तोलीखोला जाजरकोट सडक विस्तार जारी

रत्न राजमार्गको छिन्चु बजार सडक खण्ड अन्र्तगत तोलीखोलादेखि जाजरकोट जाने सडकलाई विस्तार कार्य सुरु गरिएको छ ।

भेरीगंगा नगरपालिका वडा नं. १० तोलीखोला पुलदेखि भेरीगंगा न.पा.–११, सल्लीचोकसम्मको सडक खण्ड विस्तार सुरु गरिएको हो । रत्न राजमार्ग अन्र्तगतको यो सडक खण्डलाई ‘फोरलेन’ सडकमा विस्तार गरिने भएको छ ।

प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नती कार्यक्रम अन्तर्गत सडक विस्तारको योजना छ । सडक विस्तारका लागि ठेक्का सम्झौता भई निर्माण सुरु समेत भईसकेको छ । करिब दुई दशमलव ४५ किलोमिटर सडकलाई फोरलेनमा स्तरोन्नति गर्न लागिएको हो । फोरलेन सडक स्तरोन्नतिका लागि गत असार ३ गते श्याम एण्ड शंकर–अन्शुबी जेभीले ठेक्का सम्झौता पाएको सडक डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियर रामकिशुन थारुले जानकारी दिए ।

उक्त सडक २०८२ असार २ गते सम्ममा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । सडक निर्माणका लागि ३९ करोड ५७ लाख ४७ हजार दुई सय ६५ रुपैयाँ बजेट व्यवस्थापन भएको थियो । श्याम एण्ड शंकर–अन्शुबी जेभी कम्पनीले २८ करोड ८१ लाख ४४ हजार सात सय ८० रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको हो । उक्त सडकमा दुवै तर्फ सात दशमलव पाँच मिटर पिच हुनेछ । सडकको दाँया/वाँया गरी कुल १५ मिटरको पिच गरिने सडक डिभिजन कार्यालय, सुर्खेतका ईन्जिनियर थारुले जानकारी दिए ।

सडकको विच भागमा डिभाइडर, फुटपाथ निर्माण, नाली र रेलिङ्ग पोष्टहरु समेत निर्माण हुने इन्जिनियर थारुले बताए ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले निर्माण शुरु भएको उक्त सडक अनुगमनका क्रममा गुणस्तरिय काम गर्नलाई आग्रह गरेको जनाए । फोर लेन सडक निर्माणका लागि पालिकाले दायाँ वायाँ २५/२५ मिटरको क्षेत्र छुट्टाउन अनुरोध गरेपनि तर सडकको डिजाइनमा कमि भएकाले पुरै क्षेत्र नबनेको उनले बताए ।

नगर प्रमुखले भने, ‘रत्न राजमार्गको छिन्चु बजार सडकखण्ड कर्णाली प्रदेशको मुलद्धार हो । यसबाट व्यापारी, किसान, मजदुर, उत्पादन, बजारीकरणलाई समेत सहज हुनेछ ।’

तपाईको प्रतिक्रिया