मोडल दिपाशा बिसी ‘जलपरी’ ले गरिन् आत्महत्या

मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।

निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई बुधवार राति नर्भिक अस्पताल ल्याइएको थियो । बिहिवार दिउँसो डाक्टरले मृत घोषित गरेका हुन् ।

सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।

त्यसो त दिपाशा म्यूजिक भिडिओमा सक्रिय नै थिइन्। देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो। बुझिए अनुसार उनीसँग क्यानाडाको पाँच वर्षको भिसा समेत थियो।

उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन्। ४० जनाको टोली क्यानाडा गएकोमा अधिकांस उतै बसेका थिए भने ५-७ जना मात्रै फर्किएका थिए । फर्किनेमा दीपाशा पनि थिइन् ।

दिपाशाले व्यवसाय पनि गर्थिन्। उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।

स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् । कलाकारिताभन्दा बाहिरका पुरुषसँग उनी प्रेममा थिइन् ।

दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया