विद्यालयमै सुरक्षित छैनन् बालबालिका

सुर्खेत ।

घटना–१ः आत्महत्या दुरुत्साहन मुद्धाको पीडकमा विद्यालय प्रशासन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की १३ वर्षीया बालिका भदौ २२ गते विद्यालयबाट फर्केको केहीबेरमै मृत अवस्थामा फेला परिन् । विद्यालयमा शिक्षकद्वारा कुटपिट भएको घटनापछि उनले आत्महत्या गरेको पीडित परिवारको आरोप छ ।

छोरीलाई विद्यालयमा कुटपिट गरेको बालिकाका काका यदु गौतमको आरोप छ । बालिकालाई शारीरिक एवम् मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारेको उनले बताए । गौतमले भने, ‘प्रिन्सिपलकी दिदीकी छोरी र हाम्री छोरी मिल्ने साथी थिए । उनीहरु सँगै घुम्न गएका कारण आफ्नी दिदीकी छोरीको पढाइ बिग्रिएको भनेर प्रिन्सिपलले विद्यालयका संस्थापक समेतको उपस्थितिमा हाम्री छोरीलाई कुटपिट गरेको अरुले पनि देखेका छन् ।’

बालिकाले आत्महत्या गर्नुको कारण विद्यालयमा मानसिक र शारीरिक पीडा भएको भनेर प्रहरीकोमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । छात्राको मृत्यु घटनामा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले पक्राउ समेत गरी अनुसन्धान थालेको थियो ।

सोपछि जिल्ला अदालत, रुकुम पश्चिमले उनीहरु दुवैजनालाई तीन लाख रुपैयाँ जरिवाना गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । भ्याली पब्लिक स्कुल, चौरजहारीकी संस्थापक युडेनभोटिया भण्डारी र प्रधानाध्यापक पुष्पा लामिछाने शाहका विरुद्धमा आत्महत्या दुरुत्साहनको मुद्दा जारी छ ।

घटना–२ः अनुसन्धान प्रक्रियामै छ वीरेन्द्रनगरको घटना

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका एक बालक असोज १२ गते वीरेन्द्रनगर स्थित उषा बालबाटिका विद्यालयमा मृत अवस्थामा फेला परेका थिए । अहिले यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेका आठ वर्षिय बालक दुई कक्षामा पढ्थे । बालकको मृत्यु शंकास्पद भएको भन्दै पीडित परिवारले विद्यालयमा तोडफोड गर्नुका साथै सडक आन्दोलन समेत गरेका थिए ।

विद्यायलका दुई जना संचालक पक्राउ गरी अनुसन्धान जारी छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए ।

घटना–३ः छात्रावासमा यातना पाएको भन्दै किशोरी बेपत्ता

हुम्लामा एक किशोरी असोज १३ गतेदेखि वेपत्ता छिन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२, थाली गाउँकी १६ वर्षीया किशोरी बेपत्ता भएकी हुन् ।

नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध माध्यमिक विद्यालय, याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षिय ति किशोरीलाई हिमालयन चिल्ड्रेन सोसाइटी छात्रावासले निष्कासन भएयता उनी बेपत्ता भएकी हुन् । छात्रावासका शिक्षक–शिक्षिकाले किशोरीलाई मानसिक तनाव दिदै छात्रावासबाट असोज ७ गतेका दिन निष्कासन गर्ने निर्णयपछि किशोरी वेपत्ता भएको आरोप छ । उनी असोज १३ गते घटनाका विषयमा डायरी लेखेर बेपत्ता भएको उनका भिनाजु चिन बोहोराले बताए ।

छात्रावासबाट निष्कासन गरेपछि बालिका सोही दिन सदरमुकाम सिमकोटमा रहेको आफ्ना दिदी–भिनाजुको कोठामा पुगेकी थिइन् ।

हाल वेपत्ता रहेकी किशोरीले ‘आफूलाई छात्रावासले दिएको तनावका कारण अबदेखि यो संसारमा रहँदैन’ भन्दै डायरीमा लेखेर भिनाजु बोहोराको घरमा छाडेकि थिइन् । यता जिल्ला प्रहरी कार्यालय, हुम्लाले किशोरीको खोजी कार्य जारी राखेको प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

तीन वर्षमा एक सयबढी बालबालिकाले ज्यान गुमाए

कर्णालीमा आत्महत्याको तथ्यांक विकराल नै छ । यहाँ बालबालिकाहरु समेत आत्महत्याको सिकार भईरहेका छन् ।

कर्णाली प्रदेश प्रहरीको तथ्यांक हेर्दा विगत तीन आर्थिक वर्षको समयावधीमा कर्णालीमा एक सय सात जना बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७७-०७८ मा ३९ जना, २०७८-०७९ मा ३४ जना र गत आर्थिक वर्ष २०७९-८० मा ३४ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । उनीहरु सबै १८ वर्ष मुनिका बालबालिकाहरु हुन् ।

त्यसैगरी तीन आर्थिक वर्षमा कर्णालीमा कुल नौं सय एक जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार २०७७-०७८ मा तीन सय ३९ जना, २०७८-०७९ मा दुई सय ८९ जना र २०७९-८० मा दुई सय ७३ जनाले कर्णालीमा आत्महत्या गरेको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले आत्महत्या बहुसरोकारको विषय भएकाले एउटा क्षेत्रले मात्र न्यूनीकरण गर्न नसकिने बताए । उनले सामाजिक, आर्थिक विषयहरुसंग सम्बन्धित भएकाले र सचेतनाका कमिले, गरीबी, अशिक्षा लगायतका विभिन्न कारणले यस्ता घटना घट्ने गरेको बताए ।

पछिल्लो समयमा परिवारीक विखण्डण, परिवारका सदस्य विदेश जाने, एक्लोपना लगायतका समस्याले आत्महत्या गर्ने गरेको उनको भनाई छ । उनले भने, ‘प्रहरीको तर्फबाट आत्महत्या न्युनिकरणका प्रयास, सचेतना अभियान, प्रहरी समुदाय साझेदारी कार्यक्रम संचालन गरिरहेका छौँ ।’

यसका साथै सामाजिक विकास मन्त्रालय, कानुन तथा आन्तरिक मामिला मन्त्रालयले समेत प्रहरीसंगै विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

‘विद्यालयमा मनोपरामर्श सेवा छैन’

विद्यालयमा मनोपरामर्श सेवाको आवश्यकता रहेको बताउँदै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सबै विद्यालयहरुमा मनोपरामर्श सेवाको पहुँच पु¥याउनुपर्ने बताउछन् ।

विद्यालयमा शिक्षकले शैक्षिक क्रियाकलाप गरेन भनेर गालि मात्र गर्ने तर बालबालिकाको भावना नबुझ्ने गर्दा बालबालिकाले आत्महत्याको बाटो रोज्ने गरेको मनोविद् रावतले बताए ।

मनोविद् रावतले भने, ‘अहिले प्रत्येक कक्षाकोठामा मनोपरामर्श प्रशिक्षकको आवश्यक छ ।’ हाल प्रदेश अस्पतालमा मनोपरामर्श सेवाका लागि दैनिक ६ देखि आठ जना बालबालिकाहरु आउने गरेको मनोविद् रावतले जानकारी दिए ।

‘आत्महत्याको कारण खोजी गर्नुपर्छ’

अनौपचारिक सेवा केन्द्र (ईन्सेक)को कर्णाली प्रदेश कार्यालयका कार्यक्रम संयोजक नारायण सुवेदीले आत्महत्याका कारणहरुको खोजी र यसको न्युनिकरणका लागि काम गर्नुपर्ने बताए । आत्महत्या दुरुत्साहन लगायतका घटनाले नागरिकको बाच्न पाउने अधिकारलाई कुण्ठित गर्छ । कार्य विश्लेषण, समुह सञ्जाल अनुसार आत्महत्या हुनु र यसलाई रोक्न पहल गर्नुपर्ने उनले बताए ।

हाल ईन्सेकले मनोसामाजिक परामर्श सम्बन्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिदै उनले ईन्सेक मानव अधिकारका सवालमा काम गरिरहेका संघ संस्थासँग सहकार्य र समन्वय कार्य अगाडि बढाउने जानकारी दिए ।

सुवेदीले भने, ‘सानो बच्चादेखि लिएर वृद्ध भएका मानिस पनि आत्महत्या गर्दै आएका छन् । लागु पदार्थ सेवन, घरेलु हिंसा, गरीबी, घरायसी समस्या, एकले अर्कालाई समय नदिने, साना बच्चा परिवारबाट टाढा हुनाले आमाबुवाको मायाको कम महशुसका कारण, विभिन्न घटनाका कारण आत्महत्याका घटना घट्ने जोखिम बढ्छ ।’

बालबालिकालाई शिक्षाका लागि अभिभावक भन्दा टाढा राखेमा र बालबालिकाले एक्लो महशुस गर्ने, मनमा लागेका कुरा भन्न नसक्ने, धेरै समय बाहिर बसेका कारण परिवारसँग समेत घुलमिल नहुने भएकाले परिवारले पनि बालबालिकाको मनोभावना बुझ्न उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया