२०८० सालको दीपावली, भाइटीकाको अघिल्लो दिन थियो । मुड फ्रेस र दृश्य अवलोकनको निहुँमा गुरासेँतिर लागेँ । गुराँसे, सुर्खेत उपत्यकादेखि करिब २५–२६ किलोमिटर उत्तरपूर्वमा रहेको छ । यो दैलेख जिल्लाको गुँरास गाउँपालिकामा पर्छ । मेरो साथमा छोरा गिनिज पनि थिए । बाबु छोराको मोटरसाइकल यात्रा थियो । गुराँसे पुगेर फर्कदै गर्दा सिद्धपाइलाको डाँडामा बसेर उपत्यकाको रमाइलो नियाल्ने विचार भयो । हामी रोकियौँ ।
उपत्यकाको बारेमा अवलोकन गरिरहेकै बेला दुईजना महिलाहरु एक–आपसमा कुराकानी गरिरहेका थिए । मैले देखेँ, तर उनीहरुलाई मलाई देखेनन् ।
उनीहरुले मेरी स्टोप्स्को बारेमा धेरै कुरा गर्दै थिए । मैले ध्यान नदिए झैँ गरेर सुनेँ । उनीहरुका सबै कुराहरु मेरी स्टोप्स्प्रति सकारात्मक र तारिफका थिए । उनीहरुको कुराले मलाई मेरी स्टोप्स्का बारेमा कौतुहलता जगायो ।
तिहार पछिको एक दिन मेरी स्टोप्स् छिरेँ । त्यहाँ गणेश आचार्य, मीना आचार्य र जुली बुढा (खड्का)सँग भेट भयो । मेरो लागि त्यहाँ विरानो कोही थिएन । मेरी स्टोप्स्को बारेमा लामै गफगाफ भयो । त्यो पनि अनौपचारिक रुपमा ।
मेरी स्टोप्स् इन्टरनेशनल सुनौलो परिवार नेपालको नाममा रहेको छ । यो एक सामाजिक संस्था हो । स्वास्थ्य क्षेत्रमा यस संस्थाले काम गरिरहेको छ । नेपालमा सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैर सरकारी संस्था हो । मेरी स्टोप्स् सुर्खेतमा भने वि.सं. २०६१ सालको असारमा स्थापना भएको थियो । हुन त सुनौलो परिवार नेपालको रुपमा नेपालमा रहेपनि मेरी स्टोप्स् कै नामबाट यो लोकप्रिय भएको छ । खास ‘मेरी स्टोप्स्’ त एक ब्रिटिस लेखक तथा महिला अधिकार अभियानकर्ता थिइन् । उनले दुख पाएको र पैसाको कारणले स्वास्थ्य सेवा लिन नसकेका महिलाहरुको लागि आफ्नै घरमा स्वास्थ्य संस्था खोलिछिन् । यसैलाई उनले विश्वका विभिन्न स्थानमा मेरी स्टोप्स् इन्टरनेशनलको नामले विस्तार गरिछिन् । त्यसैले यसको मुख्य कार्यालय अहिले पनि बेलायतको लण्डनमा छ । यसको लक्ष्य अनिच्छित गर्भको रोकथाम गर्नु हो । सुनौलो परिवार नेपालले ‘सन्तान करले होइन रहरले जन्माओँ’ भन्ने उद्देश्य राखेर सामाजिक सेवा गरिरहेको एक संस्था रहेछ । यहाँ महिलाको व्यक्तिगत अधिकारको सम्मान गरेको छ । सुरक्षित गर्भपतनमा यसले उल्लेखनिय भूमिका खेलेको छ । यसका अतिरिक्त परिवार नियोजनका सेवाहरु पनि प्रदान गर्ने गरेको छ ।
भ्यासेक्टोमी, मिनिल्याप, कपरटी, इम्प्लान्ट, डिपो पिल्स र कण्डम निशुल्क सेवा प्रदान गर्ने रिन्छ । यसका अतिरिक्त घुम्ती शिविर मार्फत परिवार नियोजनका कार्यहरु समत सञ्चालन गरिएका छन् । यौन तथा प्रजनन् लगायतका सेवा दिइरहेको छ । करिब १९ वर्षदेखि वीरेन्द्रनगरमा असुरक्षित गर्भपतनका कारण धेरै महिलाको अकालमा ज्यान जानबाट जोगाइएको देखिन्छ । नेपालका २२ जिल्लामा यसका कार्यालयहरु रहेका छन् । शुरुमा नेपालमा धेरैले असुरक्षित गर्भपतनका कारण ज्यान जोखिमामा परेको कुरा सुनिन्थ्यो । मृत्यु भएको समेत देखिन्थ्यो ।
यहाँबाट गर्भपतनको लागि भालतको लखनउसम्म पुगेको कहानी सुनिन्थ्यो । गाउँमा घरेलु विधिद्वारा गर्भपतन गराउन सकिने विषय मैले पनि पहिले सुनेको थिए । रुख तथा घाँसका जरा अनि बोक्राहरुको सेवनले भने गर्भपतन गर्ने जस्ता असुरक्षित विधिहरु गाउँमा प्रशस्तै थिउ । काठको प्रयोग गरेर समेत गर्भपतन गराउने जस्ता असुरक्षित गर्भपतन हुने गर्थे ।
सानो उमेरमा नै गर्भवती भएर सन्तानको इच्छा नभएकाको अहिले मेरी स्टोप्स् एक सारथी भएको रहेछ । असुरक्षित गर्भपतनका कारण धेरैका ज्यान पनि गएका रहेछन् ।
गर्भपतनले विगत दुई दशकदेखि नै कानूनी मान्यता पाएको हो । यसले प्रदान गर्ने गर्भपतन लगायतका सेवाहरु घरको वातावरणमा दिने संस्थाको रुपमा यसले आफूलाई दावी गर्ने रहेछ । यसको सबै भन्दा राम्रो पक्ष भनेको व्यक्तिको गोपनियता हो । यसै गरि ग्राहकको मर्यादालाई पनि त्यत्तिकै ध्यान दिने रहेछन् । गर्भपतनको कुरामा यहाँका स्टाफहरुले पनि उत्तिकै सम्मान गर्ने रहेछन् ।
मैले त्यहाँका सेवाग्राहीहरुप्रति गरेको व्यवहारबाट पनि प्रशंसा गर्न मन लाग्यो । सबै स्टाफको भावना सेवामुखी लाग्यो ।
मेरी स्टोप्स्को भूमिका पनि महत्वपूर्ण रहेको देखिन्छ । यसले ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै लगेको कुरामा त्यहाँका कर्मचारीहरुको एकमत थियो । साथसाथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू समेत संचालन गर्दै आएको छ ।
किशोरकिशोरीका जीवन र परामर्शको तालिमले सकारात्मक सन्देश फैलाएको देखिन्छ । यसका कतिपय पैरवीका कार्यक्रमको साँची त म पनि थिएँ । असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर पनि त्यत्तिकै रुपमा बढेको देखिन्छ ।
वि.सं २०५९ साललाई केहि महिलाहरुले ‘फिप्टी नाइन् फेस्टिभ’ समेत भनेको कुराहरु पढेको थिएँ । असोज १० गतेलाई विशेष दिनको रुपमा मनाइन्छ ।
कारण के भने यस दिन नेपालमा महिलाहरुले गर्भपतनको अधिकारको कानूनी प्रत्याभूति पाएको दिन हो । त्यतिखेरको तत्कालिन मुलुकी ऐनलाई ११ औं संशोधन गरिएको थियो ।
गर्भपतनलाई समय सापेक्ष रुपमा सरकारले पनि महशुस गरि मान्यता दिएको थियो । यसलाई अपराध नभएर अधिकारको रुपमा स्वीकार गरिएको हो । नेपालमा गर्भपतन सेवालाई कानूनी रुपमा मान्यता दिँदै स्वीकृतिप्राप्त स्वास्थ्य संस्थावाट निःशुल्क रुपमा यो सेवा प्रदान गर्ने गरिन्छ । यसमा ऐक्यवद्दता रह्यो । शुरुमा हाम्रो मौलिक संस्कृतिमाथिको हस्तक्षप भनेर सरकारको केही तहबाट विरोध पनि भयो ।
तर पछि यो साझा विषय भयो । अन्तत असुरक्षित गर्भपतनको अन्त्य भन्दै यसलाई सबैले स्वीकार गरियो । महिलाको प्रजनन् अधिकारलाई टेवा प्रदान गरियो । असुरक्षित गर्भपतनबाट महिलाहरुको मुक्तिको कुरा थियो ।
मेरी स्टोप्स्ले पनि सरोकारवालालाई बेलाबेला तालिम समेत दिन्छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन मिल्ने कानूनमै व्यवस्था छ । यसमा दुई प्रकारबाट गर्भपतन गर्न सकिन्छ । एउटा, औषधि मार्फत गरिने गर्भपतन जसलाई मेडिकल गर्भपतन भनिन्छ । मेडिकल गर्भपतन सेवा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न सकिन्छ । अथवा गर्भ रहेको ६३ दिन सम्मको गर्भपतन गरिन्छ ।
दोस्रो, सर्जिकल उपकरणद्वारा गरिने गर्भपतन । सर्जिकल गर्भपतनमा १२ हप्तासम्मको गर्भलाई औजार तथा उपकरणको प्रयोग गरी गर्भपतन गर्ने गरिन्छ । गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजतप्राप्त चिकित्सकको राय भइ त्यस्ता महिलाको मञ्जुरीले २८ हप्ता सम्मको गर्भ र जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले २८ हप्ता सम्मको गर्भपतन गर्न मिल्ने समेत कानूनमा व्यवस्था छ । यसमा गर्भवती महिलाको मञ्जुरीले मात्र गर्भपतन गराउन पाइने रहेछ ।
नेपालको संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी हकमा र धारा ३८(२) मा महिला सम्बन्धी हकमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुनेछ भनी व्याख्या गरिएको छ । यी दुवै प्रक्रियाबाट गर्भपतन गराउनको लागि महिलाको मञ्जुरी अनिवार्य गरिएको हुन्छ । एचआइभी वा अन्य निको नहुने रोग लागेका महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ पनि गर्भ पतन गर्न सकिन्छ भन्ने नेपालको कानून भए पनि मेरी स्टोप्स्ले यो गर्न नपाउने रहेछ । करकापमा गर्भपतन नहुने रहेछ । धम्कीमा पनि ।
कसैले ललाइफकाई वा प्रलोभन देखाई गर्भपतन गराउन खोजेमा पनि त्यहाँका स्टाफहरुले गर्भपतन नगरिदिने र फर्काइदिने रहेछन् । यो राम्रो लाग्यो । तर गर्भवती महिलाको मञ्जुरीलाई भने व्यक्तिगत अधिकारको रुपमा स्वीकार्ने रहेछन् ।
मेरी स्टोप्स्, सुर्खेतले कर्णाली प्रदेशका १० जिल्लामा सेवा प्रदान गरिरहेको रहेछ । सानो समुहका कर्मचारी, सामुहिक कार्यको जिम्मेवारी । छिटो छरितो सेवा । घरकै वातावरणमा सेवा प्रदान गर्ने संस्थाका रुपमा पनि यसलाई मानिने रहेछ । दूरदराजका महिलाले सेवा दिने संस्था अभावमा ज्यान गुमाउन परेको छैन ।
समग्रमा मेरी स्टोप्स्, सुर्खेतले गर्भपतन सेवाको सन्दर्भमा राम्रो लोकप्रियता प्राप्त गरेको छ । कहिले विरामीलाई अप्ठ्यारो परेमा सहयोग समेत
गर्नेगर्छ ।
एउटा यस्तो संस्थाको जन्मले हजारौँ जीवनहरु मृत्युबाट बाँचेका छन् । महिला अधिकारको सम्मान गरिएको छ । दुई दशकको यात्रामा हजारौँलाई कुनै न कुनै रुपमा सेवा प्रदान गरेको छ । आगामी दिनहरुमा यसको सेवा क्षेत्र बढोस् । यो बालबालिका र युवाहरुको लागि समेत पोषण लगायतका कार्यक्रम सहित विद्यालय सम्म पुगोस् । जय मेरी स्टोप्स् । जय सुनौलो परिवार ।
(लेखकः अमरज्योति मावि, नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । ८ मंसिर २०८०, शुक्रबार १३:४०