संविधान दिवसमा कर्णालीबाट ४४ जना कैदीबन्दी रिहा

सुर्खेत । कर्णालीमा कारागारहरुबाट ४४ जना कैदीबन्दीहरु रिहा भएका छन् । संविधान दिवस २०८० असोज तीन गतेको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली, २०७६ अनुसार बुधवार उनीहरूको कैद कट्टा गरेका हुन् ।

मुलुकी अपराध संहिता कार्यान्वयन हुनु अगाडिका मुद्दामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ ।

रिहा हुनेहरुमा ६ जना महिला रहेका छन् भने ३८ जना पुरुष रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

‘कर्णाली प्रदेशका १० जिल्ला मध्ये ६ जिल्लाका कारागारबाट ४४ जना कैदीबन्दी रिहा भएका हुन् । कालिकोट, मुगु, हुम्ला र डोल्पाबाट भने रिहा भएका छैनन्’, उनले भने ।

संविधानको धारा २७६, फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था रहेको छ ।

कहाँ कति रिहा ?

सुर्खेत कारागारबाट मात्रै २१ जना कैदीबन्दी रिहा भएका छन् । रिहा हुनेहरुमा बहुविवाह मुद्दाका कैदीहरु बढि रहेका छन् ।

रुकुम कारागारमा रहेका आठ जना कैदीबन्दी रिहा भएका छन् । कैदमुक्त हुनेहरुमा रुकुम पश्चिमका पाँच जना र रुकुम पूर्वका तीन जना रहेका छन् ।

त्यसैगरी दैलख कारागारबाट रिहा हुनेहरुमा ६ जना छन् । दैलेख कारागारबाट रिहा भएका कैदीमध्ये चोरी मुद्दामा एक जना रहेका छन्, बहुविवाह मुद्दामा पाँच जना रहेका छन् । बहुविवाह मुद्दाका मात्र एक महिला र चार जना पुरुष रिहा भएको जिल्ला कारागार, दैलेखले जानकारी दिएको छ ।

यस्तै जाजरकोट कारागार बाट दुई कैदीबन्दी रिहा भएका छन् । भुक्तानी गर्न बाँकी रहेको सजाय राष्ट्रपतिको कार्यालयले मिनाहा गरिदिएपछि कर्तव्य ज्यान र बहुविवाह कसुरमा सजाय भोगिरहेका दुई पुरुष रिहा भएका हुन् ।

यसैगरी सल्यान कारागारबाट चार जनाको कैद मिनाहा भएको छ । ठगी मुद्धाका दुई विदेशी नागरिक सहित चार जना कैदीको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार, सल्यानका कार्यालय प्रमुख भिम बहादुर घर्तीले जानकारी दिए ।

यसैगरी जुम्ला कारागारबाट तीन जना कैदीबन्दी रिहा भएका छन् । ठगी मुद्दामा दुई र कर्तव्य ज्यान मुद्धामा एक जना रहेका छन् । जसमा एक जना महिला र दुई जना पुरुष रहेको जुम्ला कारागार प्रमुख विष्णु महतले जानकारी दिए ।

रिहा हुनेहरुमा सुर्खेतमा को–को छन् ?

सुर्खेत कारागारबाट रिहा हुने २१ जना मध्ये बहुविवाह मुद्दाका संगिता विक, मनिषा विक, राजु विक, ज्ञानबहादुर सलामी, जितेन्द्र विसी, विमला थापा (रुपसरा), छलिकुमारी थापा (शुस्मा) र रामचन्द्र चपाई रहेको जिल्ला कारागार सुर्खेतका सुचना अधिकारी भुवन गौतमले जानकारी दिए ।
त्यसैगरी चोरी मुद्दाका गणेश विक, शेरबहादुर सार्की र राजेन्द्र बस्नेत रिहा भएका छन् । सवारी ज्यान मुद्दाका धनबहादुर शाही, पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा टंकप्रसाद उपाध्याय र बलबहादुर सिंह रिहा भएको उनले जानकारी दिए ।
कुटपिट तथा अंगभंग मुद्दाका नरेन्द्र केसी, राजेन्द्र विष्ट र जगत बस्नेत रिहा भएका छन् । डाँकाचोरी मुद्दाका युवराज चपाई र भागिराम चौधरी रिहा भएको उनले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका डम्बरीकुमारी कुँवर भन्डारी रहेका छन् र चोरी मुद्दाका जीवन नेपाली रिहा भएका छन् । यस्तै रुकुम कारागारबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ का गोविन्द कामी, सोही गाउँपालिका–३ का लोकबहादुर बिक, मुसिकोट नगरपालिका–९ का शुकलाल दमाई, त्रिवेणी गाउँपालिका–७ का दिपक कुमार डाँगी र आठविसकोट नगरपालिका १२ का शुशिल डाँगी कैदमुक्त भएका हुन् । त्यसैगरी रुकुम पूर्वको भूमे गाउँपालिका–६ का भविष्य केसी, सोही गाउँपालिका–१ का भागप्रताप बुढा र वडा नम्वर–५ का कर्णबहादुर गुरुङको बाँकी कैद मिनाह भएको रुकुम कारागार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया