असारसम्म कर्णालीमा ६५ प्रतिशत रोपाइँ, ३१ हजार हेक्टर बढीमा धान रोपाइँ सकियो

सुर्खेत । असार महिनासम्ममा कर्णालीमा ६५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । हालसम्ममा कुल ३१ हजार दुई सय ८६ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो । कर्णालीमा कुल ४८ हजार एक सय ३३ हेक्टर बढी जग्गामा धान रोपाइँ हुन्छ । असार १५ गतेसम्ममा कर्णालीमा ३९ दशमलव २५ प्रतिशत धान रोपाई भएको थियो ।

जिल्लागत तथ्यांक हेर्नेहो भने जुम्लामा शत् प्रतिशत धान रोपाइँ सकिएको छ । यस क्षेत्रमा चैत्रमै धान रोप्ने भएकाले यहाँ धान खेती हुने सबै क्षेत्रमा रोपाइँ सकिएको हो । त्यसैगरी कालिकोट, मुगु, डोल्पा र हुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय, सुर्खेतका वाली विकास अधिकृत यामबहादुर रानाले जानकारी दिए । त्यसैगरी रुकुम पश्चिम र सल्यानमा ७५ प्रतिशत रोपाइँ भएको छ । जाजरकोटमा ७०, दैलेखमा ५५ र सुर्खेतमा ५० प्रतिशत क्षेत्रमा रोपाइँ भईसकेको वाली विकास अधिकृत रानाले जानकारी दिए ।

कर्णालीलाई सिंचाईमा आकाशे पानीकै भर

कर्णालीमा करिव ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिनमध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । निर्देशनालयका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिंचाई सुविधा पुग्ने गरेको छ । ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिंचाई सुविधा उपलब्ध छ ।

यसअघि कर्णालीले आर्थिक वर्ष २०७७/०७८ मा धान उत्पादनमा वृद्धि गरेको थियो । २०७६/०७७ को तुलनामा २०७७/०७८ मा पाँच दशमलव पाँच प्रतिशतले धान उत्पादन वृद्धि भएको हो । २०७७/०७८ मा कर्णालीमा एक लाख २० हजार नौं सय ७१ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालयको तथ्यांक छ । सो समयमा वर्षात समयमै भएकाले उत्पादन वृद्धि भएको थियो ।

तर नेपाल राष्ट्र बैकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन, २०७९ का अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/८० मा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढेपनि प्रमुख बाली मध्ये धान खेतीले ढाकेको क्षेत्रफल भने घटेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को पुष महिनाको तुलनामा २०७९/०८० को सोहि अवधिमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव तीन प्रतिशतले बढेको थियो । तर, सोहि अनुपातमा धान बालीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ । धान बालीले ढाकेको क्षेत्रफल एक दशमलव १८ प्रतिशतले घटेको छ । कर्णालीमा धान उत्पादन घट्नुको मुख्य कारण सिंचाई हो । बाह्रैमास सिंचाईको सुविधा नुहुनु त्यसमा पनि समयमै पानी नपर्नुले पनि धान उत्पादन घटेको छ ।

कहाँ कति रोपाइँ ?

सुर्खेतमा हालसम्म सात हजार ६ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ । यस्तै जुम्लामा दुई हजार नौ सय ५० हेक्टर मध्ये सबै क्षेत्रमा रोपाइँ भईसकेको छ । दैलेखमा चार हजार ६ सय ८१, रुकुमपश्चिम दुई हजार दुई सय ८६, जाजरकोटमा दुई हजार एक सय ४५, सल्यानमा पाँच हजार दुई सय ९२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।

डोल्पा जिल्लामा दुई सय ४८ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस्तै मुगु जिल्लामा आठ सय ९१, कालिकोटमा दुई हजार सात सय १७ र हुम्लामा हालसम्म एक हजार एक सय ५५ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया