कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियो र मोटरसाइकल ठोकिँदा एक जना घाइते भएका छन् ।
शनिवार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग११प ८१५७ नम्बरको मोटरसाइकल ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्री बस्ने १८ वर्षीय विमल खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए । प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए ।
दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुखसहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
युग संवाददाता । सुर्खेत । १८ कार्तिक २०८०, शनिबार १९:११