तिला गाउँपालिका–३ पाडालुम्सेरा गाउँ नजिकै कर्णाली रागमार्गको छेउमै आठ वटा प्लाष्टिकका टनेल छन् । टनेल भित्र टन्न तरकारी खेति गरिएको छ । यो तरकारी खेति तातोपानी–१ का ३२ वर्षिय परानबहादुर धरालाको हो ।
उनले तातोपानीका बासिन्दा भएपनि तिलाको जग्गा लिजमा लिएर तरकारी खेति गरिरहेका छन् । उनले भने, ‘तिला नदि नजिकैबाट बगेर जाने भएकोले तरकारी खेतिको लागि यो जमिन छनौट गरिएको हो । जसले सिचाइ गर्न सहज भइरहेको छ ।’
तरकारी खेतिबाट उनले वर्षमा पाँच लाख रुपैयाँ आम्दानी गर्ने गर्छन् । कारोबार भने वार्षिक २० लाख रुपैयाँ भन्दा बढि नै हुने गरेको छ ।
२०६९ सालदेखि तरकारी खेति थालेका परानबहादुर त्यसअघि भेडाहरु लिएर पाटनतिरै बस्थे । भेडापालनमा धेरै दुःख तर कम फाइदा हुने देखेपछि उनी तरकारी खेतिमा होमिएका हुन् ।
२०७४ सालदेखि धराला तरकारी उत्पादन फर्म नै खोलेर तरकारी खेति गरिरहेका परानले नयाँ प्रजातिको तरकारीको बिउ लगाएर अनुसन्धान समेत गरिरहेका छन् ।
पारिवारिक आर्थिक अभावले उनले औपचारिक शिक्षा पढ्न पाएनन् । सानै देखि ‘भेडिगुवालो’ लागेकोले पढ्न नपाउनुको दुःख उनले राम्ररी बुझेका छन् । त्यही भएर पनि तरकारी खेति गरेर दुई छोरालाई राम्रो शिक्षा दिने उनको रहर छ ।
उनको फर्ममा टमाटर, तितेकरेला, अकवरे खुर्सानी, भेन्टा, काँक्राहरु लगाइएको छ । परानबहादुर यो सिजनमा तरकारी भिœयाएर बजारसम्म ओसार्न व्यस्त हुन्छन् । हरेक विहान तरकारी फर्ममा पुगेर टमाटर, तितेकरेला टिप्न थाल्छन् । व्यापारीहरु फर्ममै पुगेमा त्यहीबाटै बेच्छन । नत्र उनी टिपेको सबै तरकारी लिएर खलंगा पुग्छन् । खलंगाका तरकारी मण्डीहरु उनले उत्पादन गरेको तरकारी खरिद गर्छन् ।
उनले तीन वर्ष अघि तितेकरेला उत्पादन हुन्छ, हुदैन् भनेर परिक्षण गरेका थिए । तराइमा उत्पादन मात्र हुने सुनेका उनले जुम्लामा हुदैनकी भन्ने अन्यौलतामै बिउ छरेका थिए । तर राम्रो फल पाए । पहिलो वर्षमै तिते करेला बेचेर ३० हजार रुपैयाँ कमाए । अहिले उनले तितेकरेलाको व्यवसायिक खेति गरेका छन् । यो तितेकरेलाबाट मात्रै एक लाख रकम भिœयाउने उनको लक्ष्य छ ।
हालसम्म ५० हजार रुपैयाँ सम्मको तितेकरेला बजारमा पुगिसकेको छ । यो वर्षदेखि उनले अकबरे खुर्सानीको परिक्षण समेत गरेका छन् । ‘राम्रै फल दिएको छ’, उनले भने, ‘१५ हजार सम्मको कारोबार हुने अनुमान छ । डल्ले खुर्सानी, भेन्टा उनको बारीमा टन्न फलेको छ ।’
उनी तितेकरेला र अकबरे खुर्सानीको परिक्षण गरेर बजारमा लैजाने जुम्लाको पहिलो किसान हुन् । टमाटर प्रतिकिलो एक सय, तितेकरेला एक सय ५०, अकबरे खुर्सानी तीन सय रुपैयाँ केजीमा बेचिरहेका छन् ।
भेडिग्वालो पछि तरकारी उत्पादनमा
भेडिग्वालो लागेका परानबहादुर रुपैयाँ कमाउने बाटो खोजिरहेका थिए । तर एक दिन सदरमुकाम खलंगामा पुगे, उनले तरकारीको कारोबार हेरे । निकै राम्रो देखे । उनले तरकारीमै भविष्य देखेर जग्गा लिजमा लिएर व्यवसायिक खेति प्रारम्भ गरे । झण्डै ५० देखि ६० हजार रकमले तरकारी खेति थालेका परानबहादुरको कारोबार २० लाख रुपैयाँको छ । उनलाई अधिकांश व्यापारीले ‘तरकारी भाइ’ भन्ने गर्छन् ।
जुम्लामा तरकारीको बजार छैन । कुहिएर खेर जान्छ भन्ने भ्रम चिर्दै जति धेरै उत्पादन गर्न सक्यो उति धेरै बजारमा लैजान सकिने उदाहरण बनेका छन् । उनले तरकारी रेखदेखका लागि दुई जना कर्मचारी राखेका छन् । उनीहरुलाई मासिक ११÷११ हजार रुपैयाँ तलब दिन्छन् । दुई छोरा नीजि विद्यालयमा पढाइरहेका छन । उनीहरुको मासिक शुल्क ११ हजार भन्दा बढि छ । परिवारको खान खर्च,लत्ताकपडा देखि औषधि उपचारको सबै व्यवस्थापन तरकारी खेतिबाट जम्मा भएको रकमले बेहोरेको उनले बताए ।
उनले भने, ‘पढ्दै नपढेको मान्छेले दुइ जनालाई जागिर दिएको छु । छोराहरु बोर्डिङ पढाएको छु । परिवार सुख संग पालेको छु । यो सबै तरकारी खेतिबाट मात्र संभव भएको हो ।’ उनले तरकारी बेचेर कमाएको रकमले गाउँमा नौ कोठे घर बनाएका छन् ।
तरकारी खेतिबाट उनको चार जनाको परिवार आत्मनिर्भर छ ।
विपन्नताले धेरै मान्छेहरु खाडीमुलुक तिर चर्को घाममा दिन गुजारीरहेका छन् । कालापहाडका गल्लीहरुमा कुल्ली र भरियाको काम गर्छन् । ‘म तरकारी खेतिमा लागेकोले आफ्नै भुमिमा १० नंग्रा खियाएर परिवार पाल्न सकेको छु’, उनले भने, ‘म यसैमा गर्व गर्छु ।’
उनको तरकारीबारी संगै सडक जोडिएको छ । तरकारी लिन अधिकांसले गाडी लिएर जाने गरेका छन । कालिकोटको नाग्म बजार देखि जुम्ला सदरमुकाम खलंगा सम्मको बजार उनैले धानेका छन् ।
‘व्यवसायिक रुपमा तरकारी खेति गर्न सके कालापहाड जानुपर्दैन । ठुलो देशको तुलना त गर्न सकिन्न । यति दुःख गर्ने हो भने खाढीमा जानु पर्दैन’, उनले थपे ।
उनको तरकारी खेतिको चर्चा अहिले जिल्लैभर चुलिएको छ । तातोपानी–३ का रामकृष्ण चौलागाइ तरकारी खेतिमा परानबहादुरको भविष्य जोडिएको बताउँछन् । उनको दुःख र मेहनत सबै युवाहरुको प्रेरणा बनिरहेको छ ।
तातोपानी गाउँपालिकाले पनि तरकारी खेति गर्नेको पहिलो सूचीमा परानबहादुरको नाम दर्ता गरेको छ । बर्षभरी तरकारी उत्पादन गरेको कमाइले अर्को वर्ष तरकारीमा लगानी गर्छन् । परानबहादुरले भने, ‘सरकारी अनुदान हाम्रो लागि आएको होइन । पहुंचवाला, नेतामन्त्रीका आसेपासेको रोजीरोटीको लागि मात्र उपयोग भइरहेको छ । त्यसलै अनुदानको आस समेत गरिदैन ।’
गत सोमबार तरकारी किन्न बारीमै पुगेकी बिष्णु बुढा उनको तरकारी उत्पादन गरिरहेको अवस्था देखेर चकित भइन् । उनले एक सय ५० रुपैयाँ प्रतिकिलोमा तितेकरेला ल्याइन् ।
उनले भनिन्, ‘बेराजगारको सुचिमा रहेका हरेक युवाहरु परानबहादुरको बाटोमा लाग्न सके । जुम्ला आर्थिक रुपमा बलियो बन्न टाढा जानुपर्दैन ।’
परानबहादुरको तरकारी कालिकोटको नाग्म, जुम्लाकोे सीता बजार, त्रिबेणी, कुडारी, तातोपानी, लाम्रा र सदरमुकाम खलंगाका बजारहरुमा खपत हुने गरेको छ । उनले १५ रोपनी जग्गा लिजमा लिएका छन् । वार्षिक रुपमा ९५ हजार रुपैयाँ भाडा तिर्छन् ।
गाेल्डेन बुढा । जुम्ला । २६ आश्विन २०८०, शुक्रबार १६:००