पाठ्यपुस्तकका बिल बोकेर विद्यार्थी आन्दोलित

सुर्खेत । सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको भएपनि अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि जुम्लाको एक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेका छन् । सरकारले साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला, कालिकोट, हुम्ला, डोल्पा, मुगुका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि ७५ प्रतिशत अनुदान दिदै आएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–५ मा रहेको दुर्गा माध्यामिक विद्यालयमा पाठ्यपुस्तक खरिद वापतको रकम नपाएपछि विद्यार्थीहरु पाठ्यपुस्तक खरिदको बिल र विद्यार्थी संख्या सहितको तथ्यांक बोकेर आन्दोलनमा उत्रिएका छन् । विद्यालय र गाउँपालिकाको शिक्षा शाखाको मिलोमतोमा आफूहरुले पाउनुपर्ने पाठ्यपुस्तकको रकम नपाएको उनीहरुको आरोप छ ।

उक्त विद्यालयमा अध्यायनरत विद्यार्थीलाई पाठ्यक्रमको रकम आधा दिन खोजेपछि कक्षा ६ देखि १० सम्मका बिद्यार्थी आन्दोलित भएका हुन् । कक्षा ७ मा अध्ययनरत प्रेम नेपालीले सरकारले निःशुल्क दिने पाठ्यपुस्तकमा विद्यालयले अतिरिक्त शुल्क लिएको बताए । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत मंगल खड्काले अतिरिक्त मूल्य तिरेर किताव किनेको बताए ।

आफुले किनेको पाठ्यपुस्तकको बिल अनुसारको रकम माग गरेको तर, विद्यालयले गाउँपालिकाबाट ७२ प्रतिशतका दरले रकम आएकाले बढी रकम दिन नसक्ने बताएको उनीहरुको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी शुशिल नेपालीले गत वर्ष कक्षा ९ मा अध्ययन गर्दा एक सेट किताव पाँच सय रुपैयाँमा किनेका थिए ।

तर विद्यालयले उनलाई दुई सय १५ रुपैयाँ दिन खोजेपछि आफूले पैसा नलिएको नेपाली बताउँछन् । ‘हामी विद्यार्थीहरु गाउँपालिकामा समेत यस विषयमा जानकारी गराउँन पुगेका छौं’ नेपाली भन्छन्, ‘ दिनभर विद्यालयमा आन्दोलन पनि ग¥यौं, तर समस्या समाधान भएको छैन ।’

यता विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले गाउँपालिकाबाट ७५ प्रतिशत रकम आएको भनिएपनि आफूहरुले सोध्दा ७२ प्रतिशत्त आएको भनेपछि सोही अनुसार भपाई बनाएको बताए । ‘हामीले रकम कति आएको छ भनेर हेरेनौ लेखापालले ७२ प्रतिशत रकमको भरपाइ बनाउनु भएको थियो’, शाहीले भने, ‘पालिकामा पछि बुझ्दा ७५ प्रतिशत आएको रहेछ । विद्यार्थीले सबै रकम पाउनु पर्छ । उनीहरुको माग जाहेज छ ।’

प्रधानाध्यापक शाहीका अनुसार आर्थिक बर्ष २०७९/८० मा कक्षा ६ देखी १२ सम्म तीन सय ८६ जना विद्यार्थी रहेका छन् । तातोपानी गाउँपालिकामा २९ वटा विद्यालय छन् । प्रावि तहमा २६ सय र माध्यामिक तहमा २२ सय जना विद्याार्थी अध्ययनरत छन् । यि विद्यालयमा विद्यार्थी संख्याको आधारमा ७५ प्रतिशतका दरले रकम पठाएको पालिकाकाका शिक्षा शाखा प्रमुख सुरतबहादुर शाही बताउँछन् ।

‘नेपाल सरकारको कार्यक्रम निर्देशिका अनुसार पाठ्यक्रमको रकम ७५ प्रतिशतका दरले विद्यालयको खातामा हाल्ने भन्ने छ’, शाखा प्रमुख शाहीले भने, ‘सोही अनुसार पैसा गएको छ । विद्यार्थीले पाठ्यक्रमको रकम पुरा पाउनु पर्छ । यो विद्यालयको कमजोरी हो । कसरी यो समस्या आयो भन्ने विषयमा आज (बुधबार) छलफल हुँदैछ ।’

२५ प्रतिशत रकम पुराना पाठ्यक्रमलाई रिकभर गर्नका लागि हुने भन्दै दुर्गा माविका लागि मात्र नभई अन्य पालिकामा पनि ७५ प्रतिशतका दरले रकम पठाउने गरिएको शिक्षा शाखा प्रमुख शाही बताउँछन् । पाठ्यक्रमको रकमका बारेमा विद्यालय र गाउँपालिकाको तथ्यांकसमेत मिलेको छैन ।

विद्यालयले उपलब्ध गराएको छात्रवृत्तिको तथ्यांकमा ७२ प्रतिशत निकासा गरेको विद्यालयसँग तथ्यांक छ, तर गाउँपालिकाले ७५ प्रतिशत रकम पठाएको जनाएको छ । कक्षा ९ मा ५९ जना विद्यार्थी अध्ययनरत रहेको भएपनि गाउँपालिकाले ४९ जनाका लागि मात्रै पाठ्यपुस्तक पठाएको छ । त्यसमा बिद्यार्थीले पाँच वटा किताबको मूल्य पाउनु पर्ने हो ।

त्यस्तै कक्षा दशमा ४८ जना विद्यार्थी अध्ययनरत भएपनि पाठ्यक्रमको रकम २९ जनाको लागि मात्रै आएको छ । बाँकी १९ जनालाई पठाइएको छैन । त्यहा ४८ जनाले पाउनु पर्ने रकम १७ हजार दुईसय ८० भएपनि विद्यालयलले दश हजार तीनसय ५५ मात्रै भुक्तानी दिन खोजेको विद्यार्थीहरुको आरोप छ ।

त्यस्तै कक्षा ८ मा जम्मा विद्यार्थी संख्या ५८ रहेकोमा पालिकाले ४८ जनाको पाठ्यक्रमको रकम पठाएको विद्यार्थी शक्ति कामीले बताए । त्यस्तै कक्षा सातमा ४५ जना विद्यार्थी रहदा गाउँपालिकाले ५४ जनाको रकम पठाएको छ । यसमा बिद्यालयमा भर्ना भएका भन्दा नौ जना बिद्यार्थी संख्या थपिएको छ । त्यस्तै कक्षा ६ मा ४४ जना बिद्यार्थी रहदा पालिकाले ३५ जनाको लागि पाठ्यपुस्तको खरिदका लागि रकम पठाइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया