गुर्भाकोट नगरपालिका स्थित खटाङ्ग क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण हुने भएको छ । गुर्भाकोट नगरपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक खटाङ्ग क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण हुने भएको हो ।
झोलुङ्गे पुलले गुर्भाकोटको खटाङ्ग, घुमखहरे र दहचौरलाई जोड्ने योजना छ । यो पुल निर्माण भएमा गुर्भाकोटको ८, १० र १२ नं. वडाका नागरिकहरुलाई सहज हुने बताइएको छ ।
गत असोज १८ गते गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, स्थानीय पूर्वाधार आयोजनाका कर्मचारी एवम् नगरपालिकाका कर्मचारी लगायतले झोलुङ्गे पुल निर्माणका लागि स्थलगत अनुगमन गरेका थिए ।
संघीय सरकारद्वारा २५ करोड रुपैयाँ बजेटको लागतमा बन्न लागेको यो पुल बनाउन लागिएको हो । यसका लागि काम शुरु गर्न केही बजेट समेत विनियोजन भईसकेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले जानकारी दिए । उनले भने, ‘नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको विशेष पहलमा उक्त तीनमुखे झोलुङ्गे पुल बन्न लागेको हो । यो पुल निर्माण भएमा गुर्भाकोटका तीन वडा एकआपसमा जोडिनेछन् ।’
६ सय ६० मिटर लम्बाई हुने
तीनमुखे झोलुङ्गे पुल निर्माणको लागी प्रारम्भीक कामहरु भईसकेको छ ।
सबै प्रक्रिया समयमा नै पुरा भए आगामी पौष/माघ महिना सम्ममा ठेक्का प्रक्रिया शुरु हुने स्थानीय पुर्वाधार विकास आयोजनाको कार्यालय, सुर्खेतका ईन्जिनियर रिबेश न्याञ्जु श्रेष्ठले जानकारी दिए ।
‘अहिले फाईनल डिजाईनको काम सकिएको र यसको अन्तिम प्रस्तुतीकरणको लागि तयारी अवस्थामा छ’, उनले भने ।
झोलुङ्गे पुलमा तीन स्पान क्षमताको हुने उनले बताए । प्रति स्पान दुई सय १८ मिटर लामो हुनेछ । कुल रुपमा पुल भने पुल ६ सय ६० मिटर लम्बाईको हुने ईन्जिनियर श्रेष्ठले जानकारी दिए ।
हाल स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, सुर्खेतले ठेक्का प्रक्रिया अघि बढाउने भएपनि जनशक्ति अभावका कारण स्थानीय पूर्वाधार विभागलाई नै ठेक्काको जिम्मा दिने तयारी भएको उनले बताए ।
पर्यटकिय क्षेत्रमा टेवा पुग्ने
पुल निर्माण हुने स्थानमा भेरी नदीको मध्य भागमा मन्दिर छ । मन्दिर भएकै स्थानमा जोडेर पुल निर्माण हुने गुर्भाकोट नगरपलिकाका प्रमुख हस्त पुनले बताए ।
पुल निर्माण भएपछि यस क्षेत्रमा धार्मिक स्थलको प्रचार हुनुका साथै पर्यटकीय आवागमन बढ्न मद्दत पुग्ने नगर प्रमुखको भनाइ छ । यसका साथै गुर्भाकोट नगरपालिकाको ८, १० र १२ नं. वडामा वसोवास गर्ने नागरीकलाई आवतजावतमा समेत सहज हुने उनले बताए ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र मानिएको खटाङ्ग क्षेत्रमा हालको समयमा पनि विभिन्न भूभागबाट वनभोज कार्यक्रमका लागि आन्तरिक पर्यटकहरु आउने गर्छन् । पर्यटकीय दृष्टिकोणमा समेत महत्वकामा भएकाले यस क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । २५ आश्विन २०८०, बिहीबार १०:२०