छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने

नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ ।

बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई,गोरु र घोडा खच्चडलाई शनिबार बिहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई,गोरु र ३२ वटा घोडा, खच्चडलाई कान्जीहाउस पु¥याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए ।

नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकीकृत गरेर एकसाथ कान्जीहाउस पु¥याइएको थियो। नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पु¥याएको हो ।
त्यसक्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए ।

छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि सँगसँगै पुगेका थिए। कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारीसमेत लिएका छन् ।

नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरूको राम्रोसँग रेखदेख गर्न निर्देशन दिए । उनले पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

भोलि कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने विष्टले बताए। त्यसका लागि पशु शाखालाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।

छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगञ्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ । नगर प्रमुख विष्टसँगै प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायत कान्जीहाउस पुगेका थिए ।

तपाईको प्रतिक्रिया