कर्णाली प्रदेश मातहत रहेका सल्यानका सरकारी कार्यालयहरुले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेका छन् ।
जिल्लाका १० वटा सरकारी कार्यालहरुले सोमवार खलंगामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेका हुन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन इकाइको आयोजनामा सल्यान जिल्ला स्थित कृषि, पशु, पूर्वाधार, खानेपानी, उपभोक्ता हित संरक्षण, स्वास्थ्य सेवा कार्यालय लगायतको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । त्यसैगरी सामाजिक कार्यालय, आयुर्वेद कार्यालय, कोष तथा लेखाका गरी १० वटा कार्यालयको सार्वजनिक सुनुवाई गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका शाखा अधिकृत टेकबहाहुर वलीले जानकारी दिए ।
सुशासनका लागि कर्णाली प्रदेशका सबै जिल्लाका सरकारी कार्यलयहरुको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सबै कार्यालयका प्रमुखहरुले आर्थिक वर्ष २०७९⁄८० मा सम्पन्न भएका योजनाहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले सरकारी कार्यालयले दिने सेवा प्रवाहमा महिला, दलित र अपाङ्गमैन्त्री लक्षित हुन नसकेको गुनासो गरेका थिए । उनिहरुले अनुदानका कार्यक्रम जनतामुखी नभएर नेता र कार्यकर्तामुखी भएको समेत गुनासो गरेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्राप्त सुझाव तथा गुनासोका विषयमा रहेर कार्यालयहरुबाट प्रवाह हुने कार्यक्रमलाइ व्यवस्थित र सुधार गर्दै लैजाने सार्वजनिक सुनुवाइ कार्यक्रमका संयोजक तथा खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, सल्यानका प्रमुख पदमराज देवकोटाले बताए ।
कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, जिल्ला समन्वय समिति, सल्यानका उप–प्रमुख असबिर बुढाथोकी, प्रहरी निरीक्षक भवानीप्रसाद धमला, उद्योग वाणिज्य संघ, सल्यानका अध्यक्ष कुमार बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
शंकर केसी । सल्यान । २२ आश्विन २०८०, सोमबार १८:३६