सरसफाईसँग प्रत्यक्ष जोडिएको शौचालय पूर्वाधार पहिलो आधारभुत आवश्यकता हो । घरहरुमा शौचालय निर्माण नभए यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्छ नै । तर कर्णालीमा अझैपनि हजारौंको संख्यामा शौचालय नभएका घरधुरी रहेको देख्दा कर्णालीले सरसफाईका क्षेत्रमा ध्यान नदिएको देखिन्छ । राष्ट्रिय जनगणना, २०७८ का अनुसार कर्णालीमा नौं हजार पाँच सय ९६ घरधुरी शौचालय विहिन रहेको तथ्यांक छ । कर्णालीमा कुल तीन लाख ६६ हजार ३७ घरधुरी छन् । कुल घरधुरी मध्ये दुई दशमलव ६२ प्रतिशत घरधुरीमा शौचालय निर्माण नभएको जनजणनाले जनाएको छ । नेपालभर हेर्दा चार दशमलव २९ प्रतिशत घरधुरी शौचालय विहिन रहेको देखिन्छ ।
यहाँ कर्णालीमा सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाई तथा स्वच्छताका क्षेत्रमा काम नगरेका पनि होइनन् । घरमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन, राम्रोसँग साबुन पानीले हात धुने विधि लगायतका विषयमा नागरिकलाई सचेत बनाइएको पाइन्छ । तर हालसम्म पनि शौचालय नै नभएका घरधुरीका विषयमा अझैपनि सरकारी निकाय र गैरसरकारी संस्थाको ध्यान नजानु गम्भिर विषय हो । शौचालयको पहिलो जरुरत यो पूर्वाधार नभएका घरधुरीका लागि हो । तर हामीले कोलाहल तथा व्यस्त रहने स्थानलाई लक्षित गरेर मात्र सार्वजनिक शौचालय निर्माण गरिरहेका छौँ । यसरी निर्माण भएका सार्वजनिक शौचालयहरु कति त प्रयोगविहिन जस्तै बनेका छन् । शौचालय गएपछि राम्रोसँग साबुन पानीले हात धुने सिकाइने कर्णालीमा नौं हजार बढी घरधुरीमा शौचालयको नै व्यवस्था नहुनु दुःखद् विषय हो । कर्णालीमा प्रत्येक जिल्लामा करिव एक हजारको संख्याका घरधुरीमा शौचालय पूर्वाधार निर्माण नै भएको छैन । जिल्लागत रुपमा हेर्दा सुर्खेतमा अझैपनि दुई हजार एक सय ७३ घरधुरी शौचालय विहिन छन् । दैलेखमा एक हजार एक सय २०, सल्यानमा एक हजार ८३ र जाजरकोटमा एक हजार ६६ घरधुरी शौचालय विहिन रहेको जनगणनाले जनाएको छ । कालीकोटमा नौं सय २८, डोल्पामा सात सय ५१, मुगुमा ६ सय ८५, जुम्लामा ६ सय ४९, हुम्लामा ६ सय एक र रुकुम पश्चिममा पाँच सय ४० घरधुरी शौचालय विहिन रहेको जनगणनाको तथ्यांक छ ।
केहि वर्ष पहिले मात्र खुला दिशापिसाव मुक्त क्षेत्र घोषणा गरिएका कर्णालीका जिल्लामा अझैपनि हजारौँको संख्यामा शौचालयको अभाव छ । समुदायमा पानीबाट सर्ने रोग न्यूनिकरणमा शौचालय पूर्वाधारको निकै महत्वपूर्ण भूमिका हुन्छ । यसले संक्रामक रोगहरु समुदायमा फैलनबाट रोकथाम गर्छ, दिशापिसावलाई सुरक्षित तवरमा विर्सजन गर्न सकिन्छ । प्रत्येक घरका लागि पहिलो पूर्वाधार रहेको शौचालय निर्माणका लागि स्थानीय तह नै पहिले सक्रिय हुन जरुरी छ । शौचालय अभाव रहेका स्थानको पहिचान, निर्माणमा समन्वय तथा दवाव सिर्जना गर्नु स्थानीय तहको मुख्य भूमिका हो । त्यसैगरी सरसफाई तथा स्वच्छताका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरु समेत स्थानीय तहसँगको समन्वयमा शौचालय निर्माण कार्यका लागि जुट्नुपर्छ । आफुखुशी कार्यक्षेत्र छनोट गरिरहेका ति गैरसरकारी संस्थालाई आवश्यकता रहेका स्थानमा सक्रिय गराउनुपर्छ ।
युग संवाददाता । सुर्खेत । ४ मंसिर २०८०, सोमबार १५:४२