पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका सेवा बन्द

सुर्खेत । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट प्रवाह हुँदै आएका सबै प्रकारका सेवाहरु बन्द भएका छन् । संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा कुनै पनि बजेटको व्यवस्था नभएपछि सेवा बन्द गरिएको हो । सोमवार एक सूचना जारी गर्दै प्रयोगशालाले सेवाहरु बन्द भएको जनाएको छ ।

‘आर्थिक वर्ष ०८०/०८१ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचना अन्योलताका कारण यस प्रयोगशालाका लागि कुनै पनि शिर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ । कर्णालीका १० जिल्ला र लुम्बिनी प्रदेशका ६ गरी १६ जिल्लाको जिम्मेवारी पाएको कार्यालयले प्रयोगशालाका लागि कुनै पनि शिर्षकमा बजेटको व्यवस्थापन नहुँदा सेवा नै बन्द गर्नुपर्ने जनाएको हो ।

संघीय सरकारले प्रयोगशालाका लागि आवश्यक बजेटको व्यवस्था नगरेपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डाक्टर जितेन्द्र श्रेष्ठले जानकारी दिए । ‘संघीय सरकारको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको एलएमबिआइएस प्रविष्ठ गरिसकेको बजेटसमेत हटाएको छ,’ डाक्टर श्रेष्ठले भने, ‘संघ सरकारले चालु आर्थिक वर्षका लागि बजेट नपठाउँदा प्रयोगशालाको कार्यक्षेत्र भित्र पर्ने कर्णाली र लुम्बिनी प्रदेशका सबै १६ जिल्लामा प्रवाह गरिदै आएका (मौखिक परामर्श लगायत खर्च नलाग्ने) सेवा बाहेक अन्य सम्र्पूण सेवा सोमबारदेखि बन्द भएका छन् ।’

अहिले पशुपंछीमा लम्पी स्किन लगायतका रोगले महामारीको रुप लिएको अवस्थामा प्रयोगशाला बन्द गर्नुपर्ने अवस्था आएपछि यसको गम्भिर असर पर्ने डा. श्रेष्ठले बताए । यस विषयमा बुझ्न खोज्दा संघीय कृषि तथा पशु विकास मन्त्रालयका महानिर्देशक डाक्टर सम्झना कुमारी काफ्ले पाण्डेसँग फोन सम्पर्क हुन सकेन । पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिको लागी विभिन्न रोगहरु बाधक हुने हुँदा पशुपंक्षी जन्य रोगहरुलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परिक्षण गरी समयमै औषधी, उपचार तथा रोकथामका बिधीहरु अपनाई रोग उन्मुलन गर्ने उद्देश्यले प्रयोगशालाको स्थापना गरिएको भएपनि संघ सरकारको उपेक्षाले सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सूचना अधिकारी डाक्टर श्रेष्ठले जानकारी दिए ।

डाक्टर श्रेष्ठका अनुसार प्रयोगशालाबाट नियमित रुपमा संचालित प्रयोगशाला सेवा कार्यक्रम अन्र्तगत परजिबी पहिचान, प्याथोलोजी सेवा, माईक्रोबाइलोजी सेवा तथा मलीकुलर बाईलोजी सेवा प्रमुख हुन् । यसका साथै नियमित रोग सर्भिलेन्स, ईपिडेमिक रोग अन्वेषण पनि नियमित रुपमा हुदै आईरहेको छ । जसको फलस्वरुप बर्ड फ्लु जस्ता माहामारी रुपमा देखा पर्ने सिमा विहिन पशु रोगहरुको समयमै सहि रुपमा रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग पुगिरहेको डाक्टर श्रेष्ठको भनाई छ ।

यस विषयमा संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा बताउँछन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालासँग यसअघि केही आपतकालीन रोगबाहेक अन्य बजेट संघीय सरकारले नै विनियोजन गर्ने गरेको थियो । तर, यसपटक संघीय सरकारले बजेट व्यवस्थापन नगरेको र अब प्रदेश समन्वय परिषद्को बैठक बसेर यस विषयमा छलफल गरिने मन्त्री शर्माले बताए ।

‘विगतमा हामीले सहकार्य गर्ने गरेका थियौँ । अहिले संघीय सरकारले बजेट नै विनियोजन गरेन,’ शर्माले भने, ‘यस विषयमा संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ संघीय सरकारबाट नै सञ्चालित भएको कार्यालय भएकाले यसअघि कुनै रोगको प्रकोप देखिँदा आफूहरूले सहकार्य गर्ने गरेको तर अहिले बजेटको अभावको विषयमा कुनै जानकारी नभएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । ‘यो संघीय मन्त्रालयबाट सञ्चालन भएको कार्यालय हो,’ कठायत भन्छन्, ‘यो विषयमा कुनै जानकारी नै भएन । यो संघीय सरकारसँग सम्बन्धित कार्यालय हो ।’

तपाईको प्रतिक्रिया