बाल विवाहले रोकेको जीवन

खाँडाचक्र नगरपालिका–४ की कल्पना (नाम परिवर्तन) १७ वर्षकी भइन् । यसअघि यी किशोरीसँग थुप्रै सुनौला सपनाहरु थिए । पढौंला, जागिर गरौंला अनि सुखी र खुशी जीवन बिताउँला भन्ने लाग्थ्यो । सोहि योजना अनुसार उनी कक्षा ८ मा पढ्दै पनि थिइन् ।

तर पछिल्लो चार वर्ष यता उनी जीवनको अफ्ठेरो पल बिताइरहेकी छन् । उमेरले सानै छिन्, अहिले पनि उनलाइ स्कूल जाने रहर छ, आमावुवाको काखमा लुटिपुटि गर्दै रमाउन मन छ । तर त्यो सबै गर्ने अवसर छैन । किनकी यी किशोरीको साथमा तीन वर्षकी छोरी छिन् ।

छोरीको मायाँले हुरुक्कै बनाउँछ । उनलाइ मायाँ गर्ने श्रीमान् भने उनको साथमा छैनन् । कक्षा ८ मा पढ्दा पढ्दै खाँडाचक्र नगरपालिका–६ का एक युवकसँग उनको प्रेम बस्यो । कलिलो उमेर, के राम्रो, के नराम्रो थाहा नै भएन । कल्पना र ति युवकविच प्रेम झांगिदै गयो । कल्पना १३ वर्षकी हुँदा ति युवक १८ वर्षका थिए ।

भेटघाट बढ्यो, मायाँ प्रेम पनि बढ्दै गयो । यि युवकलेनै अत्याधिक कर गर्न थालेपछि कल्पनाले पढाइ छोडेर विहे गर्ने निधो गरिन् । कल्पना भन्छिन्, ‘त्यतिबेला भाग्दिन पनि थिए होला दिनका दिन विवाह गरौं भन्ने, तिमी नपाए मर्छु भन्ने गर्थे । सानो उमेर के गर्ने मेसो भएन, विवाह गरिहाँले ।’

१३ वर्षको कलिलो उमेरमा कल्पनालाइ विवाह गरेर आफ्नो घर लिएका ति युवकले अहिले कल्पनालाइ छाडेर हिँडेका छन् ।

विवाह गरेपछि कल्पनाको पढाइ छुट्यो । उनको बालापन पनि छुट्यो । बालापनमा नै व्यवहारिक बनेर घर व्यवहार धान्नुप¥यो । १३ वर्षको उमेर प्रेमको लागि घर छोडेर हिँडेकी कल्पनाले श्रीमान्को घरमा प्रेम होइन अपमान धेरै पाइन् । उनी भन्छिन्, ‘आमा बुवाको काखमा खेल्नुपर्ने उमेरमा सासु ससुराको भनाई खाँए । साथि भाईसँग रमाउने उमेरमा श्रीमानको याताना पाए ।’ विवाह गरिसकेपछि सवै घरपरिवारका जुठा भाडा माझ्नु पर्ने, विहानै उठ्नुपर्ने, पानी पँधेरो गर्र्नुपर्ने, खाना पकाएर खुवाउनुपर्ने साथै खेतबारीको काम गर्नु त सामान्य नै थियो उनको लागि । त्यसमाथी घरपरिवारबाट जस नपाउनु र श्रीमान्को यातना पनिसँगै हुनुले उनको शारिरिक र मानसिक अवस्था नै बिग्रने स्थितिमा पुग्यो ।

कालीकोटमा बाल विवाह अझै उस्तै

कालीकोटमा अझै पनि बाल विवाह रोकिएको छैन । बालबालिकाहरु आफुखुसी विवाह गर्ने क्रम क्रम घटेको छैन । आफूखुसी विवाह गर्दा उजुरी नहुने हुँदा यस्ता वालविवाहको उजुरी सम्बन्धित पालिका वा प्रशासनमा समेत आउदैनन् । कानून अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न पाइदैन ।

कालीकोटमा कम उमेरमा विवाह गर्नेहरुको संख्या न्युनिकरण नभएको अधिकारकर्मी वीरेन्द्रबहादुर बुढा बताउछन् । स्थानीय तह तथा गैरसरकारी संस्थाहरुको पहलमा बाल विवाह केहि हदसम्म रोकिए पनी आन्तरिक रुपमा भने उस्तै रहेको उनले बताए ।

यता जिल्ला अस्पताल, कालीकोटमा २०७९/०८० देखि हालसम्ममा २० वर्ष मुनिका तीन सय ७२ जना महिलाले बच्चा जन्माएको तथ्यांक छ । यो तथ्यांक अस्पताल पुगेर बच्चा जन्माउनेहरुको मात्रै हो ।

स्थानीय तहका स्वास्थ्य चौकी र घरमा नै बच्चा जन्माउनेहरुको संख्या अझ धेरै छ । कतिपयले भने स्वास्थ्य चौकी तथा अस्पतालमा उमेर ढाँटेर पनि स्वास्थ्य जाँच गराउने गरेका समेत छन् । कतिले नियमित स्वास्थ्य जाँच नै नगराइ बच्चा जन्माएको पाईन्छ ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार २०७९/०८० देखि हालसम्म बाल विवाहका चार वटा उजुरी परेका छन् । अधिकांश बाल विवाहका विषयहरु गाउँ स्तरमा नै मिलापत्र पर्ने भएकाले प्रहरीकोमा त्यति धेरै उजुरी पनि आउदैनन् ।

कालीकोटमा बाल विवाह रोकथामको लागि विभिन्न अभियान समेत चलिरहेको छ । वडा तथा पालिका स्तरमा बालक्लव तथा संजालहरु सक्रिय रहेका छन् । तर पनि बाल विवाह गर्ने क्रम रोकिएको छैन ।

बाल विवाहको यो परिस्थितिलाइ कसरी कम गर्न सकिएला भन्ने प्रश्नमा कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भने, ‘औपचारिक तथा अनौपचारिक शिक्षा दिने, विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने र स्थानीय सरकारले पनी बाल विवाह न्युनिकरणका क्षेत्रमा रकम विनियोजन गरे बाल विवाह न्युनिकरण गर्न सकिन्छ ।’

बाल विवाह रोक्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशिल रहेपनि उपलब्धी भने न्युन देखिएको प्रमुख जिल्ला अधिकारी नेपालीको भनाई छ ।

श्रीमानले दोस्रो विवाह गर्दा झन् समस्या

कलिलै उमेरमा नजानी, नबुझी बिहे गर्दा उनलाइ अहिले पछुतो लाग्छ । उनको श्रीमान् अहिले दोस्रो विवाह गरेका छन् । अर्कै केटी लिएर उनी भारतमा लुकेर बसेका छन् । कल्पनालाइ वास्ता गर्दैनन् । छोरीको लागि आवश्यक खर्च समेत व्यहोर्दैनन् । माया प्रेम त परको कुरा । श्रीमानले नै वास्ता नगरेपछि उनका परिवारले समेत उनलाइ हेर्दैनन् ।

अहिले उनी एक्लै जीवनको संघर्ष गरिरहेकी छन् । साथमा रहेकी छोरीलाइ कसरी पालन पोषण गर्ने ?, उनलाइ दिनरात छोरीकै चिन्ता हुन्छ । छोरीको स्वास्थ्य समेत राम्रो छैन, लालनपालन समेत प्रभावित भएको छ । उनी भन्छिन्, ‘के गर्नु दुइ छाक भात खान त मुस्किल छ छोरीलाइ के खुवाएर हुर्काउ ? कसरी पोषिलो खानेकुरा दिउँ ?’

विवाह गर्ने उमेर नपुग्दै विवाह गरेकाले कल्पनाको विवाह दर्ता समेत छैन । विवाह दर्ता नहुँदा उनले श्रीमान्सँग कानूनी रुपमा कुनै पनि अधिकार समेत लिन पाएकी छैनन् । उनलाइ अहिले सानै उमेरमा विवाह गरेकोमा र पढाइ छाडेकोमा पछुतो छ । उनले भनिन्, ‘आफु पढेको भए, उमेर पुगेर विवाह गरेको भए कमजोर हुने थिइन, कसैको भनाई पनि खानु पर्थेन् ।’उनी अहिले आफ्ना साथी भाईहरुलाई बाल विवाह नगर्न सुझाव दिन्छिन् । धेरै पढेर उमेर पुगेर विवाह गर्न सुझाव दिने गरेको कल्पनाले बताईन् । १६ वर्षको उमेरमा नै श्रीमानले अर्की केटी लिएर भारततिर गएपछी कुनै सम्पर्क छैन । कल्पनाका श्रीमान्सँगै गएकाहरु फर्किए । तर उनको श्रीमान् आउने समेत कुनै अत्तोपत्तो छैन ।

तपाईको प्रतिक्रिया