कर्णाली क्षेत्र भन्नाले सामान्यतः पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा ब्यास हिमालसम्मको करिब १७९.५९ किलोमिटर लम्बाइमा फैलिएको कर्णाली नदीको जल प्रवाहित भूभागलाई मानिन्छ । ठुलो भूभाग मात्र नभई भाषा, संस्कृति, संस्कार यी सबै कुराको उद्गमस्थल यो सुन्दर थलोलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा कर्णालीबाहिर आजसम्म सकारात्मक देखिँदैन । कर्णालीको पहिचान नेपालको सबैभन्दा ठुलो भूभाग ओगटेको क्षेत्र वा नेपालको सबैभन्दा लामो कर्णाली नदी भएको ठाउँ भनेर परिचित छैन ।
नेपाली भाषाको उद्गम थलो, अमूल्य जडीबुटी, संस्कार र संस्कृतिको भण्डार भनेर यो भूभाग चिनिँदैन । बरु कर्णाली भनेको विकट, दुःखी, गरिब, अल्पायु, अशिक्षित र असभ्यहरूको बासस्थान भन्ने सङ्कीर्ण बुझाइ पाइन्छ । सर्वसाधारणको मात्र नभएर ठुलाठुला डिग्री भएका र आफूलाई राष्ट्रियस्तरका नेता ठान्नेहरूमा पनि यस्तै सोच रहेको देखिन्छ । ‘हिराको मोल किराले जान्दैनन्’ भने झैँ कर्णालीको यथार्थ हिराको झैँ धेरै भिन्न छ । कर्णाली ‘आँखा नदेख्नेहरूका लागि हात्ती’ जस्तै हो भन्दा अत्युक्ति नहोला ।
पूर्णप्रकाश नेपाल ‘यात्री’ का शब्दमा वर्तमानका लागि कर्णाली प्रदेश भनेको धर्तीमुनिको अभिलेख हो तर इतिहास, संस्कार र संस्कृतिको भण्डार कर्णाली नचिनेकाहरूले कान छाम्दा सुपो र तिघ्रा छाम्दा खम्बा जस्तो रहेछ भनेर मात्र बुझ्छन् । त्यति मात्र नभएर बुझ्नेहरूका लागि कर्णाली रहस्यको अनुपम उदाहरण हो । त्यसैले वास्तविक कर्णाली बुझ्नका लागि पूर्वाग्रही आँखाले हैन, बेग्लै आँखाले अलग परिभाषामा बुझ्न जरुरी छ । हैन भने कर्णालीले हिजो, आज झैँ भोलि पनि अन्याय भोगिरहनुपर्ने छ र सधैँ विचराको सङ्ज्ञा पाइरहनुपर्ने छ ।
हिजोको कर्णाली
इतिहासकारहरूका अनुसार कर्णालीमा सन् ७४२ सम्म मातृसत्तात्मक राज्य थियो । आमाको जातबाट बच्चाहरूको जात निर्धारण हुन्थ्यो । पैतृक सम्पत्तिमा छोरीको हक हुन्थ्यो । एघारौँदेखि तेह्रौँ शताब्दीका बिच कर्णालीमा विशाल खस राज्य थियो । यस राज्यको गृष्मकालीन राजधानी जुम्लाको सिन्जा र शीतकालीन राजधानी दैलेखको दुल्लु थियो । विसं १८४६ मा गोर्खाली शासकको अधीनमा जानुभन्दा अघिसम्म सिन्जा राज्य अन्तर्गत २२ वटा राज्य, सात उपराज्य, ११ वटा प्रान्तीय र थपलासमेत गरी ५६ वटाभन्दा बढी प्रशासनिक क्षेत्र क्रियाशील थिए ।
कर्णालीको बहादुरीको इतिहास यत्तिमा मात्र सीमित हुँदैन । पृथ्वीनारायण शाहले जुम्लामा प्रथम पटक आक्रमण गर्दा हार खानु परेको थियो र स्वयम् पनि नराम्रोसँग घाइते हुनु परेको थियो । विसं १७८९ मा उनका कान्छा छोरा बहादुर शाहले व्यापक तयारीका साथ दोस्रो आव्रmमण गरेर मात्र जुम्ला राज्य कब्जा गर्न सम्भव भएको थियो । इसाको प्रारम्भदेखि आधुनिक नेपालको एकीकरणको समयसम्म एकछत्र शक्ति केन्द्रका रूपमा कर्णाली थियो ।
इटालीका पुरातìवविद् प्रो. जोसेफ टूचीले आफ्नो एउटा अन्वेषणमा कर्णालीको सिमाना उत्तरमा मानसरोवर, दक्षिणमा तराईको मैदान, पश्चिममा लद्दाख र पूर्वमा काठमाडौँसम्म फैलिएको थियो भनेर लेखेका छन् । कर्णालीको मानव बस्ती नेपालको सबैभन्दा पुरानो बस्ती मानिन्छ । प्रकृतिपूजक बोन दर्शनको संरक्षक, मातृपूजक, शाक्त (महिला देवीहरू मान्ने) र शैवको व्रmीडास्थल, बौद्ध दर्शनको संरक्षक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक विविधता भएको नेपालको सबैभन्दा महìवपूर्ण प्रदेश कर्णाली नै हो । त्यत्ति मात्र नभएर विविध धर्म, भाषा र संस्कृतिको सुनौलो मेल पनि हो कर्णाली ।
कुनै समय मातृप्रधान सामाजिक व्यवस्था रहेको कर्णालीमा आमाले आगो, पानी, हावा, सूर्य, चन्द्र, पृथ्वी, खेत, बारी, खर्क, पाटनलाई जीवन र जगतको स्रोत मानेर पूजा गर्न थालिन् । आफ्नो गणमा भएका सन्तानलाई प्रकृतिको पूजा गर्ने प्रथा हस्तान्तरण गरिन् । यसै भएर प्रकृतिलाई पूजा गर्ने बोन धर्मको उत्पत्ति पनि कर्णालीलाई नै मानिन्छ । भैलोप्रथाको सुरुवात पनि जुम्लाबाट भएको थियो । जुम्लाका राजा बलिराजले नै ६०० वर्षअघि भैलोको सुरुवात गरेका थिए । बलिराज र उनका सन्ततिले विसं १४६१ देखि जुम्ला नेपाल राज्यमा एकीकरण नहुँदासम्म करिब ३८५ वर्ष कर्णालीमा राज्य गरेका थिए । राजा बलिराजले राज्य सञ्चालनका लागि जनतासँग थप कर उठाउनुपर्ने भयो ।
सुरु सुरुमा यो थप नयाँ करको विरुद्ध ठाउँ ठाउँमा विरोध हुन थाल्यो । बलिराजले पठाएको भनेर भैलेराहरूले कर गरेर माग्न थालेपछि गाउँलेहरूले राजाले नै माग्न पठाइसकेपछि ‘भैगो–लेऊ’ भनी दिएको राजस्व नै आजको भैलो हो भन्ने भनाइ छ । यस करलाई व्यवस्थित गर्न प्रत्येक वर्षको हिउँदमा भैलो खेल्ने चलन बसालिएको हो र आज पनि यस क्षेत्रमा हिउँदमा भैलो खेल्ने चलन यथावत् छ । भैलो, राज्य सञ्चालनका लागि कर उठाउने क्रममा स्थापित संस्कृति हो; जुन संस्कृति आज पनि देशभर तिहारमा खेलिने भैलोमा ‘हामी त्यसै आएनौँ, बलिराजाले पठाएको’ भन्ने गरिन्छ ।
नेपालमा हुलाक सेवा सञ्चालन सुरुवातको श्रेय पनि कर्णालीलाई नै जान्छ । छिनासिम (हालको जुम्ला बजार) गोर्खाली सेनाले आफूले कब्जा गरिसकेपछि त्यहाँका जुम्लीहरूको भान्सामा रातो चामलको सिता देखेर अचम्म मान्दै त्यसको स्वादबाट लोभिएर दैनिक दुई माना चामल जुम्लाको चन्दननाथ गुठीबाट काठमाडौँ दरबारमा पठाउनुपर्ने व्यवस्था गरेका थिए, जसका कारण नेपालमा हुलाक सेवाको सुरुवात भएको थियो । आज देशभरि छरिएर रहेका विभिन्न जातजातिको ठुलो सङ्ख्या पनि यही कर्णाली क्षेत्रबाट नै विविध कारणले अन्यत्र बसाइँसराइ गरेर आएको देखिन्छ ।
आजको कर्णाली
कर्णाली विगतमा मात्र सम्पन्न र प्रख्यात होइन । नेपालको मात्र नभएर एसियाकै लामो पाचल झरना कालीकोटमा छ । नेपालकै ठुलो र सुन्दर रारा ताल मुगुमा छ । एकै दिनमा सात पटक घाम लाग्ने हुम्लाको नेप्का गाउँ कर्णालीमै छ । विश्वकै सबैभन्दा उच्च स्थानमा मानव बस्ती भएको छार्काभोट डोल्पामा छ । अन्त कतै नबोलिने काइके भाषा डोल्पाको काइके गाउँपालिकामा मात्र बोलिन्छ ।
नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो डोल्पामा पर्दछ । हामी सबैले बोलिरहेको नेपाली भाषाको उद्गमस्थल कर्णाली नै हो । विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने स्थान जुम्लाको पातरासी हो । बहुमूल्य धातुहरूको खानी कर्णालीमै छ । कस्तुरीलगायतका मृगहरू कर्णालीकै जङ्गलमा विचरण गर्दछन् । विभिन्न किसिमका फलफूल, अमूल्य जडीबुटी, बहुमूल्य च्याउ, स्वास्थ्यवर्धक खाद्यान्न, तरकारी उब्जने स्थान कर्णाली हो । मनमोहक प्राकृतिक सम्पदा र धार्मिकस्थलले भरिभराउ भएको स्थान कर्णाली नै हो ।
विगतमा आफैँ आधुनिक स्वास्थ्य सेवाबाट वञ्चित कर्णालीमा हाल आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको छ । यो संस्था सिङ्गो कर्णालीको नै स्वास्थ्यसेवाको आधार बनेको छ । यहाँ पूर्ण रूपमा तीन सय शय्याको अस्पताल सञ्चालनमा छ । प्रतिवर्ष यहाँ स्वास्थ्य सेवाका विभिन्न विषयमा विभिन्न तहको अध्ययन, अध्यापन हुने गर्दछ । यसबाट कर्णालीले नै कैयौँ दक्ष जनशक्ति सिङ्गो नेपाललाई उपहारका रूपमा प्रदान गर्दै छ । कर्णाली प्राविधिक शिक्षालय जुम्लाले २०३७ सालदेखि नै कृषि, स्वास्थ्य, निर्माणलगायतका उद्यमशील विषयमा बर्सेनि दक्ष जनशक्ति उत्पादन गरेको छ ।
खेलकुदको क्षेत्रमा पनि कर्णालीले विश्वलाई चकित पार्ने प्रतिभाशाली सन्तान जन्माएको छ । जुम्लाकी सुनमाया बुढाले थाइल्यान्डमा सम्पन्न युटिएमबी प्रतियोगितामा महिलातर्फ प्रथम र महिला पुरुषतर्फ तृतीय स्थान हासिल गर्नुभएको छ । अन्तर्राष्ट्रियस्तरकै जुम्ला रारा अल्ट्रा म्याराथुनमा जुम्लाकी सानुमाया बुढा र मन्जु रावल क्रमश: प्रथम, द्वितीय र पुरुषतर्फ जुम्लाकै धिरबहादुर बुढाले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ । हरिबहादुर रोकायाले १३ वटा राष्ट्रिय खेलमा लगातार स्वर्णपदक र दुई पटक विश्व च्याम्पियन धावक बन्न सफल हुनुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम राख्ने यी छोराछोरी कर्णालीकै हुन् ।
डोल्पामा तिलिचोभन्दा अग्लो स्थानमा नयाँ ताल फेला परेको समाचार गत भदौमा सार्वजनिक भयो । कर्णालीमा आजसम्म कहीँ कतै नलेखिएका, नदेखिएका, प्रचारप्रसारमा नआएका, नल्याइएका कैयौँ राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वका धेरै ऐतिहासिक सम्पदा छन् । तिनीहरूको व्यापक खोज, अध्ययन, अनुसन्धान हुन जरुरी छ । कर्णाली हाम्रो पुख्र्यौली मात्र नभएर इतिहास, मानव सभ्यता, भाषा, धर्म संस्कार सिकाउने थलोसमेत हो । कर्णाली स्वर्णिम इतिहास मात्र बोकेको नभई प्रकृतिको अमूल्य उपहार हो ।
कर्णालीको हावा, पानी र माटोमा इतिहास छ, भावना छ, सङ्घर्ष छ । हामी कसैले विगत बदल्न सक्दैनौँ तर वर्तमानमा केही गर्न सक्छौँ । कर्णालीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सके सिङ्गो देशकै भविष्य बदल्न सक्छौँ । नेपाललाई विश्वसामु चिनाउन सक्ने क्षमता कर्णालीले राख्दछ । त्यसैले आजको भौगोलिक विकटतालाई अवसरमा बदलौँ र यसको उपभोग गरौँ । कर्णाली हाम्रो पुर्खा हो, सम्मान गरौँ, त्यहाँको धर्ती आमा हुन्, पूजा गरौँ । नेपालको गहना हो, सम्हालेर राखौँ । (गोरखापत्र)
डा. राधिका बुढथापा । सुर्खेत । २३ आश्विन २०८०, मंगलवार १७:२०