हालको समयमा सीप सिकेर त्यसको सदुपयोग गर्ने नागरिकहरुको संख्या न्यून छ । तर यता वीरेन्द्रनगर नगरपालिका–६ की सुनिता रेग्मी सीप सिकेर आत्मनिर्भर हुन थालेकी छिन् । उनले विभिन्न प्रकारका अचार बनाउँने गर्दछिन् ।
सानै उमेरदेखि उनको अचार बनाउने सौख, ११ वर्षबाट नै विभिन्न प्रकारको अचार गराउने गरेको बताईन् । रेग्मीले बनाउने गरेको अचार घरका परिवारले धेरै नै मन पराउँथे ।
घरमा सधै जसो अचार रेग्मीले नै गराउँने गर्थिन् । अचार कसरी ‘च्वास्स’ गराउने भनेर सोच्ने गरेको उनले बताईन् । रेग्मीले बनाउने गरेको अचार घरपरिवारले मात्र होईन उनका गाँउलेले समेत मन पराउन थाले । उनको अचारलाई गाउँबाट समेत माग आउन थाल्यो ।
रेग्मीलाई अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र नभई स्वरोजगार पनि बन्न मन थियो । उद्योग संचालन नगरेपनि आत्मनिर्भर भने भएकी छिन् रेग्मी ।
अचार बनाउने तालिम धेरैले लिने गर्दछन् तर रेग्मीले भने आफै नै अचार बनाउन सिकेकी हुन् । तालिम नलिई अचार बनाउँन सिकेकी रेग्मीले धेरै महिला दिदिबहिनीहरुलाई अचार तालिम समेत दिएको बताईन् ।
उद्योग नै चलाउने धोको
अचारका लागि अचार उद्योग दर्ता गर्ने उनको सोच छ । हालसम्म पनि उनले उद्योग दर्ता भने गर्न सकेकी छैनन् । आफुले अचार बनाउन भारतमा सिकेका कारण उनीसँग अहिले कुनैपनि प्रमाण पत्र नभएर अचार उद्योग दर्ता गर्न भने समस्या भएको बताईन् ।
उद्यमशिल र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गर्ने सोच थियो तर पुरा भएको छैन् । वि.सं. २०७४ सालदेखि रेग्मी अचार बनाएर घरबाट नै बिक्रिवितरण गर्न थालेको उनले बताइन् ।
सीप र जागर भए थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने उनी बताउँछिन् । घरबाट नै अचार बनाएर बेच्दा पनि घरखर्च राम्रो संग चल्ने गरेको बताईन् ।
उनले घरबाट नै मासिक २५/३० हजार रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको उनी बताउँछिन् ।
ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई एक सय रुपैयाँसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको रहेको उनले बताईन् ।
आर्थिक रुपमा सबल बन्नका लागि आफैले सीप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उनको भनाइ छ । यही दृढ लक्ष्यले अहिले घरमा नै अचार बनाएर पनि मनग्य आम्दानी गर्न सफल भएको उनी बताउँछिन् ।
बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको बताईन् ।
‘आफ्नो कमाइ नहुँदा घरका श्रीमानसँग आश्रित हुनुपथ्यो । तर अचार बनाउँदा अहिले त्यो बाध्यता भने हटेको छ’, रेग्मीले भनिन् । घरको काम सकेर बाँकी रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले बताईन् ।
रेग्मीले आफ्नै घरबाट विभिन्न परिकारका अचार उत्पादन गर्दै आएको बताउछिन् । उनले सुरुमा घरकै खानामा अचार बनाउँदा अचार बनाउँन सिकेकी हुन् ।
उनले गाउँमै उत्पादित कच्चा पदार्थबाट प्राङ्गारिक अचार उत्पादन गर्दै आएकी छिन् । उनले अचार बनाउन तीन दिन लाग्ने बताईन् । अकबरे खुर्सानीको अचार बनाउन एक दिन काट्न, एक दिन सुकाउन र एक दिन डिब्बामा हाल्न समय लाग्ने उनले बताईन् ।
अचार बनाउँदा सामान भएन भने समय लाग्ने हो नत्र त्यति समय पनि नलाग्ने उनको भनाई छ । खाली समयलाई सदुपयोग गर्दै, घरको रेखदेख गर्दै अचार बनाएर विक्रि वितरण गर्दा घरखर्च चल्ने गर्दा यसमा आफु सन्तृष्ट भएको रेग्मी बताउने गर्छिन् ।
उनले दैनिक कम्तीमा तीन÷चार बाल्टी अचार उत्पादन गर्दै आउने गरेको बताईन् ।
आफुले गराउने गरेको अचारको माग पनि उत्तिकै हुन थालेको उनी बताउँछिन् । यस व्यवसायले आफूलाई आत्मसन्तुष्टि र कमाइ दुवै मिलेको हुदाँ उद्योग संचालन गर्न चाहेकी थिईन् । तर प्रमाण पत्र नहुँदा सम्भव नभएको बताईन् ।
केजीको दरमा अचार बिक्रि
उनले हालको समयमा घरबाट नै केजीको परिमाणमा समेत अचार बिक्रि गरिरहेकी छिन् । रेग्मीले उत्पादन गर्ने अचारको मुल्य केजीको ६ सयदेखि सात सय रुपैयाँसम्म रहेको उनले बताईन् ।
उनले आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती, मेथी, गाँजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिँडालु, चिकेन, काँक्रो, करेला, टिमुर, लसुन, मिक्स, मुला,रुखकटहर, फर्सी, गुन्दु्रक लगायतका विभिन्न स्वादका अचार उत्पादन गर्दै आएको रेग्मीले जानकारी दिईन् ।
अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको उनी बताउँछिन् । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहने रेग्मीको भनाइ छ । ‘हातले अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुन्छ, अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन का लागि मेसिन ल्याउने सोचमा छु,’ रेग्मीले भनीन् ।
सरकारले मेसिन खरिदमा अनुदान दिने र सीप प्रदान गर्ने हो भने अन्य ठाउँबाट आउने अचार विस्थापित गर्न सकिने रेग्मीको बुझाइ छ ।
उनको अचार व्यवसायको सबैले प्रशंसा गर्ने गरेकोे बताईन् । महिला उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा व्यावसायिकता तर्फ पाइला चाल्न कठिन हुने गरेको उनको भनाइ छ । अचारको अत्यधिक माग आउने गरेकाले मागअनुसार उत्पादन बढाउन नसकेको उनले बताईन् । कहिलेकाही कच्चापदार्थको अभावमा मागअनुसार अचार उत्पादन गर्न नसकेको उनले बताईन् ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । ३० आश्विन २०८०, मंगलवार १४:००