हिन्दू सांस्कृतिक परिवेशमा सबैभन्दा लामो समय मनाइने चाड हो बडादशैं । दशैंको आगमनमा शुरुका नौं दिन महत्वपूर्ण हुन्छन् जसलाई नवरात्र भनिन्छ । पहिलो दिन सबैको घरघरमा जमरा राखिन्छ । गाईको गोबरले लिपपोत गरेको पवित्र स्थानमा केराको पातमा धेरै भाग जौं अनि धान मकै गहुँ समेत मिसाएर । घरको कुनामा । घाम नपर्ने ठाँउ विशेष गरी घरको पूजा कोठामा । कारण पहेँलो होस् । पहेँलोको अर्थ नवदुर्गाको मनपर्ने रङ । घटस्थापनाकोलागि समेत साइत हेरिन्छ । जमरा राख्ने उत्तम साइत । गणेशको पूजा गरिन्छ । पूजाका विधि प्रयोग हुन्छन् । दुर्गालाई बोलाइन्छ शक्तिकी खानीको रुपमा । नुहाइधुवाइ चोखो भएरनित्य कर्म गरिन्छ । आराधना गरिन्छ । नजिकको नदी वा शुद्ध स्थानमा गएर । दशैंमा दुर्गादेवीलाई मूल देवीको रुपमा मानिन्छ । दुर्गा देवीका तीनवटा रुप मानिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको रुपमा । महाकालीलाई शक्तिकी प्रतीक मानिन्छ । महालक्ष्मीलाई ऐश्वर्यकी प्रतीक मानिन्छ । महासरस्वतीलाई विद्या र बुद्धिकी प्रतिकको रुपमा मानिन्छ । यो परम्परा वैदिक कालदेखि नै चलिआएको हो । दुर्गाले आसुरी प्रवृत्तीमाथि विजय प्राप्त गरेको धार्मीक मान्यता रहेको छ । आसुरी प्रवृत्ती भन्नाले, केही राक्षसहरु, चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायत राक्षसलाई बध गर्न दुर्गाले नौं वटा रुपहरु लिएकी थिइन् भन्ने धार्मीक र सांस्कृतिक मान्यता रहेको छ । यो आराधनाले मानिसलाई सत्यको बाटोतिर लाग्न प्रेरणा पनि दिने मान्यता राखिन्छ ।
यो पन्ध्र दिनको अवधिलाई दुर्गापक्षको रुपमा पनि लिइन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौ दिन स्कन्धमाता, छैँटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
दशैंको पहिलो दिन र शैलपुत्री
नवरात्रको पहिलो दिन शैलपुत्री देवीको उपासना गरिन्छ । पूजाआरधना गरेर मनाइँन्छ । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी पार्वती भएकीले शैल पुत्री भनिएको हो । दुर्गा भवानीका नौ स्वरुपमध्ये शैलपुत्री पनि एक हो । शैलपुत्रीले दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएकी हुन्छिन् । बसाहको सवारी गरेकी हुन्छिन् । शैलपुत्री स्वरूपा देवीको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ । मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन् । यस दिन गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुने मान्यता राखिन्छ । शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनु पर्ने उल्लेख छ । साथै कंदमूल वा ऋतु फल चढाउनु भनिएको छ ।
दशैंको दोस्रो दिन र ब्रह्मचारिणी
दोस्रो दिन देवी ब्रहमचारिणीको पूजा आराधनाको दिन मानिन्छ । ‘ब्रह्म’ शब्दका धेरै अर्थ छन् । तीमध्ये ‘तपस्या’ पनि ब्रह्म शब्दको एउटा अर्थ हो । ब्रह्मचारिणी भनेको ‘तपस्या गर्ने स्त्री’ भन्ने अर्थ हुन्छ । दुर्गाको सन्दर्भमा देवीको तपस्यारत अवस्थालाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीपनि हिमालयपुत्री पार्वतीकै एउटा रूप हो । भगवान् शंकरको सान्निध्यका लागि यिनले नारदका उपदेशले हजारौँ वर्ष तपस्या गरेको उल्लेख पाइन्छ । तपस्याका क्रममा यिनले एक हजार वर्ष फलाहार मात्र खाएर बिताएकी थिइन् । सय वर्ष सागमात्र खाएर तपस्या गरेकी थिइन् भने तीन हजार वर्ष आफै भुइँमा झरेर सुकेका बेलपत्र खाएर तपःसाधना गरेकी थिइन् । तपस्यालाई अझ कठोर बनाउँदै यिनी हजारौँ वर्षसम्म निराहार रही शिवजीको ध्यानमा मग्न रहिन् ।
ब्रह्मचारिणीलाई देदीप्यमान् आभा भएकी, साधारण तर उज्ज्वल वेशभूषाले युक्त, दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ । यिनी सौम्य र शान्त रूपकी देवी हुन्। नवदुर्गाको दोस्रो दिन यिनै ब्रह्मचारिणीको पूजा–आराधना हुन्छ सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ ।
दशैंको तेस्रो दिन र चन्द्रघण्टा
शारदीय नवरात्रको तेस्रो दिन आश्विन शुक्ल तृतीया हो । यस दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । यिनलाई युद्धकी देवी पनि मानिन्छ । चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ । शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्वाण आदि अस्त्रशस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन् । यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ ।
घण्टा देवीको प्रिय वाद्य हो । त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्व छ । घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ । त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ ।
यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन् । युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूर्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन् । सेवकका लागि भने यिनी सुमधुर स्वर, संगीत र कलाकी स्रोत हुन् । स्वरसाधक, संगीतकर्मी र कलाकारले यिनको उपासना गर्नाले आफ्नो अभीष्ट प्राप्त गर्छन् ।
दशैंको चौथो दिन र कुष्माण्ड
नवरात्रको चतुर्थीको दिनलाई दशैंको चौथो दिन भनिन्छ । यस दिनमा देवी कुष्मान्डको पूजा गरिन्छ । ‘कुष्मान्ड’ को अर्थ ‘कुभिण्डो’ हो । त्यसकारण, यो तरकारी यस देवीलाई बलिको रूपमा चढाइन्छ । यिनले यो ब्रह्माण्ड उनको मुस्कानले बनाईरहेको विश्वास गरिन्छ । कुष्मान्डालाई आठ हात भएकी देवी मानिन्छ । जसमा कमाण्डलु, धनु, तीर कलश, अमृत, गाडा, चक्र र रगतले भरिएको भाँडो बोकेकी हुन्छिन् । चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालकहरूका लागि रोकिएको वाणी खुल्ने छ । उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
दशैंको पाँचौं दिन र स्कन्धमाता
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
दशैंको छैटौँ दिन र कात्यायानी
नवरात्रको छैटौँ दिन दुर्गा भवानीको छैटौँ शक्ति स्वरुपा कात्यायनी देवीको पूजा गरिन्छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको मान्यता राखिन्छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार समेत मानिन्छ ।
दशैंको सातौँ दिन र कालरात्री
दुईवटा महत्वपूर्ण रातहरु महाअष्टमी र महासप्तमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गरेर दशैंका दिनमा विसर्जन गर्ने समेत गर्दछन् ।
दशैं आठौँ दिन र महागौरी
नवरात्रको आठौँ दिन महागौरीको रुपमा मानिन्छ । यस दिन स्वरूपा नवदुर्गा भवानीको आराधना गरिन्छ । उक्त दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।
दशैंको नबौँ दिन र सिद्धिदात्री ?
दशैको बेलामा नवौँ देवीको रुपमा सिद्धिदात्रीको पूजा गरिन्छ । यिनलाई सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी मानिन्छ । यीनकोपूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ । भगवान शिवले पनी यिनै देवीको कृपाले आठ सिद्दी प्राप्त गरेको मान्यता छ धार्मीक ग्रन्थ र धार्मीक मौखिक कथाहरुमा समेत पाइन्छ । सिद्धिदात्रीको कृपाले शिवजी लेआधा शरीर देवीको रुप धारण गरेको मानिन्छ । हातमा चक्र, गदा तथा शंख सहित आसन कमलको फूलमा गर्ने देवीमा यिनी पर्छिन् ।
समग्रमा धर्म संस्कार चाडपर्व र मूल्यमान्यताको आफ्नै अर्थ हुन्छ । मानिसलाई एउटा सम्बन्ध स्थापित गर्न स्थापित सम्बन्धलाई अपडेट गर्न समेत चाडपर्वको मौलिक महत्व रहेको हुन्छ । यसरी दशैं आरम्भका नौवटा दिनहरुको विशेष महिमा र अर्थ रहेको छ ।
(लेखकः श्री अमरज्योति मावि नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । ५ कार्तिक २०८०, आईतवार १६:०७