जुम्लाका व्यवसायीलाई एक लाख बढी जरिवाना

चाडपर्वलाई मध्यनजर गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जुम्लाले संयुक्त रुपमा बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमवार देखि कार्यालयले जुम्ला बजार क्षेत्रमा अनुगमन शुरु गरेको हो ।

बजार अनुगमनका क्रममा फेला परेका अखाद्य वस्तुलाई नष्ट गरीएको छ । ३२ हजार दुई सय ८० रुपैयाँ मुल्य बराबरका अखाद्य सामाग्री बरामद गरि नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाकाको बजार अनुगमन प्रमुख भगवती श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘एक लाख ३१ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।’

दुई दिनमा जुम्ला बजारका ६८ वटा पसल अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जुम्लाका प्रमुख डा. ईश्वर सुवेदीले बताए ।

खलंगा बजारका विभिन्न व्यवसायको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छलि गरेर बिक्रि गरिएका वस्तु, सुर्तिजन्य प्रदार्थलगायतका वस्तु नियन्त्रणमा लिई नष्ट गरीएको आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत धनसिंह थापाले बताए ।

उनले भने, ‘बसपार्क साइड र एयरपार्ट देखि कालेखोलीसम्म अनुगमन गरिएको थियोे । किराना पसल, फ्रेस हाउस, पेट्रोल पम्प, तरकारी मन्डी, होटल र उद्योगहरुमा अनुगमन भएको थियो ।’

चाडपर्वको समयमा म्याद गुज्रेको सामान बजारमा आउन सक्ने, मूल्यवृद्धि हुन सक्ने भएकोले संयुक्त रुपमा बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । धेरै पसलमा मूल्यसूची र साइनबोर्ड नराखिएको पाइएको छ । पसलमा मूल्यसूची नराखेको, होटल तथा पसल दर्ता नगरेको, खरिद बिक्री बिल नराखेको, लेबलमा उत्पादन मिति प्रस्ट नखुलाएको, पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको देखिन्छन् ।

समयमै करको दायरामा आउन समेत व्यवसायीलाई अनुगमन टोलीले अपिल गरेको छ । दर्ता नभएका पसलहरुले छिट्टै दर्ता गर्नु पर्ने, कर दर्ताको प्रमाण पत्र उपभोक्ता सबैले देख्ने गरी टाँस गर्नु पर्ने र कर समयमा तिर्नु पर्ने सहल्ला सुझाव दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायतको संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

तपाईको प्रतिक्रिया