कर्णालीमा सवारी साधनको राजश्व संकलन बढ्यो सडकको अवस्था भने उस्तै

विगत तीन आर्थिक वर्षमा कर्णालीमा सवारी साधनको राजश्व संकलन बढ्न थालेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७९/०८० मा सात करोड ५१ लाख बढी राजश्व संकलन भएको छ ।

यातायात व्यवस्था कार्यालय, सुर्खेतले तीन आर्थिक वर्षमा कुल ६१ करोड ९७ लाख ८९ हजार नांै सय ६९ रुपैयाँ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले २४ करोड नौ लाख २० हजार दुई सय ४५ रुपैयाँ राजश्व संकलन गरेको छ । यसैगरी २०७८/०७९ मा २१ करोड ३० लाख ८२ हजार नौं सय ४९ रुपैयाँ राजश्व संकलन भएको थियो । २०७७/०७८ मा भने १६ करोड ५७ लाख ८६ हजार सात सय ७५ रुपैयाँ राजश्व संकलन भएको यातायात व्यवस्था कार्यालय, सुर्खेतका निमित्त कार्यालय प्रमुख मदनकुमार गिरीले जानकारी दिए ।

कर्णालीमा हालसम्म २५ हजार बढी सवारी साधन दर्ता भइसकेका छन् । संख्यात्मक रुपमा हेर्दा २५ हजार एक सय ७० सवारी साधन मध्ये मोटरसाइकलको संख्या सबै भन्दा बढी छ । हालसम्ममा कर्णालीमा १८ हजार तीन सय ११ वटा मोटरसाइकल दर्ता भएका छन् । सरकारी मोटरसाइकल तर्फपनि आठ सय ३९ वटा कर्णालीमा दर्ता छन् । त्यसैगरी सार्वजनिक अटोरिक्सा एक हजार एक सय २३ र निजि अटोरिक्साको संख्या एक हजार एक सय दुई वटा रहेको कार्यालय प्रमुख गिरीले जानकारी दिए । कर्णालीमा हाल नांै सय २५ वटा सार्वजनिक बस दर्ता भएका छन् । निजि कार र भ्यान तर्फ सात सय ८६ वटा रहेको उनले बताए ।

निजि विद्यालयहरुले कर्णालीमा सात सय ५१ वटा बस सञ्चालन गरेका छन् । पाँच सय ९७ वटा सार्वजनिक गाडी, पाँच सय ४१ वटा ट्याक्टर र एक सय ९६ वटा सरकारी गाडी यातायात व्यवस्था कार्यालय, सुर्खेतमा दर्ता भएको निमित्त कार्यालय प्रमुख गिरीले जानकारी दिए ।

१५ किलोमिटर सडक मात्रै कालोपत्रे

सुर्खेतमा २०७९/०८० मा १५ दशमलव ९४ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ । यस आर्थिक वर्षमा ग्राभेल सडक भने ५७ दशमलव ३५ किलोमिटर निर्माण गरिएको छ ।

सडक स्तरोन्नति (नाला निर्माण सहित) को काम भने ४० दशमलव २२ किलोमिटर सम्पन्न भइसकेको छ । माटोको सडक ३८ दशमलव ७१ किलोमिटर निर्माण भएको पूर्वाधार विकास निर्देशनालय, सुर्खेतका सूचना अधिकारी हरि शर्मा धितालले जानकारी दिए ।

समयमा टेण्डर नहुँदा कालोपत्रे कम भयोः पूर्वाधार मन्त्री

समयमा नै टेण्डरका प्रक्रियाहरु सम्पन्न हुन नसक्दा कर्णालीमा सडक कालोपत्रेका कामहरु नभएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगलबहादुर शाही बताउँछन् ।

बहुवर्षिय योजनाका कुनै पनि टेण्डर नभएकाले कालोपत्रे सडकको कामहरु नभएको उनको भनाई छ । उनले भने, ‘बहुवर्षिय योजनाका काम भएमा पश्चिमको एक सय किलोमिटरको सडक कालोपत्रे गर्ने योजना छ । अहिले भौतिक पूर्वाधार मन्त्रालयबाट सडकको ठाउँ–ठाउँमा साईनबोर्ड राख्ने, सडक रङ्गरोगन गर्ने कामहरु भईरहेको छ ।’

हाल वीरेन्द्रनगर बजारको सडक छेउछाउमा रङ्गरोगन गर्ने कामहरु भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया