डोल्पा जिल्लाको सालडाङ क्षेत्र केन्द्रविन्दु भएर सन् १५०५ को जुन ६ तारिकमा हालसम्मकै ठुलो भूकम्प मापन भएको थियो । त्यसयता नेपालको पश्चिम क्षेत्र केन्द्रविन्दु भएर ठुलाखाले भूकम्प गएको छैन ।
सन् १५०५ मा सालडाङ केन्द्रविन्दु भएको भूकम्प आठ दशमलव सात रेक्टर स्केलको थियो । सन् १२५५ यता नेपालमा ठुलाखाले १७ वटा भूकम्प गएका थिए । वि.सं. २०७२ वैशाख २९ गते गएको ७ दशमलव ३ रेक्टर स्कलेलको भूकम्पले दुई सय १३ जनाको ज्यान लिएको थियो ।
पाँच सय १८ वर्ष पहिले डोल्पा केन्द्रविन्दु रहेको भूकम्पमा परी त्यो समयमा ६ हजार जनाले ज्यान गुमाएको ‘विकिपिडिया’को स्रोत छ ।
हाल भने कर्णाली र सुदुरपश्चिम प्रदेशमा साना खाले भूकम्पको धक्का महशुस भईरहेका छन् । गत असोज १६ गते सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला केन्द्रविन्दु भएर एकै दिन १२ वटा भूकम्प गएको थियो । त्यस दिन चार दशमलव एक रेक्टर स्केल देखि ६ दशमलव तीन रेक्टर स्केलसम्मका भूकम्पहरु गएको भूकम्प मापन केन्द्र, सुर्खेतका प्रमुख बलबहादुर तामाङ्गले जानकारी दिए ।
मानव शरिरले तीन दशमलव पाँच रेक्टर स्कले देखिमाथिका भूकम्पहरु महशुस गर्न सक्छ । उनले भने, ‘घरको दोस्रो, तेस्रो तलामा भएका मानिसले ३.५ भन्दा माथीका भूकम्प महशुस गर्न सक्छन् । यसमा पनि उनीहरु हिडिरहेको, अथवा बसीरहेको अवस्थाले समेत फरक पार्छ ।’
बझाङ केन्द्रविन्दु भएको गएको ६ दशमलव तीन रेक्टर स्केलको भूकम्प सुदुरपश्चिम लगायत कर्णाली प्रदेशका भूभागमा समेत महशुस गरिएको थियो । त्यसैगरी असोज १८ गते गएको चार दशमलव पाँच रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु समेत बझाङ नै थियो । असोज २० गते समेत बझाङ केन्द्रविन्दु भएर नै चार दशमलव तीन र पाँच दशमलव तीन रेक्टर स्केलका भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतको तथ्यांक छ ।
बझाङमा चार रेक्टर स्केल माथिका भूकम्प नियमित
नेपालको पश्चिम क्षेत्रमा सबैभन्दा धेरै केन्द्रविन्दु भएको बझाङ जिल्लामा चार रेक्टर स्केलका भूकम्पहरु प्राय नियमित नै गईरहेको देखिन्छ ।
विगत एक वर्षमा बझाङ केन्द्रविन्दु भएर चार दशमलव एक देखि ६ दशमलव तीन रेक्टर स्केलसम्मका भूकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
विगत एक वर्षको अवधिमा हुम्लामा चार दशमलव ६, रुकुममा चार दशमलव दुई, अछाममा चार दशमलव चार र डोल्पा केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका छन् । त्यसैगरी डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो ।
एक वर्षमा ४६ वटा भूकम्प
विगत एक वर्षका अवधिमा नेपालमा ६७ वटा भूकम्पहरु गएका छन् । यसमध्ये नेपालको पश्चिम क्षेत्र केन्द्रविन्दु रहेर गएका भूकम्पहरुको संख्या भने ४६ वटा छन् ।
बझाङ केन्द्रविन्दु भएर नै धेरै संख्यामा भूकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ ।
२०७९ असोज २२ गते यता बझाङ केन्द्रविन्दु भएर १८ वटा भूकम्प गएका छन् ।
त्यसैगरी बाजुरा केन्द्रविन्दु भएर एक वर्षको अवधिमा कुल १४ वटा भूकम्प गएको केन्द्रले जनाएको छ । डोटीमा तीन, दार्चुलामा दुई र रुकुम केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएका थिए ।
अछाम केन्द्रविन्दु भएर दुई वटा र मुगु, दैलेख, डोल्पा केन्द्रविन्दु भएर एक–एक वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ ।
सावधानी अपनाउन अनुरोध
भूकम्पले ज्यान लिदैन, तर हामीले बनाएका पूर्वाधारका कारण भूकम्पको समयमा मानिसको मृत्यु हुन्छ । भूकम्पमैत्री पूर्वाधार निर्माण नभए जोखिम बढ्छ । नागरिकहरुले समेत निजि आवास निर्माणमा भूकम्पमैत्री भवनहरु बनाउनुपर्ने भूकम्प मापन केन्द्र, सुर्खेतका प्रमुख तामाङ्गले बताए ।
पाँच सय १८ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठुला खाले भूकम्प नगएकाले यसले झन् जोखिम बढाएको उनको भनाई छ । पृथ्वीमा भूकम्पीय शक्ति संरक्षित भईरहेका कारण जुनसुकै समयमा पश्चिम क्षेत्रमा ठुलाखाले भूकम्प जाने जोजिम बढेको छ ।
पुनम वि.सी. । सुर्खेत । २२ आश्विन २०८०, सोमबार ०७:०५