नेपालको सौन्दर्यता शे–फोक्सुण्डो, भ्रमण गर्न आह्वन गर्दै कार्यकारी अधिकृत ढकाल

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकाल आजभोलि आफ्नो गाउँपालिकाका विभिन्न स्थान तथा समुदायहरू भ्रमण गर्नमा व्यस्त भएका छन् ।

ढकालले सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वन पनि गरेका छन् । करिब पाँँच हजार तीन सय मिटरको उचाईमा रहेको ’शे’ पास हिमाल पुगेर आफैंले खिचेको तस्बिर सार्वजनिक गर्दै उनी लेख्छन्, ‘नेपाल सुन्दर देश हो भनेर लेखिन्छ, पढिन्छ । वास्तवमा नेपाल कति सुन्दर छ भन्ने कुरा आफूले अनुभूत गरेपछि मात्रै थाहा हुँदो रहेछ। माथिल्लो डोल्पाका बाटो गौँडाहरूमा, तालहरूमा, हिमालहरूमा, पाटनहरूमा, गाउँगाउँमा प्रशस्तै विदेशी पर्यटकहरू भेटिन्छन् । त्यसमा पनि प्रायः ६०-६५ वर्ष उमेर पार गरिसकेका मानिसहरू हुन्छन् । उनिहरू लाखौं, करोडौं रकम खर्चेर नेपालको सौन्दर्यताको अनुभूत गर्न आएका छन् । तर हामी आफ्नै देश घुमेका छैनौं, घुम्ने इच्छा गर्दैनौं । एकपटक सबैले आफ्नो देश घुमेर हेरौं, हाम्रो देश साँच्चैनै गर्व गर्न लायक छ । सबै नेपालीहरूलाई शे–फोक्सुण्डो गाउँपालिका भ्रमण गर्न आह्वान गर्दछु ।’

शे–फोक्सुण्डो गाउँपालिका ज्यादै नै भौगोलिक विकटता भएको स्थानीय तह भएपनि यहाँको भौगोलिक, सांस्कृतिक सौन्दर्यताले यहाँ आइपुग्ने पर्यटकहरू सबै दुःख बिर्सेर साँच्चै नै मन्त्रमुग्ध भएको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया