हिमा गाँउपालिकाले पालिका स्थित नागरिकको मुटु रोगको समस्यालाई मध्यनजर गर्दै मुटु बचाउँ अभियान सुरु गरेको छ ।
पछिल्लो समयमा मुटुको रोगका कारण अल्पयायुमै ज्यान गुमाउनुपर्ने जोखिम बढेपछि पालिकाले मुटु बचाउ अभियानको शुरुवात् गरेको हो ।
पहिलो चरणमा मुटु जोगाउ, काठमाडौंको सहयोगमा पालिका भित्रका मुटुरोगीहरुको स्वास्थ्य परिक्षण सकिएको छ । कुल दुई हजार तीन सय ७३ जना मुटुरोगीहरुको मुटुको परीक्षण गरिएको थियो । जसमा १३ जनाको मुटुको अप्रेशन गर्नुपर्ने फेला परेको छ ।
उनीहरुलाई मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंमा लैजाने तयारी भइरहेको पालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । उनीहरुको त्यहाँ निशुल्क अप्रेशन हुने उनको भनाइ छ ।
तीन दिनसम्म हिमामा रहेका मुटुरोगीहरुको मुटु परीक्षण गरिएको हो । विकाससंगै बढ्दो विलासी जीवनले गाउँदेखि शहरसम्मका नागरिकमा मुटु रोग बढ्दो अवस्थामा छ ।
अध्यक्ष शाहीले भने, ‘बच्चादेखि बृद्धासम्म मुटुका रोगी छन् । मुटुकै समस्याका कारण कलिलै उमेरमा मृत्युवरण समेत गरेका धेरै घटना देखिरहेका छौं । अब हामी चाहन्छौं । मुटुको रोगका कारण कोही पनि मर्न नपरोस । स्वास्थ्य भन्दा काममा बढी ध्यान दिने, उपचार पद्दती महंगो हुँदा प्रायः नागरिक अस्पतालको पहुंच सम्म पुग्न सकिरहेका छैनन् । जसले मुटु मृगौला रोगबाट नागरिक ग्रसितहुने अवस्था आइरहेको छ ।’
सबै मुटु रोगीहरु अस्पताल पुगेर उपचार गराउने गरेका छैनन् । उपचार गर्ने रकम समेत छैन । केही रोग पालेर बस्न बाध्य छन् । कोही उपचारकै पर्खाईमै छन् । उनले भने, ‘नागरिकको स्वास्थ्य समस्या र आर्थिक अवस्थाको विश्लेषण गरेर रोग अनुसारको स्वास्थ्य परीक्षण चलाइरहेको अवस्था छ । पालिकाको प्राथमिकता नागरिकको स्वास्थ्य हो । नागरीक सुरक्षित भएको खण्डमा पालिका सुरक्षित हुन सक्छ ।’
हिमाले अहिले सम्म विभिन्न रोगका सात वटा शिविर चलाइसकेको छ । पालिकाभरका सबै नागरिकको निशुल्क बीमा गर्ने पनि नीति छ । गाउँमै निशुल्क मुटुरोगको उपचार पाएपछि हिमाका विपन्न नागरिक खुशी भएका छन् ।
२०७९ को स्थानीयतहको निर्वाचन पछि हिमामा नाक कान, हड्डी, पाठेघर, आँखा, मोतियाविन्दु शल्यक्रिया हुंदै मुटु रोग परिक्षण अभियान समेत शुरु भएका छन् । एकसाता अघि मात्रै निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर आयोजना गर्दा ४१ जनाको आँखाको उपचार भएको थियो ।
मुटु परीक्षणको लागि डा. अनिल भट्टराईको नेतृत्वमा १७ जना चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको टोली जुम्ला पुगेको थियो ।
गाेल्डेन बुढा । जुम्ला । २७ आश्विन २०८०, शनिबार १८:५६