अन्तर्राष्ट्रिय साक्षरता दिवस

नीतिमै सिमित रह्यो साक्षर घोषणा अभियान

सुर्खेत । हालसम्म पनि कर्णाली प्रदेश साक्षर घोषणा भएको छैन । यसअघि २०७४-०७५ मा कर्णाली प्रदेश सरकारले पाँच वर्षभित्र कर्णालीलाई साक्षर घोषणा गर्ने जनाइएको थियो ।

कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गर्दै तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साक्षर घोषणाका लागि स्थानीय तहसँग समन्वय गरी ‘कार्य मोडालिटी’ निर्माण गरिने जनाएका थिए । उनले भनेका थिए, ‘आगामी पाँच वर्षभित्र यस प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने अभियानलाई सफल तुल्याउन अनौपचारिक शिक्षा एवं साक्षरता अभियान सम्बन्धी कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गरी कार्य मोडालिटी तथा कार्य पद्दति निर्माण गरिनेछ ।’

सो घोषणा पछि प्रदेश सरकारले साक्षर प्रदेश कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममा वर्षेनि समेट्दै आएको छ । तर हालसम्म पनि कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा भएका छैनन् । साविक कर्णाली अञ्चलका मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पा जिल्लाहरु हालसम्म पनि साक्षर घोषणा भएका छैनन् ।

कुुन जिल्ला कहिले ?

कर्णालीका जिल्लाहरु मध्ये सुर्खेत सबैभन्दा पहिले साक्षर घोषणा भएको जिल्ला हो । नेपालमा साक्षरता अभियान सुरु भएको २७ वर्षपछि सुर्खेतलाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

२०७२ जेठ १२ गते सुर्खेतलाई साक्षर घोषणा गरिएको हो । २०४५ सालमा पहिलो पटक सुर्खेतबाट सघन साक्षरता कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रम प्रभावकारी भएपछि तत्कालिन शिक्षा मन्त्रालयले आफनो कार्यक्रममा राखेर देशब्यापी रुपमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

तीन दशक भन्दा बढी समय पहिले मैनतडाबाट सुरु भएको साक्षरता अभियानले लामो समयपछि पूर्णता पाएको हो ।

१५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेपछि सुर्खेतलाई साक्षर घोषणा गरिएको थियो । सोपछि कर्णाली प्रदेशमा जाजरकोट, सल्यान, रुकुम पश्चिम र दैलेख जिल्ला साक्षर घोषणा भईसकेका छन् ।

सर्दैछ घोषणा मिति

आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममा समेत तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने विषय समावेश भएको थियो । यस आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो ।

अभियान सुरु भएको पहिलो वर्ष प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई प्रोत्साहन स्वरुप एक करोड ७० लाख रुपैयाँ बजेट दिइएको थियो । पुनः आव २०७६-७७ मा प्रदेश सरकारले दुई वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने नीति लिए पनि उक्त कार्यक्रम पनि अघि बढ्न सकेको छैन । २०८०-०८१ मा समेत कर्णाली प्रदेश सरकारले प्रदेश घोषणाको विषयलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

‘संघ र स्थानीय तहसँगको समन्वय र सहकार्यमा कर्णाली प्रदेशलाई पूर्णसाक्षर प्रदेश घोषणा गर्ने व्यवस्था मिलाएको छु’, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ ।

हालको समयमा स्थानीय तहहरुले पालिकालाई साक्षर घोषणा गर्ने तयारी गरिरहेको र प्रदेशबाट समेत समन्वयकारी भुमिका निर्वाह गरिरहेको शिक्षा विकास निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक दीपा हमालले बताइन् ।

हाल संघीय सरकारले समेत पालिकालाई साक्षर घोषणा गर्नका लागि कार्यक्रम तथा बजेटको व्यवस्था गरेको हुँदा २०८०-०८१ मै पालिकाहरुले घोषणा गरेपछि जिल्लालाई साक्षर घोषणा गरिने उनले जानकारी दिइन् ।

कर्णालीमा ७६ प्रतिशत साक्षरता

राष्ट्रिय जनगणना, २०७८ का अनुसार कर्णाली प्रदेशको साक्षरता दर ७६ दशमलव एक प्रतिशत छ ।

यहाँ महिलामा ६९ दशमलव चार र पुरुषमा ७८ दशमलव तीन प्रतिशत साक्षरता दर रहेको जनगणनाले जनाएको छ । जवकी नेपालको कुल साक्षरता दर ७६ दशमव दुई प्रतिशत हो । प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै साक्षरता दर रहेको छ । यहाँ सबैभन्दा धेरै ८२ दशमलव एक प्रतिशत साक्षरता दर छ । त्यसैगरी मधेश प्रदेशमा भने ६३ दशमलव पाँच प्रतिशत मात्र साक्षरता दर रहेको जनगणनाले जनाएको छ । प्रदेशगत रुपमा मधेश प्रदेश सबैभन्दा न्युन साक्षरता दर रहेको प्रदेश हो ।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार जिल्ला गत रुपमा साक्षरता दर हेर्दा सबैभन्दा कम साक्षरता दर हुने जिल्लामा हुम्ला चौथो स्थानमा पर्छ । हुम्लामा ६३ दशमलव ८४ प्रतिशत साक्षरता दर रहेको छ । यहा ७३ दशमलव ३५ प्रतिशत पुरुष र ५४ दशमलव २६ प्रतिशत महिला साक्षर रहेको जनगणनाले जनाएको छ ।

आज साक्षरता दिवस

सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वःस्फूर्त रूपमा मनाउने गर्दछन् ।

‘संक्रमणमा रहेको विश्वको लागि साक्षरता प्रर्वद्धनः दिगो र शान्तिपूर्ण समाजका लागि आधार निर्माण’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजनाका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईदैछ ।

तपाईको प्रतिक्रिया