दशैं आयो, गाउँ रमायो

डिलु रावत

लेकवेशी नगरपालिका–५ , नेटाका केशव बरालले तीन बर्षपछि परिवारसँगै यो वर्षको दशैं मनाउँदैछन् । पाँच जनाको परिवार, आर्थिक जिम्मेवारी काँधमा बोकेका केशव तीन वर्षपछि दशैं मनाउनेगरी घर फर्किएका हुन् । उनलाई आफ्नो परिवारसँग यो वर्ष दशैं मनाउन पाउने भएपछि खुशीको सीमा नै छैन ।

‘म धेरै वर्ष विदेशमा बसेँ । लामो समयपछि आफ्नो परिवारसँग आफ्नै गाउँमा दशैं मनाउँदै छु’, उनले भने, ‘धेरै वर्षपछि परिवारसँगै दशैं मनाउन पाउने भएपछि खुसीको सिमा नै छैन । विदेशमा रहँदा अरु बेला भन्दा चाडपर्वको बेलामा घरको साह्रै याद आउथ्यो । गाउँमा साथीभाईहरुसँग रमाएको, पिङ खेलेको, मेलामा गएको सम्झन्थे । यो बर्ष त आफ्नै गाउँमा दशैं मनाउन आइपुगेको छु ।”

उनी जस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धारापानीका जगत खड्का पनि रोजगारीको सिलसिलामा साउदी अरबमा १० बर्ष बसे । १० बर्षपछि अहिले गाउँमा आएका उनी यो बर्ष दशैं टिका त छैन तर, परिवार, साथीभाइ तथा आफन्तजनसँग रमाइलो गरेर दशैं मनाउने योजना बनाएको जगतले बताए ।

दुई छोरा र श्रीमतीको भविष्यका लागि रोजगारीको सिलसिलामा साउदी अरब पुगेका उनी विदेश हुँदा धेरै वर्षका चाडपर्व दुःखी भएर बिताउने गरेको त्यो क्षण सम्झन्छन् । उनले भने, ‘चाडपर्वमा छोराछोरी, श्रीमती, साथीभाई लगायत आफन्तजनसँग रमाउन नपाउँदा कति पीडा हुँदो रहेछ भन्ने विदेशिनेलाई मात्रै थाहा हुन्छ ।’

यो वर्ष भने उनले परिवारसँगै दशैं मनाउँदै छन् । ‘अहिले परिवारसँगै दशैं मनाउन लागेको छु । परिवारसँगै दशैं मनाउन पाउँदा धेरै खुसी छु’, उनले भने, ‘पछिल्लो समय साढे दुई वर्ष साउदी अरब बसेर नेपाल आएका उनले परिवारसँगको यो दशैं रमाइलोसँग मनाउने योजना छ ।

विगतका वर्षहरुमा लेकबेसी नगरपालिका–५ का अशोक बराललाई दशैं तिहारजस्ता ठूला चाडपर्व आउने वित्तिकै घरको याद आउँथ्यो । दशैंको दिनमा पनि काम गर्नुपर्दा झनै नरमाइलो लाग्थ्यो । पाँच बर्षपछि उनी आफ्नै गाउँमा फर्किएका छन् । छोराछोरी र श्रीमतीसँग दशैं मनाउन पाउने भएपछि उनलाई मनमा खुशीयाली छाएको छ ।

‘विगत पाँच वर्षसम्म मैले अर्काको देशमा काम गरेर उतै बिताएँ । चाडपर्व आउँदा मन नै भक्कान्न्थियो’, अशोकले भने, ‘यो वर्ष त परिवारसँगै बसेर दशै मनाउने योजना बनाएको छु ।’

रोजगारीका लागि भारतको गवामा दुई वर्षसम्म बसेका वीरेन्द्रनगर–१६ मेहेलीका टंक ढकाल पनि यो वर्ष दशैं, तिहार मनाउन घर फर्किएका छन् ।

साथीहरुसँग रमाउँदै लिङ्गे पिङ खेलेको, आमाको हातबाट दशैंमा रातो टिका र जमरा लाएको क्षण सम्झेर दुई वर्षसम्म उनको दशैं विदेशमै बित्यो ।

त्यतिबेला उनको मन दिनभर भक्कानिन्थ्यो । तर, यो पटक भने उनीभित्र खुशीको कुनै सिमा नै छैन । ‘यो वर्ष आफ्नो दशै टिका त छैन, तर पनि दुई वर्षपछि घर आउदा धेरै रमाइलो लागेको छ । मन साह्रै खुशी भएको छ,’ उनले भने, ‘घरकोे एक्लो छोरा भएका कारण पनि दशैं आउँदा आमाको मुहारमा पनि खुसीयाली छाएको छ ।”

उनीहरु जस्तै कैयौं नेपालीहरु घरपरिवार साथीभाइसँग बसेर दशैं मनाउन स्वदेश फर्किन थालेपछि अहिले गाउँ नै रमाइलो बन्न थालेको छ ।

विदेशमा रहेकाहरु पछिल्ला दिनमा घर फर्कनेक्रम बढ्दो छ । जसका कारण गाउँघरमा रहेका आफन्तहरुमा खुसीयाली छाएको छ । त्यस्तै गाउँमा चहलपहल समेत बढ्न थालेको छ ।

वर्षौैदेखि प्रदेशको भूमिमा दिनरात नभनी दुःख गरेर बसेकाहरुलाई दशैंले परिवारसँग मिनल गराइरहेको छ । उनीहरु जस्तै धेरैे नेपाली दाजुभाई घर परिवारको लालनपालन र शिक्षा दिक्षाको लागि रोजगारी गर्न विदेशिने गरेका छन् । स्वदेशमै रोजगारी भएको भए आफुहरु सधंै आमाकै काखमा बसेर दशैं मनाउने दुःखेसो विदेशीका नेपालीहरुले गरेका छन् ।

विशेषगरी कर्णालीबाट भारतमा मौसमी रोजगारीमा जानेको संख्या धेरै छ । तर, कसैसँग पनि त्यसको एकिन तथ्याङ्क भने छैन । पछिल्लो समय तेस्रो मुलुकमा समेत रोजगारीमा जाने दर दिनानुदिन बढेको श्रम तथा रोजगार कार्यालय, सुर्खेतले जनाएको छ । केही बर्ष बसेकाहरु भने दशैं नजिकिएसँगै आफ्नो जन्मघर फर्कन थालेका छन् ।

(नेपाल प्रेस युनियन सुर्खेतद्वारा प्रकाशित दशै विशेषाङ्क ः प्रेरणाबाट साभार)

तपाईको प्रतिक्रिया