कर्णालीमा करदाता बढेपनि राजस्व संकलन भने घट्यो

सुर्खेत । सुर्खेतमा राजस्व संकलन रकम घट्न थालेको छ । विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा आन्तरिक राजस्व कार्यालय, सुर्खेतमा राजस्व संकलन घट्न थालेको देखिएको छ ।

२०७९-०८० मा एक अर्व ७० करोड ८९ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत टेकराज थापाले जानकारी दिए । त्यसअघि २०७८-०७९ मा कार्यालयले एक अर्व ७३ करोड ६७ लाख ५४ हजार रुपैयाँ संकलन गरेको थियो । २०७७-०७८ मा दुई अर्व १३ करोड २६ लाख ८३ हजार रुपैयाँ संकलन भएको कर अधिकृत थापाले जानकारी दिए ।

विगत पाँच वर्षको समयमा कार्यालयले आठ अर्व ३४ करोड ६७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यसअघि आर्थिक वर्ष २०७७-०७८ मा दुई अर्व १३ करोड २६ लाख ८३ हजार रुपैयाँ संकलन गरेको थियो । यो नै पाँच वर्षको समयमा सबैभन्दा धेरै राजस्व संकलन भएको आर्थिक वर्ष हो । त्यसैगरी पाँच वर्षको तुलनामा सबैभन्दा न्यून संकलन २०७५-०७६ आर्थिक वर्षमा भएको थियो । यस आर्थिक वर्षमा एक अर्व २५ करोड ४८ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ । २०७६-०७७ मा एक अर्व ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ संकलन भएको कर अधिकृत थापाले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०-०८१ को हालसम्ममा आन्तरिक राजस्व कार्यालयले २७ करोड ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए ।

५ वर्षमा चार अर्व आयकर उठ्यो

आन्तरिक राजस्व कार्यालय, सुर्खेतमा राजस्व संकलन तर्फ सबैभन्दा धेरै आयकर संकलन हुन्छ । पाँच वर्षको अवधिमा सुर्खेतमा आयकर तर्फ चार अर्व ८९ करोड १९ लाख ९२ हजार रुपैयाँ संकलन भएको थियो ।

त्यसैगरी स्वास्थ्य सेवा तर्फ सात लाख ८७ हजार रुपैयाँ, घरभाडा कर तर्फ २८ करोड २२ लाख ९७ हजार रुपैयाँ, राजस्व (आन्तरिक) कर तर्फ दुई अर्व ८५ करोड ९९ लाख ८३ हजार रुपैयाँ, अन्तःशुल्क (आन्तरिक) तर्फ १० करोड ६८ लाख १३ हजार रुपैयाँ, स्वास्थ्य सेवा तर्फ सात लाख ८७ हजार रुपैयाँ र शिक्षा तर्फ ३० लाख ३६ हजार रुपैयाँ कर संकलन भएको छ ।

एक लाख बढि करदाता

सुर्खेतमा हाल एक लाख भन्दा बढी करदाताको संख्या छ । पाँच वर्षको अवधिमा करदाताको संख्या एक लाख २३ हजार आठ सय ५० जना पुगेको आन्तरिक राजस्व कार्यालय, सुर्खेतले जनाएको छ ।

अन्तःशुल्क तर्फ दुई हजार सात सय ४९ जना, आयकर तर्फ ४८ हजार पाँच सय जना, स्थाई लेखा नम्बर परिचय तर्फ ६६ हजार दुई २३ जना, राजस्व तर्फ चार हजार सात सय ४५ जना र अन्य शिर्षक गरि एक हजार ६ सय ३३ जनालाई आन्तरिक राजस्व कार्यालय सुर्खेतबाट सेवा प्रवाह गरिएको कर अधिकृत थापाले बताए ।

आर्थिक गतिविधि घट्दा राजस्व आम्दानी घट्योः कर अधिकृत थापा

विगत तीन आर्थिक वर्षमा बजारमा आर्थिक गतिविधि घटेका कारण राजस्वमा समेत प्रभाव देखिएको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत टेकराज थापाले बताए ।

उनले भने, ‘कोभिड–१९ संक्रमणकालिन समयले अर्थतन्त्रमा समेत असर पर्यो । त्यसपछि बजारमा आर्थिक गतिविधि समेत छटेको छ । त्यसैले राजस्स संकलन न्युन देखिएको हो ।’

यसका साथै सरकारले समेत करमा छुट कार्यक्रमहरु ल्याएपछि पनि राजस्व संकलन न्युन हुनु स्वभाविक भएको उनले बताए ।

कार्यालयको लक्ष्य अनुसार २०७५-०७६ मा एक सय २५ प्रतिशत, २०७६-०७७ मा ७९ प्रतिशत र २०७७-०७८ मा एक सय ४७ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए । तर २०७८-०७९ मा ८४ र २०७९-०८० मा ८३ प्रतिशत रावस्व संकलन भएको उनले जनाए ।

२०७६-०७७ यता तीन आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजस्व संकलन भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया