काठमाडौं व्यूटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरका संचालक पुनम थापामगरको जन्म काठमाडौंमा भएको हो । काठमाडौंमा जन्मिए पनि उनी विराटनगरमा हुर्किइन् । व्यूटिसियन थापाले एसएलसिसम्म अध्ययन गरेकी छन् ।
उनको विहे १५ वर्षको उमेरमा भएको थियो । उनी सुर्खेत घुम्ने भनेर दिदिको घरमा आएकी थिईन्, दिदिको घर आएको बेला वीरेन्द्रनगरको भैरवस्थानमा घर भएका नेत्रबहादुर थापासंग चिनाजानी भयो । नेत्रबहादुर थापासंग वि.सं. २०५३ सालमा उनको विवाह भयो ।
तराईमा हुर्किएकी थापा सुर्खेतमा बसोवास गर्न, घुलमिल हुन र बोलिचालीमा समेत सुर्खेतको परिवेशमा रमाउँन भने उनलाई समय लाग्यो । व्यूटिसियन थापाका श्रीमान् पेशाले व्यसायी हुन् । दुवैजना व्यवसायमा आवद्ध भएपनि उनीहरुको व्यवसाय फरक–फरक नै भयो ।
व्यूटिसियन थापाका दुई छोरा छन् । थापा सानै देखि आफू राम्री कसरी हुने भन्ने कुरा सोच्थिन् । पछि व्यूटिपार्लर तिर नै लाग्छु भन्ने सोच थियो उनको ।
महिलाले घर बाहिर निस्केर केहि गर्नुहुन्न भन्ने कुरालाई उनले सीप सीकेर महिला पनि समाजमा केहि गरेर देखाउन सक्छन् भन्ने नमुना पेश गरेकी छिन् । सौन्दर्य पेशा अँगालेकी उनी व्यूटिसियन हुन् । विगत २२ वर्षदेखि उनले वीरेन्द्रनगर–६ मा पार्लर संचालन गर्दै आएकी छन् । काठमाडौं व्यूटिपार्लरकी संचालक पुनम थापासंग गरिएको कुराकानीः
व्यूटिसियन पेशामा आवद्ध कसरी हुनुभयो ?
मैलै अरु धेरै कामहरु गर्न सक्थे । तर सीपको काम भनेको दिर्घकालसम्म हुन्छ भन्ने लक्ष्य सहित यो पेशा तर्फ लागेको हुँ । म ६०/७० वर्ष भएपनि लठ्ठि टेकेर पनि यो पेशा गर्छु । यो पेशा मेरो लागि एकदम राम्रो पेशा हो ।
म शुरु देखि राम्रो हुने, सफा बन्ने अनि नक्कल झक्कल गर्ने, कोहि देखे पछि यो मान्छे राम्रो छ भन्ने मेरो दिमागमा त्यहि आउँथ्यो । आफू पनि राम्री भएर बस्ने गर्थे । यसरी नै यो पेशामा आवद्ध भए । अहिले पनि राम्री भएर बस्न मन लाग्छ मलाई ।
पार्लर संचालन गर्दा परिवारको साथ सहयोग कत्तिको पाउनु भएको छ ?
मैलै आफ्नो इच्छा अनुसार पार्लर सिकेको हो । मैलै गर्न खोजेको काममा मेरो श्रीमान्ले साथ दिनुभएको थियो । परिवारको साथ सहयोग विना कुनै मानिस पनि सफल हुुन सक्दैन । मैले काम गर्ने इच्छामा श्रीमानबाट नै सहयोग पाएको हुँ ।
यो पेशामा आवद्ध हुदाँ कस्ता समस्याहरु आए ?
हाम्रो जमानामा धेरै समस्या आए । म सानै देखि लालि, पाउडर लगाउन मन पराउथे । अहिले पनि म लालि, गाँजल लगाउन कहिले खाली गर्दिन् । पार्लर खोलेर के गर्दिरैछ भन्ने गर्थे, मलाई ।
मलाई पार्लर सिक्न ६ महिना लागेको हो । मलाई व्यूटिपार्लर सिक्ने क्रममा सिकेको एक हप्तामा आईब्रो मिलाउनु पर्छ भन्नु भएको थियो । तर डोरी पनि राम्रो सँग चलाउन सक्ने थिएन ।
आफ्नो पार्लरको आम्दानीबाट सन्तृष्ट हुनुहुन्छ ?
मैले ५० हजार लगानीबाट शुरु गरेको व्यवसाय हो । यस व्यवसायबाट लागत खर्च कटाएर महिनाको दुई लाख रुपैयाँ सम्म आम्दानी हुन्छ । घर परिवार संचालन गर्न र महिला पनि घर बाहिर निस्केर केहि काम गर्न सक्छ भन्ने आँट लिएर गरेको पेशा हो ।
महिला पनि आर्थिक रुपमा आप्mनो व्यक्तिगत खर्चको लागि श्रीमान्संग आश्रित हुनु पर्दैन भन्ने समाजमा सकारात्मक परिवर्तन आओस् । व्यूटिसियन बन्ने मेरो इच्छाले यस पेशामा आबद्ध भएको छु । म यो पेशाबाट आएको आम्दानीमा सन्तृष्ट छु ।
यो पेशामा तपाईले कति जनालाई तालिम दिनुभएको छ ?
यो पेशाबाट मैले १०/१२ जनालाई दक्ष बनाएको छु । कतिले के नाम बाट पार्लर राखु भनेर पनि सोध्ने गर्छन् । कतिको नै म आफैले नै रोजेको नाम बाट पार्लर गरेका छन् ।
जो दिदिबहिनी पार्लर सिक्न इच्छुक भएर मसँग आए । उनीहरुलाई न्युनतम मुल्यमा काम सिकाएको छु । म मलाई राम्रो छु, म दक्ष छु यो म भन्दिन । तर मैले सिकाएको दिदिबहिनीहरु पार्लर संचालन गरिरेका छन् । सुर्खेतको मेहेलकुना, जहरे, छिन्चु, वीरेन्द्रनगर अन्य जिल्ला जुम्ला, कालिकोट लगाएतका हजारौं दिदिबहिनीलाई तालिम दिएको छु ।
व्यूटिसियन वन्न चाहने महिला दिदिबहिनीहरुको लागि के सुझाव दिनुहुन्छ ?
विगत २२ वर्षदेखि पार्लर खोलेर बसेको हो । मैलै सिकाउने हिसाबमा कोर्षको शुल्क निर्धारण गरेर सिकाउने गरेको छु । आर्थिक हिसाबले केहि कमि, कमजोर हुने गरेकोमा केहि दिदिबहिनीको लागि थोरै भएपनि न्युनतम शुल्क लिएर सिकाउने गरेको छु ।
यदि कुनै दिदिबहिनी सिक्न चाहानुहुन्छ भने आउनुस् । म सिकाउने छु । र, यदि म कहाँ नै सिक्नु हुन्न भनेपनि जहाँ भएपनि नि राम्रो संग सिक्नुस् भन्छु । म आफुले जानेको सीप सिकाएर स्वरोजगार हुन चाहने दिदिबहिनीलाई साथ दिने छु ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । २८ आश्विन २०८०, आईतवार १४:५६