वीरेन्द्रनगरमा रात्रिकालिन व्यवसाय सञ्चालन तयारी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका अहिले स्थानीय बजार व्यवस्थापनमा जुटेको छ । यसका लागि नीतिगत व्यवस्थापन तर्फ वीरेन्द्रनगरमा रात्रिकालिन पसल तथा आकस्मिक सेवा सञ्चालन मुख्य विषय बनेको छ ।

वीरेन्द्रनगरमा हाल साँझ ८ बजेपछि आकस्मिक सेवा पाउन मुस्किल पर्छ । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमै रात्रिकालिन समयमा आकस्मिक सेवाहरु उपलब्ध नभएपछि यहाँका स्थानीय तथा रातिको समयमा वीरेन्द्रनगर आउँने यात्रुहरुले सास्ती पाईरहेका छन् ।

यसै अवस्थालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिका अहिले स्थानीय बजार व्यवस्थापनका लागि जुटेको छ ।

राती ९ बजेदेखि विहान ५ बजेसम्मलाई बजार सञ्चालनका लागि पालिकाले कार्यविधि नै निर्माण गरेर अघि बढ्दै छ । नगर कार्यपालिकाले यसै वर्षको चैत्र मसान्तसम्ममा कार्यविधि निर्माण गर्ने योजना छ ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्रमा प्रकाशित गरी १७ वटा अत्यावश्यक सेवाको व्यवस्था गरेको छ ।

संघीय सरकारको अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ का अधिनमा रहेर नगरपालिकाले यसअघि नै ‘वीरेन्द्रनगर बजार व्यवस्थापन, अनुगमन, तथा उपभोक्ता हित संरक्षण ऐन, २०७६’ जारी गरिसकेको छ । यसका साथै यस सम्बन्धि नियमावली समेत पालिकाले जारी गरिसकेको अवस्था छ ।

रात्रिकालिन पसल तथा आकस्मिक सेवा सञ्चालन गर्ने सम्बन्धी कार्यविधि बनेपछि क्रमिक रुपमा वीरेन्द्रनगरमा रात्रिकालिन व्यवसायहरु सञ्चालन हुनेछन् । त्यसैगरी स्थानीय बजार व्यवस्थापन तर्फ क्षमता अभिवृद्धि, अनुगमन, नीतिगत व्यवस्था, बजार व्यवस्थापन, समन्वय, अध्ययन, अनुसन्धान र अभिलेख तथा गुनासो सुनुवाई पालिकाको कार्ययोजनामा रहेका छन् ।

कस्ता सेवा उपलब्ध हुन्छन् ?

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ मा १८ वटा सेवाहरुलाई अत्यावश्यक सेवाका रुपमा वर्गिकरण गरिएको छ ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरु मध्य यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा, पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा, पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा तथा बैंकिङ सेवा अत्यावश्यक मुख्य सेवा भित्र पर्छन् ।

डाँक, तार वा टेलिफोन सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवालगायतका सेवा उपलब्धताका लागि शहर विकासका क्रममा अत्यावश्यक सेवा अन्र्तगत पर्छन् । यसैगरी अत्यावश्यक सेवामा सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल, स्वास्थ्य केन्द्र र औषधी निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा, बिमा सेवा, विद्युत सेवा दैनिक उपभोग्य वस्तुहरूको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा समेत अत्यावश्यक सेवामा पर्छन् ।

अत्यावश्यक सेवा मध्यका नागरिकसामु प्रत्यक्ष, तत्काल प्रभाव राख्ने माथी उल्लेखित यातायात सेवा, पर्यटन सेवा, पेट्रोलियम पदार्थको सेवा र बैंकिङ सेवा हालको समयमामा वीरेन्द्रनगरमा साँझ आठ बजेदेखि सहजै उपलब्ध हुदैनन् ।

सुरक्षित स्थान छनौट हुनेछ

रात्रिकालिन व्यवसाय तर्फ भने वीरेन्द्रनगर नगरपालिकाले यसपछि सुरक्षित स्थान छनौट गर्नेछ । यसका लागि पालिकामा थप गृहकार्यहरु बाँकी रहेको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख तथा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति संयोजक निलकण्ठ खनालले जानकारी दिए । एटिएम सञ्चालन, होटलको व्यवस्थापन, यातायातको व्यवस्थापन लगायतका अत्यावश्यक सेवाहरु सुरक्षित स्थानबाट रात्रिकालिन समयमा नागरिकले उपभोग गर्न पाउनेछन् ।

संघीय सरकारसँगको सहकार्यमा स्थानीय बजार वयवस्थापन तथा रात्रिकालिन व्यवसाय सञ्चालन हुने उप–प्रमुख खनालले जानकारी दिए ।

उनले भने, ‘कार्यविधि नै कहिलेसम्म बन्ने भन्ने टुंगो छैन । ऐनमा भएका समस्याका कारण पनि केहि समय लाग्न सक्छ । बजार व्यवस्थापनका विषयमा हामीसँग प्राविधिक जनशक्तिको समेत अभाव छ । यसका लागि ल्याव पनि आवश्यक पर्छ । हामी समन्वय गरिरहेका छौँ ।’

तपाईको प्रतिक्रिया