सुर्खेत । अर्धजलाशययूक्त चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अन्तिम कार्यान्वयन र स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालय पुगेको छ । मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयन र स्वीकृतीका लागि अन्तिम पटक प्रभावित क्षेत्रका नागरिकहरुसँग राय तथा सुझाव मागेको छ । बुधवार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आयोजना कार्यान्वयन र स्वीकृतिका क्रममा कुनै राय सुझाव भए सात दिनभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ ।
वातावरणीय संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (६) बमोजिम प्रस्तावित आयोजनाको प्रतिवेदनमा राय सुझाव दिनका लागि सर्वसाधारणले प्रतिवेदन पढ्न र उतार गरी लैजान पाउने व्यवस्था रहेको उल्लेख गर्दै प्रतिवेदनमाथी राय सुझाव पेश गर्न मन्त्रालयले भनेको छ । पेश भएका सुझावहरुलाई आयोजना कार्यान्वयनका लागि स्वीकृति दिदा सम्वोधन गरिने बताईएको छ ।
प्रतिवेदन अनुसार सुर्खेतको चौकुने गाउँपालिकाको वडा नम्बर ४, ५ र ६, पञ्चपुरी नगरपालिका वडा नम्बर ७ र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकेरी गाउँपालिका वडा नम्बर ६ र ७ तथा तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ आयोजनाबाट प्रभावित हुनेछन् । आयोजनाबाट तीन सय ४८ घरधुरी प्रभावित हुँदा २४ घर पूर्णरुपमा विस्थापित हुनेछन् ।
आयोजनाको ड्याम (बाँधस्थल) अछामको ढकेरी गाउँपालिका–६, मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका ६ मा पर्नेछ । पावरहाउस (विद्युतगृह) अछामको ढकेरी गाउँपालिकाको टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिकाको वडा नम्बर ६ मा पर्नेछ । बेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणका लागि प्रस्तावित चार सय ३९ मेगावाट (मुख्य आयोजनाको चार सय ३० दशमलव १३ मेगावाट र वातावरणीय प्रभावबाट उत्पादन हुने ८ दशमलव ७७ मेगावाट) क्षमताको आयोजना करिब ८८ अर्ब लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।
कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका करिव ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका लागि निर्माण हुने संरचना तथा जलाशयमा हुने डुवान क्षेत्रका लागि निजी स्वामित्वको ९३ दशमलव ११ हेक्टरर र सरकारी स्वामित्वको वन क्षेत्र पाँच सय ९८ दशमलव ८८ हेक्टर गरी कुल ६ सय ९१ हेक्टर जमिन आवश्यक पर्दछ ।
पाँच सय ९८ हेक्टर सरकारी वन क्षेत्रमध्ये नदी तथा नदीको किनारा क्षेत्र दुई सय ५८ दशमलव ४९ हेक्टर र बाँकी तीन सय ४० हेक्टर घाँसे मैदान र रुख÷बुट्यानले ढाकेको क्षेत्र प्रयोग हुनेछ । आयोजनाको मुख्य दुई वटा सुरुङमार्फत दुई हजार चार सय घनमिटर प्रति सेकेण्ड पानीलाई विद्युत गृहमा डाइभर्सन गरिने छ ।
४० दशमलव ९६ मिटरको उचाईको माथिलो कफर बाँध समुन्द्र सतहबाट चार सय ३४ दशमलव ३२ एमएसएलमा रहेन छ । जसको माथिल्लो लम्वाई एकसय ३६ मिटर हुनेछ । यस्तै तल्लो कफर बाँध १६ दशमलव ५० मिटर उचाईको समुन्द्र सतहबाट चार सय ६ दशमलव तीन सय ६१ एमएसएल मा रहने छ जसको माथिल्लो लम्बाई ८५ मिटरको हुनेछ ।
प्रस्तावित मुख्य आयोजनाका मुख्य संरचनाहरुमा पावर इन्टेक, दुई हजार १७ दशमलव २६, दुई हजार ११ दशमलव १५ र दुई हजार १७ दशमलव ३९ मिटरका तीन वटा हेडरेस सुरुङ, तीन वटा प्रेसर साफ्ट, भूमिगत प्रकारको पावर हाउस र ६ वटा टेलरेस सुरुङ रहनेछन् ।
यस्तै वातावरणीय प्रभावबाट उत्पादन हुने आठ दशमलव ८२ मेगावाट आयोजनाको पावर इन्टेक, प्रेसर साफ्ट र सतही पावर हाउस रहने छन् भने, आन्तरिक पहुँचका लागि झण्डै चार दशमलव ८२ किलोमिटर सडक स्तरोन्तीका लागि प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
वार्षिक दुई हजार गिगावाईट विजुली उत्पादन हुने
प्रस्तावित अर्धजलाशययूक्त जलविद्युत आयोजनाको जलाशयको भण्डारण क्षमता एक सय ६१ दशमलव ६९ घनमिटर र जलाशयको लम्वाई २१ दशमलव ९३ किलोमिटर हुने इआएमा प्रस्ताव गरिएको छ । आयोजनाबाट सुख्खा मौसममा अफ पिक उर्जा दुई सय ३० दशमलव ८२ गिगावाटप्रति घण्टा र पिक उर्जा ६ सय ९८ दशमलव ३८ गिगावाटप्रति घण्टा उर्जा उत्पादन हुनेछ ।
यस्तै वर्षामा एक हजार ६ सय नौ दशमलव ६७ गिगावाटप्रति घण्टाका दरले विजुली उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ ।आयोजनाबाट उत्पादित विद्युतले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको ९ वर्षपछि वार्षिक १८ अर्ब ३७ करोड २१ लाख ८ हजार आम्दानी हुने जनाइएको छ ।
युग संवाददाता । । २८ असार २०८०, बिहीबार १४:१८