छोराले ध्यान नदिएपछि गीता आफै अटो कुदाउँछिन्

वीरेन्द्रनगर नगरपालिका–५ की ४४ वर्षिय गीता नेपाली अटोरिक्सा चालक हुन् । दुई वर्ष बढी समयदेखि वीरेन्द्रनगरमा उनले अटोरिक्सा चलाउँदै आएकी छिन् । अटो रिक्सा चलाउनुअघि घर व्यवहार र छोरोछोरीको रेखदेखमै गीताको दिन वित्थ्यो । उनका छोराछोरी बढ्दै गए, आवश्यकताहरू पनि बढ्दै गए । श्रीमान्को एक्लो कमाईले मात्रै घर खर्च धान्न मुस्किल भयो । त्यसमापनि उनलाई सानो–सानो खर्चका लागि पनि श्रीमानकै भर पर्नुपथ्र्यो ।

खाली समयको सदुपयोग गर्दै उनले अटारिक्सा सिक्न थालिन् । उनको भाईले अटो रिक्सा चलाउँन सहयोग गरेका थिए ।

‘मनमा डर भएपनि मैले अटो तीन दिनमै सिकेको हुँ’, गीताले भनिन् । मनमा डर, त्रास केहि नराखी आँटिलो भएपछि जे काम पनि गर्न सकिने रहेछ भन्ने कुराको मनन् आफुले गरेको उनी बताउँछिन् ।

गीताले अटोरिक्सा चलाउन सिकेपछि छोराको लागि किनेको अटोरिक्सा उनी आफैले चलाउन थालेकी हुन् ।

गीताले छोराको लागि नै अटो निकालेको थिईन् । उनले आफ्नो घरमा घरखर्च चलाउनका लागि आर्थिक स्रोत केहि नभएपछि छोराले अटो चलाएर घरखर्च चलाउँछ होला भन्ने सोचेकी थिईन् । तर छोराले अटो चलाएर घरखर्च नचलाई, पैसा पनि बचत गर्न नसकेपछि गीता आफैले अटो चलाउँन थालेकी हुन् ।

उनले बचत गर्ने संस्थाबाट ऋण लिएर अटो किनेकी थिईन् । ऋण लिएको किस्ता समेत गीतालाई तिर्न हम्मे–हम्मे परेको थियो । छोराले किस्ता समेत तिर्न नसकेपछि गीता आफैले अटो चलाउँन लागेको उनी बताउँछिन् ।

गीताले भनीन्, ‘शुरुमा त अटो चलाउँन धेरै डर लाग्यो । यहि अटो चलाउँदा मर्छु कि जस्तो पनि लाग्यो तर म अटो चलाउँन सफल भए गीताले भनिन् ।’
आर्थिक रुपले आत्मनिर्भर भए जीवन निर्वाह गर्न सहज हुन्छ भन्ने सोचले अटोरिक्सा चलाउन सिकेको उनी बताउँछिन् ।

‘हामीहरू किन कमजोर हुने ? आफंै पनि कमाएर अघि बढ्न सक्छौँ भनेर मैले अटोरिक्सा चलाउन सिकेँ । अटोरिसक्सा चलाउन सिकेर अहिले आफै कमाइरहेको छु’, उनले भनिन् ।

अहिले अटोरिक्साबाट राम्रो आम्दानी भएको उनको भनाइ छ । गीता अहिले अटोरिक्सा चलाएर दैनिक एक हजार रुपैयाँ भन्दा बढी बचत गर्छिन् । ‘केही नभए पनि तेल हालेर दैनिक एक हजार रुपैयाँ त बचत गर्छु’ उनले भनिन् ।

गीता बिहान घरको काम सकेर ६/७ बजेको समयमा अटोरिक्सा चलाउँन बजार निस्कने गर्छिन् । र, बेलुका ६÷७ बजेको समयमा नै गीता बजारदेखि घर फर्किने गर्छिन् ।

गीताले अटोबाट महिनामा ३०/३५ हजार रुपैयाँ कमाई हुने गरेको जानकारी दिईन् । घर व्यवहारमा आफु एक्लैको कमाईले पनि सहज भएको गीता बताउँछिन् ।

आफ्नो कमाईले घर व्यवहार चलाउन, छोराछोरी पढाउन सहज भएको उनले बताइन् । अटोरिक्सा सिकेर आत्मनिर्भर बन्न चाहने महिलाहरुलाई सिकाइ नदिने उनी बताउँछिन् । ‘हामी यत्तिकै बस्नु हुन्न । केही न केही काम गर्नुपर्छ । अटोरिक्सा सिक्न चाहानुहुन्छ भने आउनुस म सिकाइदिन्छु ।’ विभेद र अन्याय सहेर नबस्न उनी सुझाव दिन्छन् ।

अटोरिक्सा चलाउँदै गर्दा कतिपय महिला दिदिबहिनीमा समेत विभिन्न दुव्र्यवहार हुने गरेको उनले सुनाइन् । महिला दिदिबहिनीहरु सहासी भएर अटो चलाउँन उनले आग्रह गरिन् ।

कतिपयले महिला चालकहरूले राम्रोसँग अटोरिक्सा चलाउँछन् भनेर चढ्ने गरेको गीता बताउँछिन् ।

‘म अहिले ४४ वर्षको भए धेरै काम गर्ने आँट गर्छु, जबसम्म सक्छु तबसम्म अटो नै चलाउँछु’, गीता नेपाली भन्ने गर्छिन् ।

१२ वर्षसम्म श्रीमान कै चिन्ता भयो गीतालाई

गीताका श्रीमान् सिलाई–कटाई काम गथ्र्ये । गीताले पनि केहि समयसम्म सिलाई–कटाई काम नै गर्थिन् । 

गीताको श्रीमान २०६९ सालमा एकाएक विरामी भए । श्रीमान्को उपचारको लागि उनी धेरै ठाउँ धाईन्, तर श्रीमानको उपचार सम्भव भएन् । श्रीमानको रोग पत्ता नलागेपछि र उपचार सम्भव नभएपछि गीताले श्रीमानलाई घरमै फर्काउनु पर्यो ।

यि समस्याले गर्दा गीता अटो चलाउँन थालिन् । गीताले घरखर्च चलाउँन गिटि, बालुवा समेतको काम गर्दै साना–साना पसल पनि काम गर्दै आएकी थिईन् । पसल गर्दै गर्दा सिलाई–कटाई पनि दुवै जनाले गरे ।

श्रीमान् विरामी भएपछि सबै काम छोडेर उपचार गर्न लागेकी थिईन् गीता । अहिलेपनि गीताका श्रीमान त्यति भेउ पाउँदैनन् । घरमै बस्ने गर्छन् । आम्दानीको स्रोत नहुँदा धेरै समस्या हुने गरेको दुखेसो गीता नेपाली सुनाउँछिन् ।

तपाईको प्रतिक्रिया