स्याउ निर्यात गर्दै कर्णाली

तीन प्रदेशका ५ संघीय कृषि बजारहरुमा ६ सय ७३ मेट्रिकटन स्याउ पुग्यो

सुर्खेत । कर्णालीमा उत्पादित स्याउ अहिले देशभरका सबै मुख्य कृषि बजारहरुमा पुगेका छन् । खासगरी कर्णालीको जुम्ला जिल्लामा  उत्पादन भएका स्याउहरु संघीय सरकारद्वारा सञ्चालित कर्णाली प्रदेश वाहिरका ६ जिल्लाका प्रमुख कृषि बजारमा निर्यात भएको हो ।

लुम्बिनी प्रदेशको कोहलपुर कृषि बजारमा हालसम्म पाँच सय १० मेट्रिकटन स्याउ निर्यात भएको छ । त्यसैगरी बुटवल कृषि बजारमा ७० मेट्रिकटन स्याउ पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको पोखरा कृषि बजारमा ३३ मेट्रिकटन, कोशी प्रदेशको झापा कृषि बजारमा १० मेट्रिकटन र धरान कृषि बजारमा ५० मेट्रिकटन कर्णालीको स्याउ निर्यात भएको कृषि बजारहरुले जानकारी दिएका छन् ।

कर्णालीमा यस वर्ष कति स्याउ उत्पादन भयो भन्ने आधिकारिक तथ्यांक त छैन तर कृषि बजारहरुमा भएका कारोवारबाट भने स्याउको उत्पादन र निर्यात अवस्था अध्ययन गर्न सकिन्छ । वीरेन्द्रनगर स्थित कृषि बजारमा भने यस वर्ष व्यवसायीहरुले सात सय ६३ मेट्रिकटन स्याउ आयात गरेका थिए ।

कर्णालीमा जिल्लागत रुपमा उत्पादन भएका स्याउमा भने जुम्ला नै सबैभन्दा अघि छ । हालको समयमा दैलेखका केहि स्थानमा समेत स्याउ उत्पादन भई निर्यात भएको देखिएपछि मुख्यरुपमा कर्णालीको जुम्ला जिल्लामा यसको उत्पादन धेरै नै छ ।

वीरेन्द्रनगरको कृषि बजारमा मात्र आयात गरिएका स्याउको उत्पादन क्षेत्र हेर्दा जुम्लाबाट हालसम्ममा सात सय २४ मेट्रिकटन स्याउ आयात गरिएको देखिन्छ । कृषि बजारका व्यवस्थापक केशर रास्कोटीका अनुसार परिणामका आधारमा जुम्ला पछि कालिकोटबाट ३५ दशमलव पाँच मेट्रिकटन स्याउ निर्यात भएको छ । त्यसैगरी दैलेखबाट भने तीन दशमलव पाँच मेट्रिकटन स्याउ कृषि बजारका व्यवसायीहरुले आयात गरेका थिए ।

सरकारी संयन्त्रसँग जिल्लागत रुपमा स्याउ उत्पादनको निश्चित तथ्यांक भने छैन । तर जुम्लाले भने जिल्लाबाट वाहिर निर्यात भएका स्याउको विवरण राख्ने गरेको छ । हाल जुम्लामा १५ हजार मेट्रिकटन स्याउ उत्पादन भएको आंकलन रहेको कृषि विकास कार्यालय, जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । उनले भने, ‘यो वर्ष धेरै फलेको होइन । स्याउ उत्पादनमा कमी आएको हामीले महशुस गरेका छौँ । तैपनि १५ हजार मेट्रिकटन स्याउ उत्पादन भएको अनुमान छ ।’

जुम्लामा स्याउ बिक्रिका लागि तयारी गर्दै एक महिला । (तस्विर सौजन्यः कृषि विकास कार्यालय, जुम्ला)

असोज तेस्रो साताको सुरुवाती दिनसम्ममा जुम्लाले नौं हजार नौं मेट्रिकटन स्याउ निर्यात गरेको उनले जानकारी दिए ।

‘यसअघि उत्पादन भएका स्याउहरु यहाँका किसान तथा व्यवसायीले स्टोर गरेर राखेको पनि हामीले महशुस गरेका छौँ । वाहिर जिल्लाबाट जुम्ला आएका उपभोक्ता तथा जिल्लामै खपत भएको स्याउका विषयमा भने यथार्त तथ्यांक छैन । अव केहि समयमा जुम्लाको फूजी स्याउ पनि बजारमा आउछ ।’

जुम्लाबाट वाहिरिएको स्याउ नेपालका धेरै मुख्य बजारमा बिक्रि भएको तथा व्यवसायीहरुले शितभण्डारमा समेत राखेको उनले बताए ।

हुम्लामा स्याउको मुल्य तोकियो

हुम्ला जिल्लामा समेत स्याउको उत्पादन हुन्छ । तर यातायात पूर्वाधारको अभावका कारण हुम्लाको स्याउको लागि भरपर्दा बजारको व्यवस्था भएको देखिदैन । विशेषगरी हवाई मार्ग मार्फत हुम्लाको स्याउलाई व्यवसायी तथा उपभोक्ता समेतले अन्य स्थानमा पुर्याइरहेका छन् ।

अहिले हुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वयमा स्याउको मूल्य तोकिएको छ । मंगलवार बसेको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको वैठकले जिल्लामा ४० रुपैयाँ प्रतिकिलो स्याउको मूल्य तोकेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख विष्णुबहादुर मग्रातीका अनुसार जिल्लामा यसअघि गोटाका दरमा स्याउ बिक्रि वितरण भईरहेको थियो । गाउँ क्षेत्रमा प्रतिगोटा पाँच रुपैयाँ र सदरमुकाम सिमकोटमा भने प्रतिगोटा दश रुपैयाँमा स्याउ बिक्रि हुन्थ्यो ।

प्रदेश वाहिर ८८ प्रतिशत बढी मूल्य

बजार सम्भावना बोकेर कोशी प्रदेशको झापा कृषि बजारमा यस वर्ष पहिलोपल्ट कर्णालीको स्याउ पुगेको हो ।

झापाका कृषि बजार व्यवस्थापक सिताराम नेपालका अनुसार बजारका व्यवसायीले अहिले कर्णालीको स्याउ एक सय ७० रुपैयाँ प्रतिकिलो बिक्रि गरिरहेका छन् । जवकी वीरेन्द्रनगर स्थित कृषि बजारमा यहाँको स्याउको थोक मूल्य ९० रुपैयाँ प्रतिकिलो रहेको छ ।

त्यसैगरी धरानको कृषि बजारमा दोस्रो पटक कर्णालीको स्याउ पुगेको छ । यस बजारमा अहिले कर्णालीको स्याउको थोक मूल्य प्रति केजि एक सय ५० रुपैयाँ रहेको धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

पोखरा, बुटवल र कोहपुरको कृषि बजारका लागि प्रत्येक वर्ष कर्णालीको स्याउ पुग्छ । यहाँ हालको समयमा क्रमशः एक सय ५०, एक सय १० र एक सय रुपैयाँ प्रतिकिलो थोक मूल्यमा कर्णालीको स्याउ बिक्रि भईरहेको छ ।

यि बजारहरु वाहेक दाङ्ग, चितवन, काठमाडौ र सुदुरपश्चिम तथा मधेश प्रदेशका कृषि बजारमा समेत कर्णालीको स्याउ निर्यात भईरहेको कृषि बजार सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए ।

ग्रेडिङ भए बजारको समस्या छैन

कर्णालीमा खासगरी जुम्ला जिल्लामा उत्पादित स्याउलाई ग्रेडिङको व्यवस्था छ । यहाँ निजी तथा सरकारी तवरबाट समेत स्याउको ग्रेडिङका लागि पूर्वाधारहरुको व्यवस्था गरिएको छ ।

केहि दिन पहिले जुम्ला स्थित गुठिचौर एग्रो फार्म प्रालिले समेत ग्रेडिङ मेशिनको स्थापना गरेको छ । यस फार्ममा हाल ३८ हजार भन्दा धेरै स्याउका विरुवा रहेको फार्मका सञ्चालक मीनबहादुर भण्डारीले सञ्चारमाध्ययमलाई जनाएका थिए ।

त्यसैगरी सहकारी तथा सरकारी तहबाट समेत ग्रेडिङ मेशिनको उपलब्धताका लागि कामहरु भएका छन् । तर कर्णाली वाहिरका कृषि बजारहरुमा भने राम्रो ग्रेडिङ भएका स्याउहरु अझै पुग्न नसकेको गुनासोहरु प्रयाप्त छन् ।

बुटवल कृषि बजारका व्यवस्थापन डिल्लीराज पौडेलको भनाई उदृत गर्दै वीरेन्द्रनगर स्थित कृषि बजारका व्यवस्थापक केशर रास्कोटीले भने, ‘यस अघि देशैभरका सबै कृषि बजारमा कर्णालीको स्याउ पुगेको थिएन ।

अहिले भने धेरै कृषि बजारमा स्याउ पुगेको छ । यसले पनि कर्णालीको, खासगरी जुम्लाको स्याउको माग बढाएको देखिन्छ । तर राम्रो ग्रेडिङको अभावले भने अझै माग अनुसार निर्यातमा समस्या नै भएको हो ।’

कर्णालीमा खासगरी तीन तहमा स्याउको ग्रेडिङ गर्ने गरिन्छ । ‘ए’, ‘बि’ र ‘सि’ नामाकरण हुने स्याउहरुको आफ्नै विशेषता रहेका हुन्छन् ।

फलको तौल तथा रंग लगायत आकारले स्याउलाई ग्रेडिङ गर्ने गरिन्छ । कर्णाली तथा यहाँका किसानले ग्रेडिङमा ध्यान दिएर उत्पादन निर्यात गर्न सके कर्णालीको स्याउले बजार विस्तारमा तिब्रता लिने उनको भनाई छ ।

बजार मूल्य समेत स्थिर

बजारमा मौसमी रुपमा कर्णालीको स्याउले करिव तीन महिना उपस्थिती जनाउँछ । खासगरी भदौ, असोज र कार्तिक महिना कर्णालीको स्याउका लागि बजारमा प्रशस्तै स्थान पाउछ । यो समयमा अन्य मुलुकबाट नेपालमा समेत न्युन मात्रामा स्याउ आयात हुन्छ ।

विगत तीन महिनाको स्याउको मुल्य हेर्दा कर्णालीको स्याउले बजारमा स्थिर मुल्य पाएको देखिन्छ । साउन महिना स्याउ उत्पादनका लागि विशेष महिना नभएपनि कृषक तथा व्यवसायीहरुले यस समयमा बजार भाउ उच्च हुने लोभले बजारमा स्याउ पठाउछन् ।

वीरेन्द्रनगर स्थित कृषि बजारमा बिक्रि वितरणका लागि जुम्लाबाट आईपुगेको स्याउ । (तस्विरः पुनम वि.सी./युगआह्वान)

२०८० को साउन १० गते कर्णालीको स्याउको बजारमा थोक मूल्य एक सय ३५ रुपैयाँ थियो । अहिले पनि स्याउले ९० रुपैयाँ प्रतिकिलो बजार मुल्य पाईरहेको छ । यो तथ्यांक वीरेन्द्रनगर स्थित कृषि बजारको हो ।

बजारमा १० दिनको अन्तरालमा स्याउको मुल्य हेर्दा साउन २० गते एक सय १२ रुपैयाँ, साउन ३० गते ९५, भदौ १० गते पनि ९५ रुपैयाँ र भदौ २० गते एक सय तीन रुपैयाँ सरदर प्रतिकिलो थोक मुल्य थियो ।

त्यसैगरी भदौ ३० गते समेत एक सय तीन रुपैयाँ, असोज ११ गते ९२ रुपैयाँ र हाल असोज १८ गते ९० रुपैयाँ प्रतिकिलो थोक मुल्य रहेको छ । विगत तीन महिनामा स्याउको बजारमुल्य हेर्दा यो मुल्य स्थिर रहेको कृषि बजारका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए ।

निर्यातको तथ्यांक व्यवस्थापन तयारी

जुम्ला वाहेकका जिल्लाबाट स्याउ निर्यात विषयमा अझैपनि आधिकारिक सरकारी तथ्यांकको अभाव नै छ । जुम्लाको कृषि विकास कार्यालयले जिल्लाको नाका स्थित प्रहरी चौकीसँग समन्वय गरेर स्याउको निर्यात तथ्यांकलाई केहि हदसम्म व्यवस्थापन गर्ने गरेको छ । तर अन्य जिल्लामा भने स्याउ लगायतका कृषि उपजको तथ्यांक व्यवस्थापन सकस नै छ ।

यता कृषि विकास निर्देशनालयले भने आगामी दिनमा कर्णालीमा उत्पादित स्याउ लगायत कृषि उपजहरुको निर्यात तथ्यांक व्यवस्थित गर्न तयारी थालेको छ । कर्णाली प्रदेशको प्रवेशद्वार हर्रे क्षेत्रमा कृषि उपजहरुको आयात र निर्यात तथ्यांकका लागि कार्यालयको व्यवस्थापन गर्ने योजना गरिएको कृषि विकास निर्देशनालय, सुर्खेतका प्रमुख तथा बरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया