पुस्तक समीक्षा ‘रमा’मा चोखो मायाको दर्शन

युवराज शर्मा । नेपालको कर्णाली प्रदेशअन्तर्गत ग्रामीण समाजमा जन्मिएर हुर्केको रमा एक सामाजिक यथार्थ र चोखो मायाको दर्शनमा आधारित समसामयीक उपन्यास हो । यसको आवरण तस्वीर चानस पुन मगरले लिएका हुन् भने मोडलिङ सुधा कार्की र गोपाल बि.सी. ले गरेका छन् ।

आइएसवीएन ९७८–९९३७–०–९११२–१ रहेको पुस्तकमा १७४ पृष्ठ रहेका छन् । प्रकाशकका बारेमा स्पष्ट जानकारी दिइएको छैन तर पनि रमाको प्रकाशन पुनम फाउन्डेसनले गरेको बुझ्न सकिन्छ । उपन्यासमा जम्मा १७ परिवेश रहेका छन् त्यसबाहेक फर्केर सम्झदा शीर्षकमा रमा लेख्दाको लेखकको अनुभव र अन्तमा लेखकको मन्तव्य समेटिएको छ ।

उपन्यास लेखनका क्रममा लेखक कहीँ सुस्ताएका देखिन्छन् त कहीँ हौसिएका । केही उतारचढावका बीच पनि केही समय परिपक्व भएर रमा पाठकका हातसम्म पुगेको छ । रमा, हो तिनै रमा, जन्मिदै अभागी ट्याग लगाएर जन्मिन्छिन् । प्रेमीसँग भाग्दा बाबुआमाको नाक कटुवाको ट्याग पाउँछिन् र प्रेमीबाट धोका पाउँदा बेश्याको ट्याग पाउँछिन् ।

छोराको चाहना राख्ने हाम्रो समाजमा छोरीको चोला आफैमा अभाग मानिन्छ, त्यसमा पनि जन्म दिने आमा गुमाएकी । घरमा सौतेनी आमाको ईष्र्या, आफ्नै बुवा भएपनि सौतेनी आमाका अगाडि उनले देखाउने लाचारीपन र निरिहता रमाको जीवनका यथार्थ र अभाव थिए । उपन्यासमा धामी र डाक्टरको प्रसङ्ग छ, चिकित्सा विज्ञानमा मात्र होइन यो समाज दैवी शक्ति र धामी झाँक्रिमा पनि उत्तिकै विश्वास गर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

झाडापखाला जस्तो सामान्य रोगले मृत्यूवरण गर्ने हाम्रो सामाजिक वास्तविकतासँगै ज्योतिषशास्त्रको मान्यता र चिनाको प्रसङ्ग समेत उल्लेख छ । सञ्चार प्रविधिमा आएको नविनताले घरपारिको पसले साइला दाईसँगको प्रेमले गति लिन थालेको उल्लेख छ । नोकिया ११ सय नामक मोबाइल फोन सेटबाट साईला दाईसँगको प्रेम झाँगिएको रमाको बुझाई प्रस्तुत छ ।

घरभित्रकै चुल्हो चौकामा सिमित छोरीको जीवनबारे चर्चा गरिएको छ । आवश्यकता अनुसार स्थानीय भाषिकाको प्रयोगगरिएको छ, एकाबिहानै रमाकी सौतेनी आमाले “रमा गाईबाख्रा सारेइ है, गोठौन खर राख्याछ, डिङ्ना न एक मुठो राख्दिई, भोक्कै रहलान टोक्नी” भन्ने आवाजसँगै रमाको निन्द्रा खुल्छ ।

स्थानीय बगौरा विद्यालयमा १० कक्षामा पढ्दै गरेकी रमा घरको कामकाज सकेर विद्यालय र फुर्सदको समयलाई सदुपयोग गर्दै जेहेन्दार विद्यार्थी बनेकी छन् र उनी कक्षामा सधै प्रथम पनि हुने गरेकी छन् । उपन्यासमा नेपाली भाषासँगै हिन्दी भाषाको पनि प्रयोग भएको छ । भारतीय प्रहरीलाई १० रुपैयाँ घुस दिए ब्यापारिक यात्रा सहज हुने प्रसङ्ग पनि छ ।

सिकारीडाँडा, खोल्सो, चौतारी, मूलबजारका घटनाले पाठकलाई स्थानीय परिवेशमै पु¥याउने हुँदा आँञ्चलिकताका हिसावले यो कृति दरिलोसँग उभिएको छ भन्न सकिन्छ । त्यस्तै आरन, स्यापी, सुल्पा र टपरीले स्थानीय मौलिक प्रविधिको प्रतिनिधित्व गरेका छन् । त्यसैगरी साईला दाइको पसल, विहे, रत्यौली, दोहोरी, देउडा आदि स्थानीय संस्कृति र मानिसको जमघट हुने अवसर र स्थानका रुपमा चित्रित छन् ।

मुखिया बा, बगैनाको घाँसको भारी, माइ मेला, नाटक प्रदर्शन, मिर्मिरे युवा क्लव, बाटो निर्माण, खानेपानीको प्रवन्ध, झकमक्क फूलेका गुराँसको मनमोहक वन यसभित्रै समेटिएका छन् । स्थानीय परिवेशको दुरुस्तै चित्र उतारेको उपन्यासले सङ्कटकाल र युद्धमा मारिएका मानिसको बारेमा सन्देश दिन पनि भ्याएको छ । उखानको पनि प्रयोग भएको छ ।

नेपाली समाजमा रहेको नारीको पछौटेपनका बारेमा पनि चर्चा गरिएको छ । विवाह नहुँदा जन्मघरमा बुवाको र विवाहपश्चात कर्मघरमा श्रीमानको भरमा बाँच्नुपर्ने हरेक नारीको यथार्थ औंल्याइएको छ । घडेरी भनेर बीचखेतको जग्गा पास गर्ने अनि बाटो नै बेचेर क्रेतालाई आपत पार्ने सुर्खेतका जग्गा ब्यापारीका कुरा पनि उपन्यासमा अटाएका छन् ।

दुई तीन भाई छोरा र बुहारी भएका साहु बाजे र बज्यै हाल एक्लै बस्नुपरेको, छोराहरु अलग्गै घर बनाएर बस्न थालेको, उनीहरुलाई स्याहार सुसार गर्नेमा कसैको चासो नरहेको प्रतिनिधिमूलक घटनाले बुढेशकालमा हरेक नेपालीले भोग्नुपर्ने विवशतालाई उपन्यासले उजागर गरेको छ । त्यसैगरी हरेक छोरीले टिभी र दराज (दाइजो) सँगै माइतिघरबाट कर्मघर जानुपर्ने सामाजिक कुरीति पनि औल्याइएको छ ।

छोरालाई बोर्डिङ्ग स्कूल र छोरीलाई सरकारी स्कूलमा पढाउने हाम्रो सामाजिक भेदभाव पनि उपन्यासमा अटाएको छ । संक्षिप्तमा कथा यसरी अघि बढेको छः मानिस मायामा बाँच्न चाहान्छ, मायामै रम्न चाहान्छ । तर माया, खै पाउछु भन्दा पनि नपाईने, दिन्छु भन्दा पनि दिन नपाईने, आखिर के हो माया । हरेक मानवको छाँया हो माया ।

म हरेक दिन साथी सङ्गीतासँग विद्यालय जान्थें । विद्यालयका सबै क्रियाकलापमा निपूर्ण थिए रामु मास्टर, उनी मेरो नजिक हुन खोज्थे । साथी सङ्गीताका दाजु पर्ने उनी मनमनै मसँग विहे गर्ने कल्पना गर्थे । यो कुरा मलाई साथीले भनेकी थिई । एक दिन रामुले मसँग विहेको प्रस्ताव राखें तर मैले कुनै उत्तर दिइन ।

एक दिनको कुरा हो सौतेनी आमाले जुम्ला सिँजा घर भएको आफ्नो काइलो मामाको छोरासँग मेरो विहे गरिदिने कुरा सुनाइन् । गाँजा, चरेस खाएर गाउँ घुम्ने हरिलठ्ठक थियो उ । आमाको प्रस्ताव थिएन यो उनको निर्णय थियो । उनको यो निर्णयबाट म निकै चिन्तित थिएँ किनकि म त पसले साइला दाइको मायामा रमिरहेकी थिए ।

यही बीचमा पारी गाउँका साहुबाजेका भाञ्ज नाता पर्ने बुटवलका बसन्त मेरो जीवनमा आउँछ र म उसकै मायाजालमा पर्छु । सौतेनी आमाको प्रस्तावलाई नकार्न नसक्ने आफ्नै बुवाको लाचारीपन देखेर आफ्नो कुरा नचल्नेमा विश्वस्त भएपछि तन भन्दा पनि मन सुम्पिएको बसन्तसँग सम्बन्ध जोड्ने उद्देश्य लिएर प्यारो गाउँ छोडी तरकारी बोक्ने गाडीमा सुर्खेततर्फ भागें, जहाँ उ आफ्नो रातो मोटरसाइकलमा मलाई पर्खिरहेको थियो ।

नेपालगञ्ज होटेलमा पुगेपछि नुहाएर बागेश्वरी फिल्म हलमा चलिरहेको नेपाली फिल्म झोला हेर्न गयौं । फिल्मले मलाई सतिप्रथासँग साक्षात्कार गरायो । मैले मनमनै कल्पिए कि सतिप्रथा हटेपछि चितासँगै जल्नुपर्ने वाध्यता नेपाली नारीको जीवनबाट हट्यो तर त्यसको छाप अझै रहेकोले विभिन्न कारणवश सति जाने प्रचलनको छाँया भने उस्तै रहेको छ ।

हाम्रो देश नेपालको पश्चिमि क्षेत्रमा छोराछोरीको रोजाइमा होइन, बाबुआमाको रोजाइमा छोराछोरीको विहेवारी छिनिन्छ । त्यस परम्परालाई तोड्न मैले विद्रोह गरेकि थिए र ज्यूदै सति जस्तै बनेर आफ्ना इच्छालाई मर्न नदिने अठोटका साथ मन सुम्पिएका केटासँग भागेकी थिए ।
फिल्म हेरेर फर्किएका हामी दुबैले बागेश्वरी मन्दिरमा पुगेर मन्दिर साक्षी राखेर एकअर्कालाई बुढाबुढी स्वीकार ग¥यौं ।

हाटेलमा आयौं र मैले उसलाई, उसले मलाई, एकअर्काप्रति समर्पित ग¥यौं । मैले जीवनमा पहिलो पटक यौन सुखको अनुभव यहिं गरेकी थिए । तर बिहान उठ्दा बसन्त थिएन, थिए त केवल संस्थाकी दिदि र प्रहरी । उनीहरुले म बेचिन लागेको सुनाए तर मेरो मन बसन्तलाई खोज्दैथियो, मेरा आँखा बसन्तकै पर्खाइमा थिए । बसन्त मेरो चोखो मायालाई धोका दिन सक्दैन भन्ने मलाई लागेको थियो ।

तर सोचेजस्तो हुन्न जीवन भनेझैं बसन्त होटेल फर्किएन र म चेलिवेटी नेपाल संस्थामा लगिएँ । त्यहाँ सिलाई कटाईको तालिम लिए, पेटमा हुकैदै गरेको बसन्त र मेरो मायाको चिनोलाई सवैको सल्लाहमा फ्याके । मेरो जीवनमा संस्थाकी दिदि, चन्द्रा दिदि, मालती चौधरी, रुपा र गौरी दाईको अगाध माया र सहयोग जोडिएको छ ।

बसन्तकै साथी उमेशले मेरो जीवनमा ठूलो गुन लगाएको छ, जसलाई म चाहेर पनि बिर्सिन सक्दिन । दिदिको सल्लाहमा कोहलपुरको एक प्राथमिक विद्यालयमा कार्यालय सहयोगीको काम पाए तर प्रधानाध्यापकको असहज व्यवहारका कारण जागिर नै छोडिदिए । त्यसपछि नेपालगञ्ज एकलाइनी बजारस्थित गौरी दाईको टेलर पसलमा काम गर्दा नेपालगञ्जको एक मोबाइल पसलमा मेकानिकको काम गर्ने गणेश पनि मेरो जीवनमा आउन खोजेको थियो तर मैले वास्ता गरिन ।

टेलरमा काम गरिरहेका बेला एकदिन पाइन्ट छोट्याउन आएको उही बसन्तसँग भेट भएपनि उसलाई मैले अपरिचित झैं व्यवहार गरिदिए । मैले सदा झैं यसपटक पनि मौनता साँचिदिए । यसै क्रममा एक दिन नास्ता पसलमा बसिरहेको बेला बसन्तको साथी उमेश आयो । अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भने झैं म पनि तर्सिएकि थिए ।

उमेशको आग्रहमा बसन्तसँग भेट गरें । बसन्त आफ्नो गल्तिको याचना गरिरहेको थियो र मलाई आफ्नै बनाउछु भन्दैथियो तर म उसको प्रस्तावलाई नकारेर हिडिदिए । तिम्रो र मेरो बाटो अलग अलग छ, मलाई फेरी भेट्ने प्रयास ग¥यौ भने म विष खाइदिन्छु भनेर म त्यहाँबाट हिडेकी थिए ।

गाउँमा रहेका बाबुआमाको नाक काटेर आएकी म गाउँ फर्कन सक्ने अवस्थामा थिइन, त्यसैले समाजमा केही गरेर उदाहरण बन्ने सपना बुन्दै अघि बढेकी थिए । आफ्नो सपना साकार पार्ने उद्देश्यले दिदिसँग सल्लाह गरी मानखोला नजिकैको सम्झनाबजारमा आफ्नै टेलर पसल खोल्न एकदिन घुम्ति किने र भारतको रुपैडियाबाट मेसिन लगायतका आवश्यक सामान ल्याएर पसल पनि खोलें ।

दिनहरु बित्दै थिए, काम राम्रै चलेको थियो । समाजिक सम्बन्ध राम्रो बन्दैथियो । एकदिन साँझपख दिदि मेरो कोठामा आइन, मैले उनलाई स्वागत गरें । भोलिपल्ट दिदिको बोलावटअनुसार म संस्थामा गए । त्यस दिन दिदिले मलाई विहे गर्ने सल्लाह दिइन् र केटासँग पनि भेट गराइदिइन् । मास्क लगाएर अनुहार लुकाएको उसले दिदिकै आग्रहमा मलाई मेरो कोठामा छोडिदिने भयो ।

कोठानजिक पुगेर उसले आफै मोटरसाइकल रोक्यो कि उ मेरो कोठाबारे जानकार छ र भन्यो अव विष नखाउ है रमा, आई लव यू । म झल्यास्स भए उ त उही बसन्त थियो । मेरो मनमा बसन्तप्रति केही माया पलाउन लागेको थियो । अर्को दिन विहानैउसले आफ्नी बज्यैको निधन भएको खवर सुनायो र मलाई पनि बुटवल जानका लागि तयार रहन भन्यो ।

मनमा कुरा खेलाउँदै म पनि उसको पछि लागेर बुटवलतर्फ गए, एक फरक भूमिकामा, एक फरक परिवेशमा । त्यहाँ रहदा म पनि काजक्रियामा संलग्न भए । सासुले राम्रो व्यवहार गर्दा टुक्रिएको मेरो मन केही जोडियो र म केही ढुक्क भए । बुटवल रहदासम्म म र मेरो मन दुबैमा परिवर्तन आइसकेको थियो । गुमेकी आमाको मायाजस्तै सासुआमाको माया पाएकी थिए ।

मलाई पारिवारिक सुखको अनुभूति भएको थियो । शुद्ध भइसकेपछि हामी फेरी नेपालगञ्जतर्फ लाग्यौं । जब हामी सम्झनाबजार पुग्यौं, उसले आपूm पनि मसँगै बस्ने अनुमति माग्यो, मैले बस बुढा भनिदिए । घरबेटी दिदिले मुस्कुराउदै सुनाउनुभयो, “अरुले बुढी भगाएर ल्याउछन्, तिमिले त बुढो ल्यायौ नि रमा ।”

समाजको हामीप्रतिको धारणा बुझ्न र बाबुआमालगायतका आफन्त भेट्न दैलेख जाने विषयमा हामीले सल्लाह ग¥यौं र हिड्यौं । प्रतिकुल समयमा आफ्ना पनि बिराना हुन्छन् र अनुकुलतामा बिराना पनि आफ्ना भन्ने कुरा मैले माइतिमा पुग्दा थाहा पाए । उहीले उहीले कर्कशा लगाउने सौतेनी आमा लचिलो भएकी थिइन्, इष्र्याले भएपनि चम्किलो मुहार लगाएर मलाई माया गरिरहेकी थिइन् ।

बुवाले कुखुराको मासु तयार पारे, आमाले खाना, सबै सँगै बसेर खाँयौं, गाउघरका कुरामा रमायौं । परेको बेला खुट्टा तान्न पछि नपर्ने समाजमा देखाउनकै लागि भएपनि भेटघाट गर्नुपथ्र्याे र गरियो पनि । नितान्त फरक खाले स्वार्थरुपी आतिथ्यता प्राप्त गरेको महशुस भयो । खानपानले हो कि हावापानीले हो, माइतिको बसाइमा बिरामी परेकी म कोहलपुर मेडिकल कलेजमा जाँच गरेपछि भने सञ्चो भए तर यो सदाका लागि थिएन, फेरी टाउको दुख्ने समस्याले थलिए । उपचारका लागि चितवन र पछि देवघाटसम्मको यात्रा भयो ।

देवघाटमा माताले माइतिको दोश देखाइन् । मेरो पहिलेको पुरुष रिसाएको छ रे, दैलेख घ्यूपोखरी नै पुगेर उसको मन खुसी बनाए मात्र मलाई सञ्चो हुन्छ भनेपछि हामी पुनः दैलेखतर्फ लाग्यौं । मलाई भन्न मन लाग्छ, एउटा नारी आफ्नो स्वतन्त्रताको चाहना गर्छिन, तर उनी हरक्षण पुरुषप्रति निर्भर रहन्छिन भने नारी स्वतन्त्रता कहाँ छ ? र फेरी खोज्छु नारी स्वतन्त्रता।

मैले सबैभन्दा पहिले आफैलाई जित्नु छ अनि फेरी बाँधिएको मौनता । फुकाउनु छ बाँधिएको मौनता र पुग्नुछ समाजभन्दा निकै पर । बाँधिएको मौनता फुकाएर आएकी म अड्किनु छैन र समाजको वाहियात कुरासँग पनि । त्यसैले म आफैसँग प्रश्न गर्छु, कहाँ छ मेरो जीवन ? जहाँ म बाँचेकी छु, खोई म ? खोई ? यसरी प्रेम, विछोड, पुनः प्रेम हुँदै नारी स्वतन्त्रताको खोजीमा समर्पित उपन्यासको कथा दैलेख घ्यूपोखरीदेखि सुरु भई सुर्खेत, बबई, चिसापानी, कोहलपुर, नेपालगञ्ज, सम्झनाबजार, बुटवल, चितवन, देवघाट हुँदै पुनः घ्यूपोखरीमै आएर टुङ्गिएको छ ।

अन्तमा यो उपन्यास कर्णाली प्रदेशका समग्र रमाहरुमा समर्पित छ । यो रमा ती रमाहरुका लागि हो, जो जानी नजानी आत्मविश्वासले अडिग रमा बनिरहेका छन् । रमाका लेखक स्वयम्ले रमा बनेर यहाँका चेलीहरुको जीवन भोगाइबाट प्राप्त अनुभव, सामाजिक र सांस्कृतिक वाध्यतालाई उजागर गरेका छन् ।

पत्रकारिताका विद्यार्थीसमेत रहेका लेखक पुनम वि.सी. ले कलिलो उमेरमै यति परिपक्व उपन्यास लेखेर यस क्षेत्रमा आफ्नो नामलाई स्वर्ण अक्षरमा कुँदाएका मात्र छैनन्, पश्चिम नेपालको कथा थपेरसमग्र नेपाली साहित्यको भकारीलाई भरीपूर्ण बनाउन पनि अमुल्य योगदान दिएका छन् । लेखकको सुन्दर भविश्यको कामनासहित अस्तु ।

तपाईको प्रतिक्रिया