पौष्टिक आहारको उपलब्धता भएपनि कर्णालीका नागरिक भने कुपोषित

सुर्खेत । कर्णालीका नागरिकको पोषण अवस्थामा सुधार आउन सकेको छैन । सुक्ष्म पोषण तत्वको कमीका कारण कर्णालीका धेरै नागरिकमा भिटामीन ‘ए’ तथा जिङ्कको कमी, आइरनको कमीका कारण रक्त अल्पता मुख्य समस्याका रुपमा रहेका छन् । राष्ट्रिय स्तरको स्वास्थ्य सूचकमा समेत कर्णालीको अवस्था जोखिममा देखिन्छ ।

नेपालमा पुड्कोपन सम्बन्धि सूचक २५ प्रतिशत छ, कर्णालीमा भने ३६ प्रतिशत सूचक रहेको देखिन्छ । २० प्रतिशत भन्दा माथि रहेको सूचक उच्च जोखिममा हुन् । त्यसैगरी ख्याउटेपनको अवस्था समेत उस्तै छ । राष्ट्रिय सूचकको तुलनामा केहि कम रहेपनि कर्णालीमा अझै चार प्रतिशत नागरिकमा ख्याउटेपनको समस्या छ । राष्ट्रिय रुपमा नेपालमा ख्याउटेपनको सूचक भने आठ प्रतिशत हो ।

४० प्रतिशत बालबालिकामा कर्णालीमा रक्तअल्पताको समस्या छ । दुई वर्षमुनिका १६ प्रतिशत बालबालिकामा अझै पूर्णखोप पुगेको छैन ।

१५ देखि ४९ वर्ष उमेरका २१ प्रतिशत महिलाहरुमा समेत रक्तअल्पताको समस्या छ ।

कर्णालीमा पोषणको अवस्थामा कर्णाली कमजोर भने होइन । यहाँ उत्पादन हुने रैथाने वालीहरुको नियमित उपभोगले कर्णालीका नागरिकहरुको स्वास्थ्य सामान्य रहने सम्भावना पनि छ । तर कर्णालीवासी भने ‘असल खानपान’को अभावका कारण स्वास्थ्य समस्या छन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले भने, ‘कर्णालीमा खान नपाउने, कम खाने र बढी खाने नागरिकहरु समेत छन् । तर यहाँ स्थानीय स्तरमै उत्पादित पोषक तत्व नियमित आवश्यकता अनुसार उपभोग गर्न सकेका हामी हाम्रो स्वास्थ्यमा सुधार ल्याउन सक्छौ ।’

कर्णालीको योजना आयोगले मंगलवार एक कार्यक्रमको आयोजना गर्दै ‘असल खानपान’ नामक पुस्तक समेत बिमोचन गरेको छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले वडा स्तरसम्म असल खानपानका विषयमा सचेतना फैलाउनुपर्ने र पुस्तकले नागरिकमा खानपानका लागि सहयोग गर्ने जनाए । उनले भने, ‘हामीले बढी खाएको खाद्यान्न शरिरका लागि आवश्यक पनि होइन । आवश्यक अनुसारको खानपानले खाद्य संकट समस्या समेत टार्न सक्छ । कसैले बढी खाएको खाद्यान्न अरुले नपाएको पनि हुन्छ ।’

स्थानीय स्तरमै उपलब्ध छन् ११ थरी खाद्यान्न

योजना आयोगले सार्वजनिक गरेको असल खानपान पुस्तकमा कर्णालीमा उत्पादन हुने ११ प्रकारका खाद्यान्नलाई उपभोग गर्न सुझाव दिइएको छ ।

कर्णालीको स्थानीय स्तरमै उत्पादन हुने जौं, फापर, कागुनो, चिनो, जुनेलो, उवा, आँटा लगायतका खाद्यान्नको सेवन बढाउनुपर्ने पुस्तको सुझाव छ । त्यसैगरी मैदा, कोदो, मकै र चामल समेत आवश्यकता अनुसार भान्सामा उपभोग गर्नुपर्ने जनाइएको छ ।

यि खाद्यान्नमा शरिरलाई आवश्यक पर्ने प्राटिन, फ्याट, मिनरल, फाईवर, ईनर्जी, क्याल्सियम तथा आइरन प्रयाप्त मात्रामा उपलब्ध हुन्छन् ।

१९ हजार मेट्रिकटन खाद्यान्न अभाव

राष्ट्रिय जनगणना, २०७८ का अनुसार कर्णालीको जनसंख्या १६ लाख ९४ हजार जना बढी छ ।

यसको आधारमा कर्णाली प्रदेश योजना आयोगले भने २०७८ मा कर्णालीको जनसंख्या १७ लाख सात हजार आठ सय १३ जना रहेको अनुमान गरेको छ ।

यस आधारमा हेर्दा कर्णालीमा जनसंख्या र खाद्यान्नको उपलब्धका आधारमा अभाव नै देखिन्छ । कर्णालीमा हाल तीन लाख ३८ हजार नौं सय ३५ मेट्रिकटन खाद्यान्न आवश्यक हुने योजना आयोगको अनुमान छ । हाल भने कर्णालीमा तीन लाख १९ हजा आठ सय १८ मेट्रिकटन खाद्यान्न उपलब्धता रहेको आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया