक वन क्षेत्रका करिव १० हजार रुखहरु कटान कटान हुनेछ । सडकको मापदण्ड कस्तो हुने र वातावरणमा कमभन्दा कम असर पर्ने गरी कसरी काम गर्ने तथा अहिले नै चार लेनमा सडक विस्तार गर्ने की नगर्ने विषयमा सार्वजनिक सुनुवाई मार्फत राय मागिएको परामर्शदाता बि सी एल एसोसियट्स को जेभीका प्रतिनिधि प्रकाश घिमिरे बताउँछन् ।

उनका अनुसार वातावरणमा प्रभाव नपर्ने गरी स्थानीयस्तरमा रोजगारीको प्रत्याभुतिसहितको दिगो विकासलाई महत्व दिइएको छ । नयाँ विस्तार हुने सडकमा सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, चाजिङ्ग स्टेशनहरु राखिनेछ । आयोजनाको कुल लागत इआईए प्रतिवेदनको अन्तिम रिपोर्टपछि मात्रै एकिन हुने घिमिरेको भनाई छ । आयोजनाबाट लुम्बिनी प्रदेशका कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँसगढी नगरपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । हिफ्याब इन्टरनेशनल स्विडेन र बि सी एल एसोसियट्स को जेभी परामर्शदाता रहेका छन् ।

२०३८ सालमा निर्माण भएको पश्चिम नेपालमा अवस्थित यो सडकले दक्षिणमा बाँके जिल्लाबाट सुरु भएर चुरे पर्वत श्रृंखला हुँदै सुर्खेतमा पुगेर कणर्ाली राजमार्गसँग जोडिन्छ । कणर्ालीको समृद्धिसँग जोडिएको यो सडक छिमेकी देश भारतदेखि उत्तरमा चीनसँग जोड्ने एकमात्र व्यापारिक र पर्यटकिय स्थलमार्गको रुपमा रहेको छ । यो सडक भएर कणर्ालीका १० र सुदुपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरुले आवतजावत गर्ने गर्दछन ।

तपाईको प्रतिक्रिया