राज्यलाई धान्ने विद्युत कर्णालीबाट उत्पादन गर्न सकिन्छ: निर्देशक घिसिङ

राज्यलाई धान्न सक्ने विद्युत कर्णालीमै उत्पादन गर्न सकिने संभावना देखिएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताएका छन् ।

कर्णाली प्रदेश जल, जमिन र जडिबुटीको धनी प्रदेश भएको उनको भनाइ छ । एक सय ३२ केभि राष्ट्रिय प्रसारण लाईन विस्तारको अध्ययन तथा अवलोकन गर्न जुम्लामा पुगेका घिसिङले यस्तो बताएका थिए ।


उनका अनुसार कर्णालीका सबै जिल्लामा विद्युतिकरण गर्ने सरकारको अभियान छ । ३३ केभिको विद्युत भरपर्दाे नभएकाले एक सय ३२ केभिको प्रशारण लाईन विस्तारमा प्राधिकरणको ध्यान केन्द्रित छ । नेपालगंजको कोहोलपुर देखि कालिकोटको मान्मा सम्म ३३ केभिको लाईन पुगिसकेको बताए । ११ केभिको लाईन जुम्ला हुँदै मुगुसम्म जोडिएको छ ।

कर्णालीको हुम्ला जिल्ला प्रशारण लाईनमा जोडन बाँकि छ । अन्य सबै जिल्लामा प्रशारण लाईन पुगि सकेको निर्देशक घिसिङको दाबी छ । उनले भने, ‘लामो दुरी भएकाले सुर्खेतमा प्राविधिक समस्या आउने बित्तिकै पुरै कर्णाली अध्यारो हुन्छ ।’

अब छिटै समस्या समाधान हुनेछ । ट्रान्समिसनलाई कोहोपुर हुँदै सुर्खेत र सुर्खेत हुँदै दैलेख सम्म टेण्डर आह्वान भई काम नै अघि बढी सकेको छ । सुर्खेत सम्म एकवर्ष भित्र चार्ज नै गरि सक्ने योजना छ ।

दैलेखसम्म पुग्न झण्डै ढेड वर्ष लाग्ने अनुमानछ । निर्देशकले भने, ‘जुम्लामा विद्युतिकरण गर्नको लागि नेपाल विद्युत प्राधिकरणको बजेट र एआईआई बि चाईनामा रहेको बैँकको ऋण सहयोगमा काम भइरहेको छ ।’

विद्युतिरणका लागि सबै टेण्डरहरु भइ सकेकाले अब रफ्तारमा काम हुनेछ ।
कर्णालीका १० वटा जिल्ला मध्ये सुर्खेतमा ७९, सल्यानमा ७४, दैलेखमा ७३, जाजरकोटमा ३५, कालिकोटमा ६५, रुकुममा ९२, जुम्लामा ५० प्रतिशत विद्युतिकरण भएको भएको छ ।

यस्तै, डोल्पामा २५, हुम्लामा ३२ र मुगुमा ३० प्रतिशत गरि जम्मा कर्णालीमा प्रशारण लाईनबाट ६७ प्रतिशत विद्युतिकरण भएको घिसिङले स्पष्ट पारेका थिए । कर्णालीमा विद्युतिकरणका लागि १३ अर्बको काम भइरहेको छ । त्यस मध्ये झण्डै २ अर्ब जतिको काम जुम्लामा मात्रै हुँदैछ । कोहोलपुर देखि दैलेख सम्मको करिब ६ अर्ब बराबरको काम विद्युत प्राधिकरणले आफै गरि रहेको छ ।

दैलेखको चुप्रा देखि जुम्ला सम्मको ट्रान्समिसन लाईनका लागि पाँच अर्बको इस्टिमेट छ । १३ अर्बको वितरण लाईन र अन्य गरी २५ अर्ब जतिको परियोजना कर्णालीमा चलि रहेको निर्देशक घिसिङको भनाइ छ । कर्णालीमा ग्रीड कनेक्ट सोलारको लागि २ अर्ब जतिको सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

जुम्लामा एक मेगावट, हुम्लामा एक मेगावाट, मुगुमा पाँच सय किलोवाट र डोल्पामा ६ सय किलोवाटको सोलार राख्ने तयारी छ ।

झण्डै दुई वर्ष जति ३३ केभिबाटै विद्युतिकरण गर्ने र तिनवर्ष भित्र ग्रीड बनि सकेपछि एक सय ३२ केभिबाट तीन सय मेगावाटसम्म पावर जुम्लामा फलो हुने निश्चित छ । ट्रान्समिसन लाईन भएमा कर्णालीमा हाइडो पावरको विकास हुने र यसले गर्दा नागरिकको जीवनस्तरमा सुधार आउनेछ । नेपाल विद्युति प्राधिकरण वितरण केन्द्र जुम्लाले एक वर्षमा एक करोड ५१ लाख रकम उठाउने गरेको तथ्याङ्क उनले सुनाए । तर, कर्मचारीको तलब भत्ता लगायतमा झण्डै चार करोड १९ लाख जति खर्च हुने गरेको छ । साढे चार करोड जति घाटामा प्राधिकरण चलि रहेको छ ।

घाटा भएपनि राज्यको दायित्व पुरा गर्नु पर्ने निर्देशक घिसिङले बताए।अबको तिनवर्ष भित्र जुम्लाको चन्दननाथ नगरपालिका–९ उम्गाडमा एक सय ३२ केभिको सबस्टेशन निर्माण गरिनेछ ।

उज्यालो नेपालको अभियान जुम्ला सम्म पुग्ने दाबीसमेत गरे । एक सय ३२ केभिको प्रसारण लाईन दैलेख–कालीकोट र जुम्ला सम्म बिस्तारको लागि दैलेखको चुप्रा सबस्टेशन देखि कालीकोट राँचुलि हुँदै जुम्ला सम्म करिब ८२ किमि रहेको छ ।

एक सय ३२ केभिको सबस्टेशन निर्माणका लागि चन्दननाथ–९ का स्थानीयले एक सय ७१ किताको २७ हजार वर्गमिटर जग्गा दिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया