‘बुवा, आमा अब तपाईँले धेरै दुख गर्नु पर्दैन ? अब तपाईँको छोरा कमाउने भइसक्यो चिन्ता नगर्नुस्, दिदी पनि टाढा छ म नयाँ घर बनाएपछि दिदीलाई पनि नयाँ घरमा ल्याएर राख्छु । तपाईँहरू ढुक्क भएर बस्नुस् है ?’, भन्दै गएको भदौ २० गते सल्यान शारदा नगरपालिका–३, साहुटोल सिरवारका प्रवेश भण्डारी इजरायलको यात्रा तय गरेका थिए । बुढेसकालको सहारा एक्लो छोरा थिए प्रवेश । उनी सहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन् ।
इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्पर्कमा रहेका प्रवेशले आमा बुवालाई आफ्नो चिन्ता नगर्न आग्रह गर्ने गदर्थे । गएको शुक्रवार मात्र बुवासँग प्रवेशले सन्चै छु है बुवा मेरा चिन्ता नगर्नुस् अव म भोली शनिवार कुरा गर्छु भन्दै फोन राखे ।
शनिवार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारले उनलाई अनलाइनमा देखेनन् । शुक्रवार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो । छोरालाई पटक पटक अनलाइनमा खोजे तर देखेनन् ।
‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिवार आमाबुवासँग बोल्छु, बोलाइ दिनुहोला भनेर एसएमएस छोडेको थियो’, प्रवेशकी सानिमा शोभा सेजवालले भनिन्, ‘त्यसपछि अनलाइन नै देखिनँ ।’
आइतबार बिहान इजरायलमा नेपाली विद्यार्थी पनि आक्रमणमा परेको खबर सुनेपछि उनी डराइन । प्रवेशका साथीहरूलाई उनकी दिदी प्रतीक्षा र शोभाले कति मेसेज गरे । तर कसैले जवाफ दिएनन् ।
प्रवेशका ४५ वर्षिय बुवा चक्रबहादुर भण्डारीले शनिवार बिहानै इजरायलमा हमला खबर सुनेका थिए । १९ गते शुक्रवारबाट छोराको खबर नपाएका उनी आत्तिए । रेडियोबाट मात्र आक्रमण भइरहेको खबर सुनिरहेका उनले छोराको खबर पाउन सकेनन् ।
छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तिए । छोराको अवस्था कस्तो छ ? जिउँदो छ कि के छ ?, थाहा हुन सकेन । बुवाले आइतबार दिउँसो नेपाली विद्यार्थी पनि हमालमा परेको भन्ने खबर रेडियो र फेसबुक मार्फत थाहा पाए, तर छोरा कतै भागेर बाचेको छ कि भन्ने आस लाग्यो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर पाए ।
छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भावविहल अवस्थामा छ भने गाउँ शोकमा डुबेको छ । प्रवेशकी ४६ वर्षिय आमा र दिदी अर्धबेहोस अवस्थामा छन् । छोराको सास त आएन तर लास ल्याउनको लागि नेपाल सरकारसँग परिवारले आग्रह गरेको छ । मेरो छोरा त अव रहेन, तर छोराको लास छिटो भन्दा छिटो नेपाल ल्याउनका लागि सरकारले पहल गरोस् प्रवेशका बुवा चक्रले बताए ।
सल्यानका प्रवेश सहित इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका–२ का विधान सेजवाल पनि छन् । उनको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ ।
(साभारः दीपक शर्मा, रेडियोनेपाल)
सम्बन्धित थप समाचारः
युग संवाददाता । सल्यान । २२ आश्विन २०८०, सोमबार १६:१९