गत असोजमा जुम्लाका किसानले यहाँका भेडाच्यांग्रा गण्डकी प्रदेशसम्म पु¥याए । करिव १७ दिन हिडाएर जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्यांग्रा गण्डकी प्रदेश पु¥याएका थिए ।
जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर भेडाच्यांग्रा बिक्रि गर्न उनीहरु गण्डकी पुगेका हुन् ।
अन्य प्रदेशमा निर्यात मात्र होइन, केहि हप्ता पहिले वीरेन्द्रनगरमा समेत दशैंलाई लक्षित गरेरै भेडा भित्रिएका छन् । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका ललितजंग बोहोराले दशैंलाई लक्षित गरेर एक सय ५० वटा भेडा वीरेन्द्रनगर ल्याएका हुन् ।
करिव ३५ लाख रुपैयाँ मुल्य भएका ति भेडा उनले प्रति गोटा ३० देखि ४० केजि तौलसम्ममा छन् । हिमाली क्षेत्रका भेडाच्यांग्रामा उपभोक्ताको रुची हुन्छ । हिमाली तथा पहाडी भेगमा जडीबुटी खाएका भेडाच्यांग्राहरुको स्वाद समेत फरक हुने तथा स्वस्थ्यकर हुने भएकाले उपभोक्ताहरु यसका बढी नै रुची राख्छन् ।
पछिल्लो समय कर्णाली मासुमा आत्मनिर्भर बन्दै गएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा कर्णालीबाट भण्डै चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका पशुपक्षी निर्यात भएका थिए ।
कर्णालीबाट निर्यात हुने पशुपक्षीहरु नेपागञ्ज, बुटवल, चितवन, काठमाडौं, टीकापुर, पोखरा, वीरगञ्ज, धनगढी र रुकुम पूर्व लगायतका जिल्ला पुग्ने गरेको छन् । अन्य प्रदेशको तुलनामा कर्णालीमा मासु उत्पादन कम भएपनि कर्णाली आत्मनिर्भर बन्ने बाटोमा दौडिएको छ । कर्णालीको प्रादेशिक आर्थिक गतिविधि अध्ययनका अनुसार देशभर मासु उत्पादन तर्फ कर्णालीको योगदान चार प्रतिशत छ । अन्य प्रदेशको तुलनाका कर्णालीमा भने यो सबैभन्दा न्यून हो ।
यस तथ्यांकलाई जिल्लागत रुपमा हेर्दा मासु उत्पादन तर्फ देैलेख जिल्ला सबैभन्दा अगाडी छ । यहाँ उत्पादनको कुल २९ दशमलव तीन प्रतिशत योगदान छ । त्यसैगरी सुर्खेतमा २३ दशमलव सात, सल्यानमा १७, जाजरकोटमा १७ दशमलव ५२, रुकुम पश्चिममा तीन दशमलव २१ उत्पादन योगदान छ । कालीकोटमा चार दशमलव ४९, जुम्लामा एक दशमलव पाँच, हुम्लामा शून्य दशमलव सात, डोल्पामा दुई दशमलव दुई र मुगुमा शून्य दशमलव नौं प्रतिशत मासु उत्पादनमा योगदान छ ।
नेपाल राष्ट्र बैंकद्वारा गत जेठ महिनामा प्रकाशित उक्त अध्ययनले कर्णालीले मासु उत्पादन बढाएको देखिन्छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाख्रा तथा भेडापालनमा सहुलियतपूर्ण कार्यक्रमहरु सञ्चालन, पशु बीमाको प्रिमियममा सहुलियत कार्यक्रमले उत्पादनका सघाउ गरेको हो ।
स्थानीय कृषकहरुलाई कुखुरा पकेट बिस्तार र कुखुरा पालनमा कृषकहरुको स्व–लगानी वृद्धि भई दाना उद्योग समेत स्थापना हुँदै गएकाले मासु, अण्डा र ऊन उत्पादन आगामी वर्षमा बढ्ने राष्ट्र बैंकको अनुमान थियो ।
उत्पादनमा क्षेत्रगत विविधता
सल्यान, सुर्खेत दैलेख लगायतका जिल्ला खासगरी दुध उत्पादनमा अघि छ । यहाँ बंगुर, कुखुरा, रांगा–भैसी लगायतका उत्पादन बढी छन् । त्यसैगरी कर्णालीको उपल्लो जिल्लाहरुमा भेडा–च्यांग्रा उत्पादनको अवस्था समेत सकारात्मक रहेको पशुपंक्षी विकास निर्देशनालय, सुर्खेतका प्रमुख कृष्णप्रसाद पंगेनीले बताए ।
उनले भने, ‘मासु उत्पादनको अवस्थामा हामी आत्मनिर्भर छौ । प्रदेशमा खपत हुने मासु हामी आफैले उत्पादन गरेर निर्यात समेत गरेका छौ ।’
‘अहिले दशैंको समय भएकाले अलि बढी नै निर्यात छ । तर अन्य समयमा दैनिक ६० देखि ८० वटा खसी बाख्रा कर्णालीबाट निर्यात भईरहेको छ’, उनले भने ।
पुनम वि.सी. । सुर्खेत । ५ कार्तिक २०८०, आईतवार १४:०५