पुनम वि.सी.
सुर्खेत, २१ साउन ।
यसअघि काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको दिवा खाजामा अर्गानिक उत्पादनलाई समावेश ग¥र्यो । रैथाने बाली प्रवद्र्वन गर्ने उद्देश्यले महानगरपालिकाले विद्यार्थीलाई रैथाने बालीबाट बनेका परिकारहरु दिवा खाजामा समावेश गरेको थियो ।
दिवा खाजामा रैथाने बालीको प्रयोगले बालबालिकामा कुपोषणको समस्या हटाउन मद्दत गर्नुका साथै स्वस्थ्यकर हुने हुँदा महानगर पालिकाले तीन हजार चार सय जना विद्यार्थीलाई रैथाने बालीको खाजा खुवाएको थियो । यसका साथै स्वदेशकै उत्पादनमा समेत टेवा पुग्ने उद्देश्यले महानगरपालिकाले दिवाखाजामा रैथाने बालीका परिकार खुवाएको हो । कर्णाली प्रदेशको हुम्लामा उत्पादित सिमी, चिनो, फापर र कागुनोको परिकारहरु विद्यार्थी माझ पस्कन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महानगरपालिकासँग सहकार्य गरेको थियो ।
कम्पनीको बागमती प्रादेशिक कार्यालय मार्फत काठमाडौं महानगरपालिकाले हालसम्म करिव १५ क्विन्टल रैथाने कृषि उपज खरिद गरिसकेको छ । कम्पनीको कर्णाली स्थित प्रादेशिक कार्यालयले हुम्लाबाट खरिद गरेको रैथाने उत्पादनहरु काठमाडौं पठाएको हो ।
२०७९/०८० मा कम्पनीले हुम्लाको सिमकोट गाउँपालिकाका किसान मार्फत ७३ क्विन्टल बढी रैथाने उत्पादनहरु खरिद गरेको थियो । सो मध्ये ७१ दशमलव ७० क्विन्टल रैथाने उपज काठमाडौंका लागि पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख महादेव मिश्रले जानकारी दिए ।
कम्पनीले हाल सिमकोट गाउँपालिकाबाट रैथाने उत्पादन खरिद गरिरहेको छ । पालिकाले किसानहरुबाट सोझै खरिदको व्यवस्था मिलाएका छन्, कम्पनीले भने पालिकासँग उत्पादन खरिद गर्छ । ‘हामीले पालिकासँग सम्झौता गरेका छौँ । त्यहिबाट खरिद हुन्छ’, मिश्रले भने ।
२०७९/०८० मा मात्र सिमकोट गाउँपालिकाबाट खरिद भएको १५ दशमलव ३१ क्विन्टल सिमी काठमाडौंमा बिक्रिका लागि पु¥याइएको थियो । त्यसैगरी २५ दशमलव ९३ क्विन्टल चिनो, १९ दशमलव पाँच क्विन्टल फापर र १२ दशमलव ४१ क्विन्टल कागुनो कम्पनीले काठमाडौंमा पु¥याएको छ । हुम्लाबाट खरिद भएका कर्णालीका रैथाने कृषि उपजहरु काठमाडौंमै प्रशोधन र प्याकेजिङको व्यवस्था गरिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।
काठमाडौंमा कर्णालीको रैथाने उत्पादनको माग राम्रो छ । माग बढ्न थालेपछि कम्पनीले हुम्ला सहित जुम्ला, मुगु लगायतका जिल्लाबाट समेत रैथाने उत्पादन खरिद गर्ने योजना बनाएको छ । हाललाई भने हुम्लाका सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकासँग समेत रैथाने उत्पादन खरिदको सम्झौता भईसकेको उनले बताए ।
मूल्य निर्धारण भएपछि किसानलाई सहज
पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सर्केगाड गाउँपालिकासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार गाउँपालिकाले कम्पनीलाई सात प्रकारका रैथाने बाली किसानबाट खरिद गरेर उपलब्ध गराउनु पर्नेछ ।
किसानबाट खरिद गरी गाउँपालिकाले पहिलो चरणमा चिनो, कागुनो, र फापर पाँच–पाँच हजार क्विन्टल तथा सिमी दश हजार क्विन्टल कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ । सर्केगाड गाउँपालिकामा उत्पादन भएका रैथाने बालीका लागि जिल्ला प्राथमिक खरिद समितिले चिनोको चामललाई प्रतिकेजी एक सय २५ रुपैयाँ मुल्य निर्धारण गरेको छ ।
त्यसैगरी कागुनोको चामल प्रतिकेजी एक सय ३५ रुपैयाँ, फापर प्रतिकेजी ८५ रुपैयाँ र सिमी प्रतिकेजी एक सय ४५ रुपैयाँ मुल्य निर्धारण गरेको हो । अदानचुली गाउँपालिकासँग समेत कम्पनीले अघिल्लो वर्ष २०७९ माघ २९ गते सम्झौता गरिसकेको छ । अदानचुली गाउँपालिकासँग पहिलो चरणमा कम्पनीले चिनो, कागुनो, मास र सिमी क्रमशः २०, १०, ३० र एक सय किवन्टल भन्दा बढी उपलब्ध गराउने सम्झौता गरेको छ ।
रैथाने बाली उत्पादनमा आकर्षण बढ्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एकमुष्ट रुपमा आफ्ना उत्पादन बिक्रि गर्न सकिने भएपछि सिमकोट गाउँपालिकाका किसानलाई समेत सहज भएको छ । यसअघि धेरै परिमाणमा खरिद गर्ने व्यवसायीको अभावका कारण किसानहरु रैथाने उपज खेती तर्फ आर्कषित थिएनन् ।
२०७९/०८० मा सिमकोटबाट कम्पनीले एक सय ५० रुपैया केजिमा सिमी, एक सय ७० रुपैयाँ केजिमा चिनो, ९० रुपैयाँ केजिमा फापर र एक सय ७० रुपैयाँ केजिमा कागुनो खरिद गरेको थियो । खरिद भएका कृषि उपजहरुको ढुवानीका लागि मात्र प्रति केजि ४५ रुपैयाँ खर्च भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत स्थित प्रादेशिक कार्यालयका प्रमुख मिश्रले जानकारी दिए ।
प्रशोधन र प्याकेजिङपछि काठमाडौंमा कम्पनीले हाल दुई सय ६० रुपैया प्रतिकेजि चिनो र कागुनो तथा एक सय ५० रुपैयाँ केजि फापर बिक्रि गरिरहेको छ । सिमकोट गाउँपालिकाका किसानलाई रैथाने उत्पादन बिक्रि सहज भएपछि अहिले गाउँपालिकामा रैथाने बालीले ढाकेको क्षेत्रफल समेत बढ्न थालेको छ ।
पालिकामा यसअघि तीन सय हेक्टर जमिनमा रैथाने बाली खेती भईरहेको थियो । ‘पहिलेको भन्दा अहिले रैथाने बालीले ढाकेको क्षेत्र पनि बढिरहेको हामीले महशुस गरिरहेका छौँ’, सिमकोट गाउँपालिकाका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले भने, ‘अहिले समय भनेको रैथाने बाली लगाइसकेको समय हो । पहिलेभन्दा अहिले धेरै नागरिकको रैथाने बाली उत्पादनमा आर्कषण बढेको पाएका छौँ ।’
पालिकामा रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन समेत गरिएको शाहीले बताए । यसअघि बिक्रिका आधारमा पालिकाले किसानलाई सिमीमा प्रति केजि ५० रुपैयाँ र अन्य बालीमा भने प्रतिकेजि १० रुपैयाँ प्रोत्साहन रकम समेत उपलब्ध गराउदै आएको शाहीले जानकारी दिए ।
युग संवाददाता । । २१ श्रावण २०८०, आईतवार ११:४१