सुर्खेत, २७ साउन ।
साउनको पहिलो हप्ता गुर्भाकोट नगरपालिका–५, पोखरीपाटा निवासी मनिसा मगर विरामी परिन् । मेहलकुना अस्पतालमा उपचारका लागि पुगेकी उनलाई तत्काल प्रदेश अस्पताल उपचारका लागि पुग्न भनियो । रातीको समय भएकाले अन्य सार्वजनिक सवारी साधान पनि उपलब्ध भएनन् ।
सुत्केरी व्यथा लागेकी उनलाई सुरक्षित साथ प्रदेश अस्पताल ल्याउनु थियो । उनका अभिभावकहरुले एम्बुलेन्सको खोजी गर्न थाले । मेहलकुना अस्पतालमा रहेको एम्बुलेन्स सो समयमा उपलब्ध भएन । अन्य एम्बुलेन्सका चालकहरुको फोन नंम्वर खोज्न थालेपनि उनीहरुसँग समयमा सम्पर्क हुन सकिरहेको थिएन । अन्त्यमा अस्पतालका कर्मचारीहरुले नै ‘१०२’ नम्वरका वारेमा जानकारी दिएपछि, तत्काल एम्बुलेन्सको जोहो भयो ।
कर्णालीमा हालको समयमा एकद्वार प्रणाली मार्फत एम्बुलेन्स सञ्चालन हुन थालेपछि नागरिकहरुलाई सहज भएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक समयमा नागरिकलाई एम्बुलेन्समा पहुँच बढाउन अहिले ‘१०२’ नम्वर सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य अवस्था नाजुक भएका वा गम्भिर चोटपटक लागेका विरामीको अवस्थालाई स्थिर राख्दै तत्काल उपयुक्त स्वास्थ्य संस्थासम्म पु¥याउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले गत असार २७ गतेदेखि नै एम्बुलेन्स सेवालाई एकद्वार प्रणाली मार्फत सञ्चालन गरिरहेको छ ।
हाल करिव १५ वटा एम्बुलेन्सहरु यो प्रणालीमा जोडिएका छन् । नागरिकलाई आवश्यक समयमा ‘१०२’ नम्वरमा फोन सम्पर्क गरेपछि त्यहाँका कर्मचारीले नजिक भएको एम्बुलेन्सलाई सेवामा पठाउने व्यवस्था गर्छन् ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका नै बनाएर हाल देशैभर एम्बुलेन्सहरुलाई एकद्वार प्रणली मार्फत सञ्चालन गरिरहेको छ । सोहि अनुसार कर्णालीमा समेत यो सेवा सुरु गरिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताए ।
यसमा एम्बुलेन्सहरु १०२ नम्बरबाट मात्रै चल्ने, स्वास्थ्य संस्थाबाट मात्र सञ्चालन हुने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त, छिटो, छरितो एवम् पारदर्शी बनाउने लगायतका विषयहरु समावेश भएको उनले बताए ।
एकद्वार प्रणाली मार्फत एम्बुलेन्स सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । एम्बुलेन्सहरु सञ्चालनका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको उनले जानकारी दिए ।
‘स्वास्थ्य सेवा प्रवाह गर्ने निकायले कुनै एउटा मात्र समस्या भन्दा समग्र स्वास्थ्य समस्यामा संरचनालाई तयार पार्ने हो । जुनसुकै स्वास्थ्य समस्याका लागि यसलाई उत्तिकै महत्व दिन आवश्यक छ । अव कर्णालीका नागरीकले तिन अंकको टेलिफोन नम्बर १०२ मा फोन गर्दा एम्बुलेन्स सहजै रुपमा प्राप्त गर्न सक्छन्’, उनले भने ।
जुनसुकै समयमा पनि नागरिकले एम्बुलेन्सलाई फोन गर्दा बिरामीलाई तत्काल अस्पताल पु¥याउने व्यवस्था छ । अहिले सुर्खेत र दैलेखका नागरीकले मात्र यस प्रकारको एम्बुलेन्स मार्फत सेवा पाउने र कर्णालीका जिल्लाहरुमा चाडैँ नै यस प्रकारको एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
युग संवाददाता । । २७ श्रावण २०८०, शनिबार ०५:१८