आन्तरिक राजश्व कार्यालय जुम्लाले सबैभन्दा धेरै कर तिर्ने तीन जनालाई करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० समापनका अवसरमा जुम्लाका जिल्ला न्यायाधीश राजेश कुमार कटुवालले उत्कृष्ट करदातालाई सम्मान गरेका थिए ।
आन्तरिक राजस्व कार्यालय जुम्लाले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका हुन् । आर्थिक वर्ष २०७८-७९ को कारोवारबाट सर्वाधिक आयकर तिर्ने र कर अनुशासन परिपालनामा उत्कृष्ट देखिका करदाताहरुलाई प्रमाणपत्र, फुलको माला र दोसला ओडाएर सम्मान गरिएको कर अधिकृत धनसिंह थापाले बताए ।
करदातालाई कर तिर्नका लागि प्रात्साहित गर्न हप्ता दिनसम्म कर सप्ताह मनाइएको उनको भनाइ छ । सबैभन्दा धेरै आयकर तिर्ने जुम्लाका विपिन टेड्रर्स मुगुका एन.वि.कन्ट्रक्सन र कालिकोट जिल्लाका हिमचुली सहकारी संस्था रहेका छन् ।
आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्ला, कालिकोट र मुगु पनि रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत सुब प्रसाद रिजालले बताए ।
उनले भने, ‘कर डरले नभइ रहरले तिर्नुपर्ने हुन्छ । राज्यको अर्थतन्त्र बलियो आधार भनेको करनै भएको छ ।’ रिजालका अनुसार १५ हजार पाँच करदाता आयकरमा दर्ता भएका छन् । जस मध्ये मूल्य अभिवृद्धि करमा एक हजार चार सय ९३ करदाता छन् ।
यस्तै मदिरा र सुर्तीजन्य कारोबार गर्नेगरि अन्तःशुल्कमा आठ सय ५० करदाता दर्ता देखिन्छन् । यसैगरी पिपिएन तर्फ १५ हजार पाँच सय ५४ र डब्लूएन तर्फ तीन सय ८५ करदाताहरु दायरामा आएका छन ।
तीन जिल्लाको कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय जुम्लामा नौं दशमलव ३१ प्रतिशत जनसंख्या मात्रै करको दायरामा आएको उनले बताए ।
सूचनाको प्रविधिको प्रयोग र कर चेतनाको कमी छ । भौगोलिक विकटता र दुरीको कठिनाइ केही मात्रामा घटेपनि अझैसम्म कायमै छ ।
नेपाल सरकारको सरकारको निर्णय अनुसार २०६९ देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो । विभिन्न कर सचेतनामुलक, जागरण जगाउने सुचनामुलक अतिरिक्त क्रियाकलाप गर्ने र उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम हुने गरेका छन् । यता जुम्लाका जिल्ला न्यायाधीश राजेश कुमार कटुवालले राज्यलाई तोकिएको कर तिर्नु नागरिकको दायित्व भएको बताए ।
गाेल्डेन बुढा । जुम्ला । ७ मंसिर २०८०, बिहीबार १७:२०