सल्यानको कुमाख गाउँपालिकामा विवाद, दुई साता बित्दा समेत आएन बजेट

सुर्खेत । असार १० गतेसम्ममा बजेट ल्याउनुपर्ने जिम्मेवारी रहेपनि सल्यानको कुमाख गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेको छैन । पालिकाले असार २५ गते कार्यपालिकाको बैठक आह्वान गरेपनि बैठकले गाउँ सभाको मिति समेत तोक्न नसकेको हो । कार्यपालिकाका सदस्यहरुले पालिका नेतृत्व गतिविधिमा प्रश्न गर्दै बैठकमा असहमति जनाएपछि कुमाख गाउँपालिकाको गाउँ सभा सञ्चालनको समेत कुनै टुंगो लागेको छैन । कार्यपालिका वैठकबाट बजेट समेत पारित भएको पनि छैन ।

कुमाख गाउँपालिका–१ का वडा अध्यक्ष डिल्ली बहादुर रानाले भने, ‘पालिका नेतृत्व गर्नेहरुले मनोमानी रुपमा कामहरु गर्नुभएको छ । कार्यपालिका वैठकलाई नै नटेर्ने गरेपछि हामीले असहमति जनाएका थियौँ ।’ २०७९/०८० मा प्राविधिक शिक्षा छात्रवृत्ति, अध्यक्ष कप खेलकुद, माध्यमिक विद्यालयमा दरवन्दी सिर्जना लगायतका विषयमा पालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले एकाधिकार सहितको गतिविधि सञ्चालन गरेको उनको आरोप छ ।

यसअघिको कार्यपालिका बैठकमा समेत वडा अध्यक्ष राना लगायतका कार्यपालिका सदस्यहरुले असहमति जनाएपछि गाउँ सभाको मिति समेत तोक्न सकिएको छैन ।
‘हामीले समिक्षा गरौं भनेका थियौँ । यो वर्षमा भएका कार्यक्रमहरुको समिक्षा गर्नुपर्छ’, वडा अध्यक्ष रानाले भने, ‘हाम्रा कामहरु राम्रा पनि भएका होलान् । बिग्रिएका पनि होलान् । सकारात्मक वा नकारात्मक दुवै जे भएपनि समिक्षा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

पालिका अध्यक्ष लगायतले कार्यसम्पादन समिक्षा गर्न नमानेपछि आफुहरुले असहमति जनाएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कार्यपालिकाबाट सभामा बजेट पेश गर्नुपर्ने हुन्छ । पालिकाको राजस्व र व्ययको अनुमानित बजेट कार्यपालिकाबाट स्विकृत गराई सभामा पेश भएपछि त्यहाँ छलफल गर्ने कानूनी व्यवस्था छ ।

माओवादी केन्द्रको असहमति

कुमाख गाउँपालिकाको कार्यपालिका सदस्यमा १५ जना सदस्य छन् । १ नं. वडा अध्यक्ष डिल्लीबहादुर राना सहित १० जना कार्यपालिका सदस्यहरुले बैठकमा असहमति जनाएका थिए ।

सदस्यहरुले वैठकको अन्य एजेण्डामै असहमति जनाएपछि २०८०÷०८१ को बजेट विषयमा भने कुनै निर्णय नै भएन । असहमति जनाउने कार्यपालिका सदस्यहरु स्थानीय तह निर्वाचन, २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मार्फत उम्मेद्वार रहेका थिए । ५ नं. वडा अध्यक्ष पदमबहादुर बुढामगर, ६ नं. वडा अध्यक्ष कर्णबहादुर विक, ७ नं. वडा अध्यक्ष डम्मरबहादुर शाही लगायत कार्यपालिका सदस्यहरु पवित्रा कवर, अनिता बुढाथोकी, सावित्रा विक, हिरा परियार, लालविर परियार र पठबहालुर कामीले कार्यपालिका वैठकमा २०७९÷०८० को समिक्षा छलफलको माग गरेका थिए ।

उनीहरु सबै माओवादी केन्द्र मार्फत निर्वाचित हुन् । यता गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकी भने नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुन् । स्थानीय तह निर्वाचन, २०७९ मा कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गठवन्धन गरेका थिए । पालिकाका उपाध्यक्ष रहेका लालबहादुर रावत एमालेबाट निर्वाचित हुन् । क्रमशः २, ३ र ४ नं. वडा अध्यक्षहरु इश्वरी शाही, केवलबहादुर राना र शोभीलाल वस्नेत नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु हुन् ।

यसरी हेर्दा कुमाखको कार्यपालिका सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित सदस्यहरुको संख्या धेरै छ । तर पछिल्लो समयमा गाउँपालिकाका अध्यक्षसँग आफ्ना मागहरुका विषयमा छलफल भइरहेको र पालिकाले चाडै बजेट ल्याउने वडा नं. १ का अध्यक्ष राना बताउँछन् ।

पालिका अध्यक्ष लगायतसँग पहिलो चरणको छलफल भईसकेको र आगामी वैठकपछि बजेट ल्याउने विषयले पूर्णता पाउँने बताउदै उनले भने, ‘असार मसान्तभित्रै हामीले बजेट ल्याउछौं ।’
हालसम्म पनि २०८०/०८१ को बजेट नल्याएको विषयमा गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीसँग जानकारी लिन उनको टेलिफोन नं. ९८५७८४४८९९ मा पटक पटक सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठेन ।

तपाईको प्रतिक्रिया