सुर्खेतको सिम्ता गाउँपालिकामा आन्दोलनरत कर्मचारीले (आज) विहिवार पनि अत्यावश्यक वाहेक अन्य सेवा ठप्प पारेका छन् ।
पालिकामा कर्मचारीले पेनडाउन गरेर आन्दोलनमा उत्रिँदा सेवा प्रभावित वनेको छ । एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वअनुमानयोग्य चक्रीय प्रणालीमा सरूवा गर्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकास गर्नुपर्ने लगाएतको माग रहेको संघर्ष समितिका संयोजक वुद्दि प्रसाद गौतमले जानकारी दिए ।
त्यस्तै,स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्थापन गरिनुपर्ने स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवासुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने, समायोजनका कर्मचारी (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) को उचित व्यवस्थापन गर्नुपर्ने, जुनसुकै तहमा बहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने माग राखेर कर्मचारी आन्दोलनमा रहेका हुन् ।
उक्त मागहरु राखेर १९ गतेदेखि निरन्तर सिम्ता गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलित छन् । निरन्तर आन्दोलन जारी राखेका कर्मचारीले (आज) बिहिवार पनि पेनडाउन गरेर पालिकाको गेटमा धर्ना जारि राखेका छन् ।
कर्मचारीले अत्यावश्यक काम बाहेक सबै सेवा दिनभर ठप्प पारेका छन। आफूहरुले अघि सारेका मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने अर्का गाउँपालिका संघर्ष समितिका सह– संयोजक गोपालि सहानि क्षेत्रिले जानकारी दिए ।
विरोध कार्यक्रमले गर्दा गाउँपालिले प्रदान गर्ने सेवा पूर्णरुपमा ठप्प भएको थियो । स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा दैनिक सेवा प्रवाहमा असर देखिन थालेको छ ।
सरकारी सेवा लिनुपर्ने पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहमै कर्मचारी आन्दोलित हुँदा घटना दर्ता, सिफारिसदेखि प्रशासनिक कामहरू प्रभावित भएका छन् । कर्मचारीको आन्दोलनले दैनिक सेवा प्रवाहमा असर देखिन थालेको गाउँपालिकाले जनाएको छ ।
दुर्गा विसी । सुर्खेत । २५ आश्विन २०८०, बिहीबार १२:२४