सुर्खेत स्थित प्रदेश अस्पताललाई ‘ब्याक टु लाइफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार एक कार्यक्रम बिच स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने एक करोड रुपैयाँ भन्दा बढी मूल्यका मुटुरोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता विभिन्न अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो।
अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई ब्याक टु लाइफ, जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।
ब्याक टु लाइफले कर्णाली प्रदेशको मुगु जिल्ला र विकासका दृष्टिकोणले पछि परेका अन्य जिल्लाहरुमा सन् २००९ देखि स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।
ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले प्रदेश अस्पताललाई हृदयरोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम, ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरु हस्तान्तरण गरिएको जानकारी दिए ।
संस्थाका प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले संस्थाले यस अघि पनि कोभिड १९ को उपचारको लागि आवश्यक पर्ने अति महत्वपूर्ण उपकरणहरु प्रदेश अस्पताल, सुर्खेतलाई सहयोग गरेको जनाए ।
प्रदेश अस्पताल सुर्खेतले केही समय अघिबाट मात्र मुटुरोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको थियो ।
ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले प्रदेश अस्पतालमा भर्खरै स्थापना भएको हृदयरोग विभागको दीगोपनाको लागि प्रदेश अस्पतालका तीन जना स्टाफलाई हालै प्रदान गरिएका उपकरणहरु संचालन सम्वन्धी तालिम प्रदान गर्न संस्थाले शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँसँग संयोजन र सहयोग गरेको पनि जानकारी दिए ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले ब्याक टु लाइफबाट सहयोग प्राप्त उपकरणहरुले मुटुरोग सम्बन्धि समस्या भएका विरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
युग संवाददाता । सुर्खेत । २१ आश्विन २०८०, आईतवार २२:३३