सुर्खेतको चिङ्गाड गाउँपालिका–१ स्थायी ठेगाना भएकी लक्ष्मी भुषाल ३८ वर्षको भईन् । वीरेन्द्रनगर नगरपालिका–१० मा नै उनले सिलाई कटाई व्यवसाय सञ्चालन गरेकी छिन् ।
विगत १२ वर्षदेखि उनले सिलाई कटाईलाई मुख्य आर्जनको माध्यम बनाइरहेकी छिन् ।
आर्थिक उपार्जनको सजिलो उपाय सिलाई कटाई बनाएकी उनले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् । उनले १० वर्षसम्म अरुकै टेलरमा धाएर नै सिलाई–कटाई सिकाई गरेकी थिइन् ।
श्रीमान्ले टेलर्स व्यवसाय सञ्चालन गरेर निरन्तरता दिन सघाएपछि उनले हाल लक्ष्मी टेलर्स मार्फत सीपलाई निरन्तरता दिएकी छिन् । कहिले कोठा भाडामा लिएर त कहिले अरुको टेलर्समा काम गरेकी लक्ष्मी अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी छिन् । उनले व्यवसायिक रूपमै यो काम गर्न थालेको १२ वर्ष भइसक्यो ।
उनको व्यवसायमा हाल तीन वटा लुगा सिलाउने मेशिन छन् । २०६८ सालबाट उनले वीरेन्द्रगरमा सिलाई–कटाई व्यवसाय गर्न थालेकी हुन् । अहिले आफ्नो पेशा सिलाई–कटाई सीप प्रति निकै सन्तुष्ट रहेको लक्ष्मीले बताईन् ।
लक्ष्मीले भनिन्, ‘निरन्तर काम गरे त राम्रो छ । मैले अझ बढाएर केही दिदीबहिनीहरूलाई रोजगारी दिने लक्ष्य लिएकी छु ।’ उनले आफ्नो लगानी कटाएर मासिक ७० हजार रुपैयाँसम्म कमाई हुने गरेको बताइन् ।
उनले भनिन्, ‘चाडपर्वको समयमा त अझै राम्रो कमाई हुन्छ । म प्रत्येक दिन बिहान ५ बजेबाट काम शुरु गरि राती १० बजे सम्म पनि सिलाई–कटाई गर्ने गर्छु ।’ चाडपर्वको बेला धेरै भिड हुने भएकाले कतिपय ग्राहकलाई त फिर्ता समेत पठाउनुपर्ने वाध्यता रहेको लक्ष्मीले बताईन् । अहिले उनले एउटा मेसिनमा आफू सिलाउने र दुई वटा मेशिनमा दुई जनालाई सीप सिकाइरहेकी छिन् । उनको श्रीमान् नेपाली सेना हुन् । लक्ष्मीको काम प्रति लक्ष्मीको श्रीमान् पनि निक्कै सन्तुष्ट भएको लक्ष्मीले बताईन् ।
उनले भनिन्, ‘अहिलेको जमाना र बढ्दो महँगीमा एक जनाको मात्रै कमाईले केही गर्न सकिँदैन । एक जनाले जति कमाए पनि खर्च चलाउन मुस्किल हुन्छ आफु पनि आत्मनिर्भर हुनुपर्छ भन्ने कुरामा श्रीमान्ले पनि प्रोत्साहन गरिरहनुहुन्छ ।’
थोरै लगानीबाट पनि व्यवसाय गर्न सकिने हुँदा अरूकोमा काम खोज्नुभन्दा आफु स्वयम्ले नै व्यवसाय शुरु गर भनेर सुझाव पनि दिएपछि आफुले टेलर सञ्चालन गरेको बताईन् ।
वि.सं. २०६६ सालमा उनले सिलाइ–कटाई तालिम लिइन् । उनले काठमाडौं सुर्यविनायक टेलरमा सिलाई–कटाई तालिम लिएकी थिईन् ।
उनले सिलाई–कटाई तालिम दुई महिना मात्र लिएकी हुन् । केहि समय उनले यो पेशा छोडेर सुइटर, टोपी, साडिमा बुट्टा हान्ने लगायतको काम गरेको बताउँछिन् । उनी भन्छिन् ‘आखिर काम सानो ठुलो के नै हुन्छ र ? जे गरे पनि आफ्नो आर्थिक उपार्जन गर्ने हो । यो पेशामा धेरै खुशि छु ।’
यसरी शुरु भयो व्यवसाय
श्रीमान् नेपाली सेनाका कार्यरत भएपछि छोराछोरीलाई पढाउनका लागि लक्ष्मी काठमाडौं पुगेकी थिईन् ।
उनलाई काठमाडौं शहरमा श्रीमान्को कमाईले मात्र खान, बस्न धेरै गाह्रो भयो । लक्ष्मीको एक छोरा र एक छोरी छन् । उनीहरुलाई पढाउन आर्थिक अभावले झेल्दै गयो ।
श्रीमान्को कमाईले मात्र पुग्ने नभएपछि लक्ष्मीले सिलाई–कटाई सिक्ने निर्णय गरिन् । र, लक्ष्मीले सिलाई–कटाई तालिम लिईन् । काठमाडौंमा आफुलाई त्यति सहज नभएपछि उनी सुर्खेत आईन् । सुर्खेत आएपछि लक्ष्मी अरुकै टेलरमा काम गर्न थालिन् ।
अरुको टेलरमा काम गर्दा महिनामा सात हजार रुपैयाँ थियो । त्यहि पनि कहिले पाउँथिन् त कहिले पाउँदैनथिन् ।
अरुकोमा टेलरमा काम गर्दा झन्झट भएपछि लक्ष्मीले आफुले नै टेलर सञ्चालन गर्ने निर्णय गरिन् । उनले दुईवटा कोठा भाडा लिएर टेलर व्यवसाय सञ्चालन गरेको बताईन् । भाडामा पनि उनलाई धेरै समस्या भयो । उनको श्रीमानले पसल खरिद गरेर टेलर सञ्चालन गर्ने भनेपछि पसल किनेर अहिले लक्ष्मीले ‘लक्ष्मी टेलर्स’ सञ्चालन गरेकी छिन् । अहिले घरमा आवश्यक पर्ने आर्थिक खर्च, छोराछोरीलाई पढाउँने खर्च लगायत यही टेलर्सबाट आम्दानी हुने गरेको लक्ष्मी बताउँछिन् ।
सिलाई–कटाई व्यवसायमा आकर्षण बढि
कुनै समय चुलो चौकोमै सिमित हुने महिलाहरु पछिल्लो समय अन्य पेशा व्यवसाय तर्फ पनि आवद्ध हुँदै गएको लक्ष्मी भुसाल बताउछिन् । पछिल्लो समय महिलाहरुले पनि विभिन्न सीप सिकेर व्यवसायीक हुँदै गएको उनको भनाई छ । महिलाहरुले पनि सीप सिकेर आफ्नो खुट्टामा आफै उभिन सक्छन् भन्ने प्रशस्तै उदाहरण प्रस्तुत गरेको उनले बताईन् ।
सामान्य लेखपढ गर्न सक्नेले पनि सिलाई कटाई पेशा अंगाल्न सक्ने तथा थोरै लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि यो पेशा प्रति महिलाहरुको आर्कषण बढ्दै गएको लक्ष्मीले बताईन् ।
साथै सिलाई कटाई पसलको काम सकेर पनि घरको काम गर्न सकिने भएपछि यो पेशा झनै सहज बन्ने गरेको उनको भनाई छ ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । १४ कार्तिक २०८०, मंगलवार १४:०१